प्रेरित 9:20-31

प्रेरित 9:20-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि तुरुन्‍तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।” तब सुन्‍नेहरू जति सबैले अचम्‍म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्‍य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?” तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने प्रमाण दिएर दमस्‍कसमा रहने यहूदीहरूलाई अकमक्‍क पारिदिए। अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्‌यन्‍त्र रचे। तर तिनीहरूको षड्‌यन्‍त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्‍थे। तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए। तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्‍ने प्रयत्‍न गरे। तर तिनीहरूलाई उनी चेला हुन्‌ भन्‍ने पत्‍यार नहुँदा सबै तिनीसँग डराए। तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्‍नुभएको र तिनले दमस्‍कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए। शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्‍लमखुल्‍ला हिँड्‌न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे, अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्‍थे। तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्‍याए र त्‍यहाँबाट तिनलाई टार्ससमा पठाइदिए। त्‍यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्‍डलीमा शान्‍ति भयो र मण्‍डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्‌दै र पवित्र आत्‍माको सान्‍त्‍वना पाएर मण्‍डलीमा वृद्धि हुँदैगयो।

शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्

प्रेरित 9:20-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि तुरुन्तै तिनले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे। तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?” तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाणित गरेर तिनीहरूलाई छक्‍क पारे। धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे। तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले। तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले। यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्‍वास गर्न सकेनन्। तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए। त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्‍दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले। ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए। यो कुरा अरू विश्‍वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए। त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए।

शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्

प्रेरित 9:20-31 पवित्र बाइबल (NERV)

चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।” सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?” तर शावल झन् झन प्रभावशाली भए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए। धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए। यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए। एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे। त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्। तर बर्णाबासले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने। अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे। शावल प्रायः ती यहूदीहरूसँग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे। जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए। त्यसरी चारैतिर यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।

शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्

प्रेरित 9:20-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनी तुरुन्‍तै सभाघरहरूतिर पसेर “प्रभु येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ,” भनी प्रचार गर्न लागे। तिनको कुरा सुन्‍नेहरू सबै छक्‍क परेर भन्‍न लागे, “के यरूशलेममा येशूको नाउँ लिने जतिलाई खतम गर्न खोज्‍ने मानिस यही नै होइन र? यहाँ पनि येशूको चेलाहरूलाई पक्रेर मुख्‍य पूजाहारीहरूकहाँ लैजान ऊ आएको होइन र?” तर शाऊलको प्रचार झन्-झन् शक्तिशाली हुँदै गयो। येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनेर तिनले यस्‍तो पक्‍का प्रमाण दिए कि दमस्‍कसका यहूदीहरूले केही पनि जवाफ दिन सकेनन्। निक्‍कै दिन बितेपछि यहूदीहरू जम्‍मा भएर शाऊललाई मार्ने मतो गरे। तर आफूलाई मार्न खोजेको कुरा शाऊलले थाहा पाए। यहूदीहरू तिनलाई मार्न रातदिन दमस्‍कसको ढोकाहरूमा ढुकिरहेका हुनाले एक दिन रात परेपछि चेलाहरूले शाऊललाई टोकरीमा हाले र सहरको पर्खालबाट झारेर बाहिर भगाए। यरूशलेम फर्केपछि शाऊल प्रभु येशूका चेलाहरूसँग मिल्‍न खोजे। तर चेलाहरू शाऊलसँग डराए किनभने उनी साँच्‍चै प्रभुका चेला हुन् भनेर तिनीहरूले विश्‍वासै गर्न सकेनन्। तर बारनाबास नाउँ भएका चेलाले शाऊललाई साथ दिँदै प्रेरितहरूकहाँ लगे। शाऊलले बाटोमा प्रभुलाई देखेको र प्रभुले तिनीसँग कुरा गर्नुभएको र त्‍यसपछि तिनले दमस्‍कसमा येशूको नाउँमा साहससँग प्रचार गरेको, सबै कुरा बारनाबासले तिनीहरूलाई बताइदिए। शाऊल तिनीहरूसँगै बसे अनि यरूशलेमभरि साहससित प्रभुको प्रचार गर्दै हिँडे। तिनले ग्रीक भाषा बोल्‍ने यहूदीहरूसँग पनि वाद-विवाद गरे। तर तिनीहरूले शाऊललाई मार्न खोजे। यो थाहा पाएर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले शाऊललाई कैसरिया सहरमा लगे र त्‍यहाँबाट टार्सस सहरतिर पठाए। त्‍यसपछि यहूदिया, गालील र सामरिया क्षेत्रमा भएका सबै मण्‍डलीहरूलाई ढुक्‍क भयो। प्रभुका चेलाहरूले पवित्र आत्‍माबाट साहस पाए र मण्‍डलीको उन्‍नति भयो। चेलाहरू परमेश्‍वरको डर राखेर हिँड्थे र मानिसहरू पनि थपिंदै गए।

शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्