दानिएल 3:19-23

दानिएल 3:19-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब शद्रक, मेशक र अबेद्‌नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्‌लियो। उनले त्‍यस आगोको भट्टीलाई साधारणभन्‍दा सात गुणा चर्काउने हुकुम गरे, र उनका सेनाको सबभन्‍दा बलिया सिपाहीहरूमध्‍ये कोहीलाई शद्रक, मेशक र अबेद्‌नगोलाई बाँधेर दन्‍किएको आगोको भट्टीमा फ्‍याँकिदिन भनी आज्ञा गरे। तब यी मानिसहरू दौरा, सुरुवाल, टोपी र अन्‍य लुगाहरूसित बाँधिएर दन्‍किरहेको आगोको भट्टीमा फ्‍याँकिए। राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्‍वालाले शद्रक, मेशक र अबेद्‌नगोलाई लैजाने सिपाहीहरूलाई भस्‍म पार्‍यो, अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको भट्टीमा परे।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:19-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए। अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए। तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए। राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्‍यो। अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:19-23 पवित्र बाइबल (NERV)

यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो। त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ। सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए। रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए। ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्

दानिएल 3:19-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब नबूकदनेसर शद्रक, मेशक र अबेद्‌नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्‍ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्‍यादा आगो दन्‍काउन आज्ञा दिए। अनि राजाले आफ्‍नो सेनाका केही बलिया-बलिया मानिसहरूलाई ती तीन जनालाई बाँधेर आगोको भट्टीमा हालिदिने आज्ञा गरे। अनि तिनीहरूले ती तीन जनालाई उनीहरूका लुगासँगै अर्थात् दौरा, लबेदा, टोपी र अरू लुगाहरूसितै बाँधे र दन्‍किरहेको आगोको भट्टीमा फालिदिए। राजाले आगोको भट्टी खुबै रन्‍काउन आज्ञा गरेका हुनाले ती तीन भाइलाई भट्टीमा फाल्‍ने मानिसहरू आगोको रापले खाक भए। त्‍यसपछि शद्रक, मेशक र अबेद्‌नगो बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको ज्‍वालामा परे।

शेयर गर्नुहोस्
दानिएल 3 पढ्नुहोस्