कलस्सी 2:1-23
कलस्सी 2:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्ने सबैका खातिर म कठोर परिश्रम गर्दछु, कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्साहित होऊन्, र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान, अर्थात् ख्रीष्टलाई प्राप्त गरून्। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। म यो भन्दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्। किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्यवस्था र ख्रीष्टमा तिमीहरूका विश्वासको स्थिरतामा म रमाउँदछु। यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ। धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ। ध्यान देओ, कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्। किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। ख्रीष्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ। तिमीहरू आफ्ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो, र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो। यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ। आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अड़िएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्। यस्ताहरूले ख्रीष्ट, अर्थात् शिरलाई समातिराख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दैजान्छ। यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूका अगि किन झुक्छौ? “नसमात, नचाख, नछोओ” (यी जम्मै कुराहरू व्यवहार गर्दागर्दा नष्ट भएर जान्छन्)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
कलस्सी 2:1-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि तिमीहरूका निम्ति, लाउडिकियामा हुनेहरूका निम्ति र मलाई व्यक्तिगत रूपमा नचिन्नेहरू सबैको निम्ति मैले कति कठोर परिश्रम गरिरहेको छु। मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्वरको रहस्य, जो ख्रीष्ट हुनुहुन्छ; उहाँलाई जान्न सकून्। उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्। म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्। किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु; अनि तिमीहरू कति अनुशासित छौ र ख्रीष्टमा तिमीहरूको विश्वास कति दह्रिलो छ भन्ने कुरामा म रमाउँछु। जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनी ग्रहण गर्यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ। उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ। होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्। किनकि ईश्वरत्वको सारा परिपूर्णता ख्रीष्टको शरीरमा बास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्टको आत्मिकी खतनाद्वारा हटाइएको छ। किनकि जब तिमीहरूको बप्तिस्मा भयो तिमीहरू ख्रीष्टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्टलाई मृत्युबाट बौरी उठाउने परमेश्वरको शक्तिशाली सामर्थ्यमा विश्वास गर्यौ। जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो। उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो। यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो। यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ मनाउने कुरामा दोष नदियोस्। यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा पाइन्छ। झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता मानिसहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ। शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्वरले वृद्धि गराउनु भएअनुसार बढ्दैजान्छ। तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ? “नसमात! नचाख! नछोओ!” यी कुराहरू चलाएपछि नष्ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्। तिनीहरू आफैँले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्टदायी व्यवहार गरेर, यी नियमहरू साँच्चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।
कलस्सी 2:1-23 पवित्र बाइबल (NERV)
तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ़ कोशिशमा छु जसले मलाई देखेकै छैन। म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ। ज्ञान र बुद्धिको सारा भण्डारहरू ख्रीष्टमा गुप्तरूपले राखिएको छ। म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्। म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शुरू गरेको र ख्रीष्टमा दह्रिलो विश्वास राखेको देखेर म आनन्दित छु। तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस। तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ। सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदेओस्। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्। परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ। अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ। ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ। यस्तो भयो जब तिमीहरू बप्तिस्माको माध्यम ख्रीष्टसित गाडिएका थियौ अनि उहाँसितै बौराई उठाइयो किनभने परमेश्वरको शक्तिमा तिमीहरूले विश्वास गरेका छौ। ख्रीष्टलाई मृत्युदेखि बौरी उठाएर परमेश्वरले आफ्नो शक्ति देखाउनु भयो। तिमीहरूको पापहरूको कर्मले गर्दा अनि आफ्नो पापमय प्रकृतिबाट मुक्त नभएकाले गर्दा तिमीहरू मरेका थियौ। तर परमेश्वरले तिमीहरूलाई ख्रीष्टसितै जीवित तुल्याउनु भयो अनि हाम्रा सम्पूर्ण पापहरूलाई क्षमा गर्नु भयो। हामी ऋणी छौं किन कि हामीले परमेश्वरको नियम तोडेका थियौं। त्यस ऋण-पत्रमा नियमको सूची थिएन जुन हामीले मानेका थिएनौं। तर परमेश्वरले हामीलाई त्यस ऋणदेखि पनि मुक्त पारिदिनु भयो। परमेश्वरले त्यो ऋण लगेर क्रूसमा ठोकिदिनु भयो। परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो। यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस् (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)। पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाँया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ। कसै-कसैले वाहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।” ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढ़छ। तिमीहरू ख्रीष्टसितै मरेका छौ र संसारका व्यर्थका नियमहरूबाट मुक्त बनेका छौ। त्यसकारण अझै तिमी यही संसारको हौ भन्ने अभिनय किन गर्छौं? म के भन्छु भने यस्तो नियमहरू किन मानिरहेका छौ? “यो नखाऊ”, “त्यो नचाख”, “त्यो नछुव” भन्ने! यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्। यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अङ्गहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिँदछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।
कलस्सी 2:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
साँच्चै तिमीहरूका लागि मैले मरिमेटेर काम गरेको छु। मैले त लाउडिकियाका मानिसहरूलाई र मलाई नचिन्नेहरू सबैको लागि पनि यत्तिकै कसिएर काम गरेको छु भन्ने म थाहा दिन चाहन्छु। तिनीहरूले साहस पाउन् र प्रेममा सँगै बाँधिऊन् भनेर मैले यसो गरेको हुँ। त्यसो हुँदा उनीहरूले आत्मामा एकदमै धनी भएर पूरासँग बुझ्न सक्नेछन् अनि तिनीहरूले परमेश्वरको रहस्य ख्रीष्टलाई पूरै चिन्न सक्नेछन्। उहाँमा नै परमेश्वरको सबै ज्ञान र बुद्धिको भण्डार छ। यसकारण म तिमीहरूलाई भन्छु, जतिकै साँचो देखिए तापनि झूटा कुराहरूले तिमीहरूलाई नछक्याओस्। शरीरमा तिमीहरूदेखि टाढा भए पनि आत्मामा त म तिमीहरूसँगै छु। ख्रीष्टमा तिमीहरूको विश्वास एकदम दरो देखेर मलाई धेरै खुसी लागेको छ। जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनेर मानेका छौ त्यसरी नै तिमीहरू उहाँमा नै जिइरहो। उहाँभित्रै जरा गहिरोसँग हालेर बढ। तिमीहरूले आफ्नो जीवन उहाँमा नै खडा गर अनि तिमीहरूलाई सिकाएअनुसार विश्वासमा दरो भएर उहाँलाई धन्यवाद दिइ नै रहो। तिमीहरू चनाखो भएर बस, नत्र मानिसहरूको ज्ञान-बुद्धिको खोक्रो छलको तिमीहरू शिकार बन्नेछौ। यस्ता कुराहरू ख्रीष्टबाट होइनन् तर मानिसहरूकै परम्परा र संसारका शिक्षाबाट आएका हुन् किनभने ख्रीष्टको शरीरमा नै परमेश्वरको सारा स्वर्गीय स्वरूप बसेको छ। ख्रीष्ट सबै राज्य र आत्माका शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ। तिमीहरू ख्रीष्टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्वभावको शक्तिबाट छुटकारा पाउनु हो किनभने बप्तिस्मा लिंदा तिमीहरू ख्रीष्टसँगै गाडियौ अनि तिमीहरूले मरेकाबाट ख्रीष्टलाई बिउँताउनुहुने परमेश्वरको शक्तिमा विश्वास गरेका हुनाले तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ। तिमीहरूले पाप गरेको कारण र व्यवस्थाअनुसार खतना नलाउने अरू जातिका मानिस भएका हुनाले एक समय तिमीहरू आत्मिकरूपमा मरेका थियौ। तर अब त परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै बिउँताउनुभएको छ र हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभएको छ। उहाँले हाम्रो विरुद्ध लेखिएका सबै तमसुकहरू तिनका दाबीहरूका साथ रद्द गरिदिनुभयो। उहाँले तिनलाई क्रूसमा किला ठोकी नाश गर्नुभयो अनि त्यही क्रूसमा नै ख्रीष्टले आत्मिक शासक र शक्तिहरूबाट आफैं स्वतन्त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो। यसकारण कसैले पनि खानपानको, पवित्र दिन मान्ने-नमान्ने, औँसी पर्व मान्ने-नमान्ने या विश्राम दिनको विषयमा नियम नबनाओस्। यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्कली कुरो त ख्रीष्ट नै हुनुहुन्छ। हामीले दर्शन पाएका छौं भन्दै झूटो नम्रता देखाएर स्वर्गदूतलाई पूजा गरी आफैंलाई ठूला ठान्नेहरू छन्। तिनीहरूले तिमीहरूलाई यस्ता छली कुराले झुक्याएर तिमीहरूले पाउनुपर्ने इनाम गुमाउन नदेओ। यस्ता मानिसहरू कारणैबिना शारीरिक स्वभावको ज्ञानले फुलिएर बस्छन्। यिनीहरू त आफ्ना शिर ख्रीष्टसँग नजोडिएर छुट्टै रहेका छन्। उनै ख्रीष्टका अधीनमा रहेर मात्र सिङ्गै शरीर पुष्ट हुन्छ अनि उनीहरू ठीकठाकसँग जोडिएर परमेश्वरकै चाहनाअनुसार बढ्दै-बढ्दै जानेछन्। तिमीहरूले त ख्रीष्टसँगै मरेर यस संसारका आत्माबाट छुटकारा पाएका छौ। किन तिमीहरू यस संसारकै जस्ता भएर जिउँछौ? किन तिमीहरू यो चलाउनुहुँदैन, यो चाख्नुहुँदैन, यो छुनुहुँदैन भन्ने नियमहरू पालन गर्छौ? यी कुराहरू त चलाउने बित्तिकै नाश हुन्छन्। यी त मानिसले बाँधेका नियम र शिक्षाहरू मात्र हुन्। धर्मकर्म गर्ने, नम्र हुने र जोगीझैँ जिउने, यी सबै बुद्धिमानी देखिन्छन्। तर यो आफ्नो शारीरिक स्वभावको नराम्रो इच्छालाई वशमा राख्न केही कामको हुँदैन।