दानिएल 3:26-29

दानिएल 3:26-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब नबूकदनेसरले दन्‍किएको आगोको भट्टीको ढोका नजिक गएर चिच्‍च्‍याए, “हे शद्रक, मेशक र अबेद्‌नगो, सर्वोच्‍च परमेश्‍वरका सेवक हो, बाहिर निस्‍केर आओ।” तब शद्रक, मेशक र अबेद्‌नगो आगोबाट बाहिर निस्‍केर आए, अनि प्रान्‍तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्‍यपालहरू, र सल्‍लाहकारहरू तिनीहरूका वरिपरि भीड़ लागे। उनीहरूले देखे कि आगोले तिनीहरूका शरीरमा हानि पुर्‍याएको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो, तिनीहरूका लुगालाई आगोले छोएको थिएन र तिनीहरूमा आगोको कुनै गन्‍धैसमेत थिएन। त्‍यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्‍ना दूतलाई पठाउनुभएर आफ्‍ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्‍वास गरे, र राजाको हुकुमलाई अस्‍वीकार गरी आफ्‍ना परमेश्‍वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्‍डवत्‌ गर्नुभन्‍दा बरु आफ्‍ना जीवन दिन तयार भए। यसकारण म यो उर्दी दिँदैछु कि कुनै पनि जातिका वा कुनै पनि भाषा बोल्‍ने मानिसहरूले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको विरुद्धमा केही भन्‍छन्‌ भने, उनीहरू टुक्रा-टुक्रा पारी काटिनेछन्‌ र उनीहरूका घर उजाड़ पारिनेछन्, किनभने यसरी कुनै पनि अर्को देवताले बचाउन सक्‍दैनन्‌।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:26-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि नबूकदनेसरले दन्किरहेको आगोको भट्टीको मुख नजिक गएर ठूलो सोरले बोलाए, “हे शद्रक, मेशक र अबेद्नगो, सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो, बाहिर निस्क! यहाँ बाहिर आओ!” तब शद्रक, मेशक र अबेद्नगो आगोबाट बाहिर निस्केर आए; अनि प्रान्तका बडाहाकिमहरू, इलाकाका अधिकारीहरू, राज्यपालहरू र राजकीय सल्‍लाहकारहरू तिनीहरूका चारैतिर भेला भए। तिनीहरूले देखे, कि आगोले तिनीहरूका शरीरलाई हानि गरेको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो; तिनीहरूका कपडाहरू आगोले डढेको थिएन, न त तिनीहरूमा आगोको कुनै गन्ध नै थियो। तब नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्ना स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई छुटाउनुभयो! तिनीहरूले उहाँमाथि भरोसा राखे, र तिनीहरूका परमेश्‍वरबाहेक अरू देवताको सेवा गर्नु र त्यसलाई दण्डवत् गर्नुभन्दा राजाको आदेशलाई अस्वीकार गरेर आफ्नो प्राण दिन राजी भए। यसकारण म यो आदेश दिँदछु: शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरको विरुद्धमा कुनै पनि कुरा भन्‍ने कुनै पनि जाति अथवा भाषाका मानिसहरू जो भए तापनि टुक्रा-टुक्रा गरी काटिनेछन्; अनि तिनीहरूका घरहरू ढुङ्गाका थुप्रोमा परिणत गरिनेछन्; किनकि अरू कुनै देवताले यसरी बचाउन सक्दैन।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:26-29 पवित्र बाइबल (NERV)

त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।” त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए। प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि जलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन। त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन् जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउनु भयो। अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:26-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसकारण नबूकदनेसर दन्‍किरहेको भट्टीको ढोकानिर गए र ठूलो सोरले भने, “ए शद्रक, मेशक र अबेद्‌नगो! सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो! बाहिर निस्‍केर आओ।” तिनीहरू तुरुन्‍तै भट्टीबाट निस्‍केर आए। सबै रजौटा, बडा-हाकिम, सहायक हाकिम र राजाका अन्‍य भारदारहरू ती तीन जनालाई हेर्न जम्‍मा भए। तिनीहरूलाई आगोले केही खति गर्न सकेको थिएन। तिनीहरूको शिरको केश पनि खहरिएको थिएन। तिनीहरूका लुगा डढेको थिएन र तिनीहरूमा आगोको गन्‍धसम्‍म पनि थिएन। राजाले भने, “शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको प्रशंसा गर! आफूमाथि विश्‍वास राख्‍ने र आफ्‍नो सेवा गर्ने यी तीन भाइलाई बचाउन उहाँले आफ्‍नो स्‍वर्गदूतलाई पठाउनुभयो। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र आफ्‍ना ज्‍यान खतरामा पारे; तर आफ्‍ना परमेश्‍वरबाहेक अरू कुनै देवतालाई घोप्‍टेर पुजेनन्। “अब म यो आज्ञा दिन्‍छु कि कुनै पनि जाति वा कुलका अथवा कुनै भाषा बोल्‍ने जुनसुकै मानिसले शद्रक, मेशक र अबेद्‌नगोका परमेश्‍वरको निन्‍दा गरेर बोल्‍यो भने त्‍यसलाई टुक्रै-टुक्रा पारिनेछ र त्‍यसको घर स्‍वाहा पारिनेछ। यसरी उद्धार गर्न सक्‍ने अरू कुनै ईश्‍वर छैन।”

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्