प्रेरित 15:36-41
प्रेरित 15:36-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
केही दिनपछि पावलले बारनाबासलाई भने, “आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले प्रचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्ता छन् हेरौं।” बारनाबासले मर्कूस भनिने यूहन्नालाई तिनीहरूका साथमा लैजाने इच्छा गरे। तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्। तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए। तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्वरको अनुग्रहमा अर्पण भई बिदा भए। मण्डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।
प्रेरित 15:36-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।” मर्कूस भनिने यूहन्नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे। तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्। तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे। पावलले सिलासलाई चुने, र विश्वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे। उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।
प्रेरित 15:36-41 पवित्र बाइबल (NERV)
केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।” बर्णाबासले यूहन्ना मर्कूसलाई पनि सँगै लैजान चाहन्थे। तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसँग एक साथ नलिन जोड गरे। पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे। पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए। मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।
प्रेरित 15:36-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही दिनपछि पावलले बारनाबासलाई भने, “अब हामीले परमेश्वरको शिक्षा प्रचार गरेका सबै सहरहरूमा फेरि जाऔं। त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरू कस्ता रहेछन्, बुझौं।” बारनाबासले मर्कूस भनिने यूहन्नालाई सँगै लैजान चाहे। तर पावलले चाहिँ उनलाई लैजान ठीक सम्झेनन् किनभने मर्कूसले काम पूरा नगरीकन उनीहरूलाई पामफिलिया इलाकामा छोडेर फर्केका थिए। त्यस कुरामा पावल र बारनाबासको निकै मतभेद भयो र उनीहरू छुट्टिए। बारनाबासचाहिँ मर्कूसलाई लिएर समुद्रको बाटो भएर साइप्रस टापुमा गए। पावलले चाहिँ आफूलाई साथ दिन सिलासलाई छाने। त्यसपछि प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले उनीहरूलाई परमेश्वरको दयालु हातमा सुम्पिदिए अनि उनीहरू हिँडे। सिरिया र किलिकिया इलाका भएर जाँदा उनीहरूले त्यहाँका मण्डलीहरूलाई विश्वासमा बलियो बनाउँदै गए।