दानिएल 2:1-17

दानिएल 2:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आफ्‍नो शासनकालको दोस्रो वर्षमा नबूकदनेसरले सपनाहरू देखे। उनको मनमा छटपटी भयो र उनी सुत्‍न सकेनन्‌। यसकारण राजाले जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, बिजुवाहरू र ज्‍योतिषीहरूलाई उनले देखेको सपना बताइदेऊन् भनी बोलाउने हुकुम गरे। जब तिनीहरू आए र राजाको सामु खड़ा भए, उनले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु। त्‍यसले मलाई विचलित बनाएको छ, र यसको अर्थ बुझ्‍न चाहन्‍छु।” तब ती ज्‍योतिषीहरूले आरमेइक भाषामा राजालाई उत्तर दिए, “महाराजा, अमर रहून्‌! हजूरका दासहरूलाई सपना बताइदिनुहोस्, र हामी त्‍यसको अर्थ बताउनेछौं।” राजाले ती ज्‍योतिषीहरूलाई जवाफ दिए, “मैले यही निर्णय गरेको छु: यदि तिमीहरूले मैले देखेको सपना र त्‍यसको अर्थ बताएनौ भने, तिमीहरू टुक्रा-टुक्रा पारिनेछौ र तिमीहरूका घरहरू उजाड़ पारिनेछन्‌। तर यदि तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ बतायौ भने, मबाट तिमीहरूले उपहारहरू र इनामहरू तथा ठूलो सम्‍मान पाउनेछौ। यसकारण मलाई मेरो सपना र त्‍यसको अर्थ बताओ।” फेरि एक चोटि तिनीहरूले जवाफ दिए, ‘महाराजाले आफ्‍ना दासहरूलाई आफ्‍नो सपना बताइदिनुहोस्‌ र हामी त्‍यसको अर्थ खोलिदिनेछौं।” तब राजाले जवाफ दिए, “म निश्‍चित छु कि तिमीहरूले मबाट समय लिएर टार्ने कोशिश गर्दैछौ, किनभने मैले के निर्णय गरिसकेको छु भनेर तिमीहरूलाई थाहा भएको छ। यदि तिमीहरूले मलाई सपना बताएनौ भने तिमीहरूका लागि एउटै मात्र सजाय छ। यो परिस्‍थिति बद्‌लिएला भन्‍ने आशाले मलाई भ्रम र दुष्‍ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ। यसकारण मलाई सपना बताओ, अनि मलाई थाहा हुनेछ कि तिमीहरूले यसको अर्थ मलाई बताउन सक्‍नेछौ। ज्‍योतिषीहरूले राजालाई उत्तर दिए, “महाराजाले भन्‍नुभएको कुरा गर्न सक्‍ने पृथ्‍वीमा कोही छैन। जति महान्‌ र शक्तिशाली भए पनि कुनै राजाले कुनै जादूगर वा मन्‍त्रतन्‍त्र गर्ने वा ज्‍योतिषीहरूसँग यस्‍तो कुरा कहिल्‍यै माग गरेका छैनन्‌। महाराजाले गर्नुभएको यो प्रश्‍न अति नै गाह्रो छ। महाराजालाई यो कुरा देवताहरूबाहेक अरू कसैले पनि प्रकट गर्न सक्‍दैन। ती देवताहरू मानिसहरूका बीचमा बस्‍दैनन्‌।” यसले गर्दा राजा रीसले यति चूर भए कि उनले बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मृत्‍युदण्‍ड दिने हुकुम गरे। यसरी ज्ञानी पुरुषहरूलाई मृत्‍युदण्‍ड दिने घोषणा निस्‍क्‍यो र दानिएल र तिनका साथीहरूलाई पनि मार्न भनी तिनीहरूलाई झिकाउन मानिसहरू पठाइए। जब राजाका अङ्गरक्षकका कप्‍तान अर्योक बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न निस्‍के, दानिएलले बुद्धिमानी र बड़ो निपुणतासाथ उनलाई प्रश्‍न गरे, “राजाले किन यस्‍तो कठोर आदेश निकाल्‍नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए। यो सुनेर दानिएल राजाकहाँ गए र सपनाको अर्थ खोल्‍नलाई समय पाऊँ भनी बिन्‍ती गरे। तब दानिएल आफ्‍नो घर फर्के र आफ्‍ना साथीहरू हनन्‍याह, मीशाएल र अजर्याहलाई सो कुरा बताइदिए।

शेयर गर्नुहोस्
दानिएल 2 पढ्नुहोस्

दानिएल 2:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्। यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए; अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।” तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।” राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्‍चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्‍न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्। तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!” तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।” तब राजाले भने, “म निश्‍चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ। यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्‍ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्‍नेछु।” ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्‍नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्। राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।” यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए। यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए। जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे। तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए। त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्। तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए।

शेयर गर्नुहोस्
दानिएल 2 पढ्नुहोस्

दानिएल 2:1-17 पवित्र बाइबल (NERV)

आफ्नो शासनकालको दोस्रो बर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्। राजाले आफ्ना ज्ञानी मानिसहरूलाई बोलाए तिनीहरू जादु-टुना गर्थे। सपनाको अर्थ व्याख्या गर्न ताराहरू हेर्थे। तिनीहरू त्यसो गर्थे किनभने भविष्यमा जे घट्नेवाला छ, त्यो पहिले नै संकेत दिन सक्थे। राजाले तिनीहरूबाट यही चाहन्थे कि उनले देखेको सपनाको अर्थ तिनीहरूले भन्न सकुन्। तिनीहरू आए र राजाको सामु उभिए। त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?” त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन्! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।” यसपछि राजाले कल्दीहरूलाई भने, “होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउँनु पर्छ। यदि तिमीले यस्तो गर्न सकेनौ भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु अनि तिम्रो घर भत्काएर जनताको शौचालय बनाउनेछु। तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू र आदर प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।” ती बुद्धिमानहरूले फेरि उत्तर दिए, “हे राजा, कृपया हामी तपाईंका दासहरूलाई सपना बताई दिनु होस् र हामी त्यसको अर्थ व्याख्या गरिदिन्छौं।” राजाले जवाफ दिए, “म जान्दछु, कि तिमीहरूले समय नाश गरिरहेकाछौ। किनभने तिमीहरू जान्दछौ मेरो हुकुम त्यस्तै रहनेछ। जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जान्नेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।” कल्दीहरूले राजालाई उत्तर दिँदै भने, “हे महाराज, तपाईंले जे भन्नु हुँदैछ त्यो गर्न सक्ने मानिस यस पृथ्वीमा केही छैन। कुनै पनि राजा, ऊ जति नै महान अथवा शक्तिशाली होस् उसले कहिले पनि ज्ञानी अथवा जादुवाला अथवा कल्दीहरूलाई यस्तो कर्म गर्न लगाएको छैन। राजाले केही कुरा सोधि रहेका छन् त्यो गर्न एक्दमै अफ्ठ्यारो छ। देवताहरूले मात्र राजाको सपना अनि यसको अर्थ के हो भन्न सक्नेछन्। तर देवताहरू मानिसहरूसित बस्दैनन्।” जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई नष्ट गरिनु पर्ने आदेश दिए। यसकारण राजा नबूदकनेस्सरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मार्नु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मार्नु भनी हल्ला गरे अनि खोजी गर्न पठाए। अर्योक बाबेलका बुद्धिमानी मानिसहरूलाई मार्न तयार थिए तर दानियलले राजाका सेनापति अर्योकसित कुरा-कानी गरे। दानियलले अर्योकसित बुद्धिमानी कुरा गरे। दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?” उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे। जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्। त्यसपछि दानियल आफ्नो घर गए अनि उसका साथीहरू, हनन्याह, मीशाएल अनि अजर्याहलाई सम्पूर्ण कुराहरू सुनाए।

शेयर गर्नुहोस्
दानिएल 2 पढ्नुहोस्

दानिएल 2:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

नबूकदनेसर राजा भएको दोस्रो वर्षमा उनले एउटा सपना देखे। सपना देखेपछि उनलाई यस्‍तो छटपटी भयो कि उनी फेरि सुत्‍नै सकेनन्। यसकारण उनले आफ्‍नो राज्‍यका ज्‍योतिषी, जादूगर, मन्‍त्र-तन्‍त्र गर्नेहरू र टुना-मुना जान्‍नेहरूलाई बोलाए र सपनाको अर्थ खोल्‍ने आज्ञा दिए। तिनीहरू आए र राजाका सामुन्‍ने खडा भए। राजाले तिनीहरूलाई भने, “मैले देखेको एउटा सपनाबारे मलाई चिन्‍ता लागेको छ। म त्‍यसको अर्थ जान्‍न चाहन्‍छु।” तिनीहरूले अरामी भाषामा राजालाई भने, “महाराज दीर्घायु होऊन्! हामीलाई सपना बताउनुहोस् र हामी हजुरलाई त्‍यसको अर्थ खोलिदिनेछौं।” राजाले तिनीहरूलाई भने, “मैले पक्‍का निर्णय गरिसकेको छु कि तिमीहरूले नै मलाई सपना र त्‍यसको अर्थ दुवै बताउनुपर्नेछ। तिमीहरूले बताउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूका घरबारहरू भत्‍काएर रास लाउनेछु। तर तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ दुवै बताउन सक्‍यौ भनेचाहिँ म तिमीहरूलाई इनाम दिनेछु र सम्‍मानित तुल्‍याउनेछु। तिमीहरूले अब मलाई बताओ कि सपना के थियो र त्‍यसको अर्थ के हो।” तिनीहरूले फेरि राजालाई जवाफ दिए, “महाराजाले सपनाचाहिँ हामीलाई बताइदिनुभए अर्थ हामी बताउनेथियौं।” तब राजाले जवाफ दिए, “मैले सोचेकै जस्‍तै हुँदै छ, तिमीहरूले कुरा टारेर समय लिने चेष्‍टा गर्दै छौ किनभने सपनाको अर्थ बताएनौ भने मैले तिमीहरू सबैलाई एकै प्रकारको दण्‍ड दिने निश्‍चय गरेको छु भनी तिमीहरूले देखिसकेका छौ। तिमीहरूले आपसमा मलाई झूटो भनिरहने मतो गरेका छौ किनभने त्‍यसो गर्नाले समयमा कुरा फेरिनेछ भन्‍ने आशा गरेका छौ। सपना के थियो, मलाई बताओ। तब म जान्‍नेछु कि तिमीहरूले त्‍यसको अर्थ पनि मलाई बताउन सक्‍नेछौ।” ती सल्‍लाहकारहरूले जवाफ दिए, “महाराजाले जे जान्‍न चाहनुहुन्‍छ, त्‍यो बताउने यस धर्तीमा कुनै मानिस छैन। कुनै महान्‌भन्दा महान् र सर्वशक्तिमान् राजाले पनि आफ्‍ना ज्‍योतिषीहरू, जादूगरहरू र टुना-मुना जान्‍नेहरूबाट यस्‍तो कुरो कहिल्‍यै मागेका थिएनन्। हजुरले जे चाहनुहुन्‍छ, त्‍यो यति गाह्रो कुरो छ कि देवताहरूबाहेक अरू कसैले त्‍यो बताउन सक्‍दैनन् र ती देवताहरू मानिसहरूका बीचमा बास गर्दैनन्।” त्‍यो कुरा सुनी राजालाई साह्रै रिस उठ्यो र उनले बेबिलोनका सबै राजकीय सल्‍लाहकारहरूलाई मार्ने आज्ञा दिए। त्‍यहीअनुसार हुकुम निक्‍ल्‍यो र दानिएल र उनका साथीहरूलाई पनि मार्नको लागि तिनीहरूलाई खोज्‍न मानिसहरू पठाइए। राजाका अङ्ग-रक्षकका हाकिम अर्योकलाई प्राण-दण्‍ड दिने हुकुम दिएको थियो। दानिएल अर्योककहाँ गए र बडो होशियार भई बुद्धिमानीपूर्वक उनीसँग कुरा गरे। उनले अर्योकलाई किन राजाले त्‍यस्‍तो कडा आज्ञा गर्नुभएको हो भनी सोधे। अर्योकले दानिएललाई भएका सबै घटनाहरू बताइदिए। तब दानिएल तुरुन्‍तै राजाको सामुन्‍ने गए र उनका सपनाको अर्थ बताइदिनलाई केही समय पाउन बिन्‍ती गरे। त्‍यसपछि दानिएल घर गए र सबै घटनाबारे आफ्‍ना मित्रहरू हनन्‍याह, मीशाएल र अजर्याहलाई सुनाए।

शेयर गर्नुहोस्
दानिएल 2 पढ्नुहोस्