प्रेरित 15:1-11

प्रेरित 15:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब कोही मानिसहरूले यहूदियाबाट एन्‍टिओखियामा आएर भाइहरूलाई यस्‍तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्‍नेछैन।” तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्‍यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्‍नको फैसलाको निम्‍ति प्रेरितहरू र एल्‍डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे। मण्‍डलीका सदस्‍यहरूले तिनीहरूलाई त्‍यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्‍यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्‍तार सुनाए। यस खबरले त्‍यहाँका भाइहरू अत्‍यन्‍तै आनन्‍दित भए। जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्‍डली, प्रेरित र एल्‍डरहरूले स्‍वागत गरे। परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्‍यहाँ दिए। तब फरिसी दलका कतिपय विश्‍वास गर्नेहरूले उभिएर भने, “अन्‍यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्‍यवस्‍था पालन गर्ने आज्ञा दिनु आवश्‍यक छ।” यस विषयमा सोच-विचार गर्नलाई प्रेरितहरू र एल्‍डरहरू भेला भए। निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्‍वरले मेरो मुखबाट अन्‍यजातिहरूले सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌ भनी तिमीहरूका बीचबाट मलाई चुन्‍नुभयो। हृदयका कुरा जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्‍तै पवित्र आत्‍मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो। उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्‍नुभएन, तर तिनीहरूका हृदय विश्‍वासद्वारा शुद्ध पार्नुभयो। यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्‍वरको परीक्षा गर्नुहुन्‍छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्‍न सक्‍यौं। तर हामी विश्‍वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्‌।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्‍वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।” यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्‍वासीका साथ नियुक्त गरिए। मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्‍वासीहरू प्रसन्‍न भए। जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे। त्यसपछि फरिसी दलका केही विश्‍वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।” यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए। ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्‍वास गरून् भनेर केही समयअगि परमेश्‍वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो। मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ। हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्‍वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो। त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्‍वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ। हामी विश्‍वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:1-11 पवित्र बाइबल (NERV)

त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यू-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।” पावल र बर्णाबास यस्तो शिक्षाको घोर विरोधी थिए अनि तिनीहरूले यस विषयमा ती मानिसहरूसँग बहश गरे। तब मण्डलीले पावल, बर्णाबास र अन्य मानिसहरूलाई यरूशलेम पठाउने निर्णय लिए। ती मानिसहरू त्यस विषयमा प्रेतिहरू र अग्रजहरूसँग अझ बहश गर्न गए। उनीहरूको यात्रालाई मण्डलीले सहयोग गर्यो। तिनीहरू फोनिसिया र सामरिया भएर गए। ती देशहरूमा तिनीहरूले कसरी गैर-यहूदी मानिसहरू सत्य परमेश्वरतर्फ मोडीए भनेर बताए। यो खबरले सबै दाज्यू-भाइहरूलाई खुबै आनन्द तुल्यायो। पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने। यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!” तब प्रेरितहरू, अग्रजहरू यस समस्या माथि एकत्रित भएर अध्ययन गर्न थाले। यस विषयमा त्यहाँ लामो तर्क सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यू भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसँग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे। परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नुभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ। परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो। तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं! होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि कोही मानिसहरू यहूदिया क्षेत्रबाट आएर एन्‍टिओखिया सहरका दाजुभाइहरूलाई यसरी सिकाउन लागे, “मोशाले दिएका व्यवस्थाको रीतिअनुसार खतना नगरी तिमीहरूले मुक्ति पाउन सक्‍दैनौ।” यस्‍तो प्रकारको शिक्षा सुनेर पावल र बारनाबासले तिनीहरूसँग धैरै तर्कवितर्क गरे। यसकारण त्‍यहाँका भाइहरूले पावल, बारनाबास र अरू कति जनालाई यस प्रश्‍नको फैसलाको निम्ति प्रेरितहरू र धर्म-गुरुहरूकहाँ यरूशलेममा पठाउने निर्णय गरे। उनीहरूले यरूशलेममा बस्‍ने प्रेरित र मण्‍डलीका अरू अगुवाहरूसँग कुरा गरेर त्‍यसको बारेमा टुँङ्गो लाउने आदेश पाए। मण्‍डलीका दाजुभाइ र दिदी-बहिनीहरूले तिनीहरूलाई यात्रामा जानको लागि सहायता दिएर पठाए। तिनीहरू फोनिके र सामरिया क्षेत्रहरूबाट गए। यसरी जाँदाजाँदै तिनीहरूले ठाउँ-ठाउँमा भएका प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूलाई अन्य-जातिहरूले पनि विश्‍वास गरेका छन् भन्‍ने कुरा सुनाए। यो कुरा सुनेर ती दाजुभाइहरू धेरै खुसी भए। यरूशलेम सहर आइपुग्‍दा त्‍यहाँ भएका प्रभुमा विश्‍वास गर्ने दाजुभाइ, प्रेरित र मण्डलीका धर्म-गुरुहरूले उनीहरूको स्‍वागत गरे। त्‍यसपछि पावल र बारनाबासले त्‍यहाँ भेला भएका सबैलाई परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएको कामहरूको बारेमा बताए। उनीहरूको कुरा सुनेर प्रभुमा विश्‍वास गरेका केही फरिसीहरूले चाहिँ उभिएर यसो भने, “अरू जातिबाट आउने चेलाहरूले यहूदी रीतिअनुसार खतना गर्नैपर्छ अनि तिनीहरूलाई मोशाले दिएका व्यवस्था पूरै पालन गर्न लगाउनुपर्छ।” प्रेरित र मण्डलीका धर्म-गुरुहरूले यस कुराको लागि सभा गरे। धेरै वाद-विवाद भएपछि पत्रुसले उठेर भने, “दाजुभाइहरू हो, तपाईंहरूलाई थाहै छ, अरू जातिका मानिसहरूले प्रभु येशूको सुसमाचार सुनेर विश्‍वास गरी मुक्ति पाऊन् भनेर परमेश्‍वरले मलाई तपाईंहरूको बीचबाट निकै समयअगाडि नै छान्‍नुभएको थियो। सबै मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई दिएजस्‍तै गरी अरू जातिका मानिसहरूलाई पनि पवित्र आत्‍मा दिनुभयो। यसरी उहाँले अरू जातिका मानिसहरूलाई आफ्‍नो बनाउनुभयो। उहाँले यहूदी र अरू जातिका मानिसहरूमा भेदभाव राख्‍नुभएन। अरू जातिका मानिसहरूले विश्‍वास गरे र परमेश्‍वरले तिनीहरूको हृदयलाई शुद्ध पार्नुभयो। नता हाम्रा पुर्खाले न हामीले यो भारी उठाउन सक्‍यौं। त्‍यसैले हाम्रा पुर्खाले उठाउन नसकेको भारी अरूलाई बोकाएर किन परमेश्‍वरको जाँच गर्ने? त्‍यस्‍तो नगरौं। तिनीहरूजस्‍ता हामीहरू पनि विश्‍वास गरेर हाम्रा प्रभु येशूको अनुग्रहले नै बचाइएका हौं।”

शेयर गर्नुहोस्
प्रेरित 15 पढ्नुहोस्