प्रेरित 6:11-14
प्रेरित 6:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।” तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए। तिनीहरूले यसो भन्ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन। किनभने यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”
प्रेरित 6:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।” त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए। तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ। ‘नासरतका येशूले यो स्थान नष्ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।”
प्रेरित 6:11-14 पवित्र बाइबल (NERV)
तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।” यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर। तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ। नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।”
प्रेरित 6:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्न लगाए। यसरी तिनीहरूले जनता र महासभामा बस्ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्काए। तिनीहरूले स्तिफनसलाई पक्रेर महासभाको अगाडि ल्याए। त्यसपछि तिनीहरूले स्तिफनसको बारेमा झूट बोल्ने मानिसहरूलाई ल्याए। झूट बोल्ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्ने गर्छ। नासरतका येशूले यस मन्दिरलाई भत्काउनेछ र हामीले मोशादेखि नै मान्दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्ता-यस्ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।”