प्रेरित 8:4-13
प्रेरित 8:4-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए। किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। यसरी त्यस सहरमा ज्यादै आनन्द भयो। सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो। त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, “यो मानिस परमेश्वरको त्यो शक्ति हो, जसलाई महाशक्ति भनिन्छ।” तिनीहरूले त्यसलाई मान्थे, किनभने धेरै समयदेखि त्यसले आफ्नो जादूगरीले मानिसहरूलाई आश्चर्यचकित पारिराखेको थियो। तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए। सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो।
प्रेरित 8:4-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए। फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्टको प्रचार गर्न थाले। जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। यसरी त्यस सहरमा ठूलो आनन्द छायो। त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो। साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्चर्य प्रकट गर्दै, “यो मानिस परमेश्वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे। तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो। तर परमेश्वरको राज्यको सुसमाचार र येशू ख्रीष्टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्तिस्मा लिए। सिमोन आफैँले पनि विश्वास गर्यो; र बप्तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्क पर्यो।
प्रेरित 8:4-13 पवित्र बाइबल (NERV)
विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए। फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे। मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने। धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए। त्यही कारणले गर्दा त्यस शहरमा मानिसहरू अत्यन्त आनन्दित थिए। तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे। निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्ति’ भनिन्छ!” शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए। तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए। शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।
प्रेरित 8:4-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
छरिएका प्रभुका विश्वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे। फिलिपचाहिँ सामरिया सहरमा गए र त्यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे। फिलिपको कुरा सुनेर उनले गरेका अचम्मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्यान दिएर सुने। धेरै मानिसहरूबाट भूत चिच्च्याउँदै निस्केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए। यसरी सामरिया सहरमा ठूलो हर्ष फैलियो। त्यो सहरमा सिमोन नाउँ गरेको एक जना मान्छे थियो। उसले केही समयदेखि नै सामरियाका मानिसहरूलाई आफ्नो जादूगरीले दङ्ग पारेको थियो। उसले आफैंलाई धेरै ठूलो हुँ भनी ठान्थ्यो। सहरका साना-ठूला सबै मानिसहरूले “त्यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्थे। धेरै समयदेखि नै मानिसहरूलाई आफ्नो जादूले दङ्ग पारेको हुनाले सबैले त्यसलाई मान्थे। तर जब फिलिपले परमेश्वरको राज्यको बारेमा प्रचार गर्दै येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्छ भन्ने सुसमाचार सुनाए, तब धेरै मानिसहरूले फिलिपको कुरामा विश्वास गरे। पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए। सिमोनले पनि विश्वास गर्यो र बप्तिस्मा पायो। त्यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्न लाग्यो। फिलिपले गरेका अचम्मका कामहरू र चिन्हहरू देखेर ऊ छक्कै पर्थ्यो।