प्रेरित 11:19-30
प्रेरित 11:19-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्तिफनसको सम्बन्धमा सुरु भएको सतावटको कारण जताततै छरपष्ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्टिओखियासम्म यात्रा गरे। तर तिनीहरूमध्ये कोही-कोही साइप्रस र कुरेनीका मानिसहरू थिए। तिनीहरूले एन्टिओखियामा आएर ग्रीकहरूलाई पनि प्रभु येशू प्रचार गरे। प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्वास गर्नेहरू धेरै संख्यामा प्रभुतिर फर्के। यो समाचार यरूशलेममा भएको मण्डलीको कानमा पुग्यो, र तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। तिनी त्यहाँ आएर परमेश्वरको अनुग्रह देखिकन खुशी भए, र तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुप्रति विश्वासी रहिरहन प्रोत्साहन दिए। किनभने तिनी असल, पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका मानिस थिए। मानिसहरूको ठूलो समूह प्रभुमा थपियो। तब शाऊललाई खोज्न बारनाबास टार्ससमा गए। जब तिनले उनलाई भेट्टाए तब उनलाई एन्टिओखियामा ल्याए। तब पूरा एक वर्षसम्मै मण्डलीका मानिसहरूसँग तिनीहरूले भेटघाट गरिरहे, र मानिसहरूको ठूलो समूहलाई शिक्षा दिए। चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए। त्यस बेला कोही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। तिनीहरूमध्ये अगाबस नाउँ भएका एक जना खड़ा भएर सारा संसारमा ठूलो अनिकाल पर्न आँटेको छ भन्ने पवित्र आत्माद्वारा भविष्यवाणी बोले। त्यो अनिकाल क्लौडियसको शासनकालमा पर्यो। तब चेलाहरू हरेकले आ-आफ्नो औकातअनुसार यहूदियामा बस्ने भाइहरूका सहायताको निम्ति भेटी पठाउने निश्चय गर्यो। तिनीहरूले यसै गरे, र बारनाबास र शाऊलका हातद्वारा तिनीहरूको भेटी एल्डरहरूकहाँ पठाइदिए।
प्रेरित 11:19-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे। तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले। प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्वास गरे, र प्रभुकहाँ फर्के। यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। जब तिनी त्यहाँ पुगे, तब परमेश्वरको अनुग्रहको प्रमाण देखेर प्रसन्न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए। किनभने उनी एक असल, पवित्र आत्मा र विश्वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए। त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए। शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए। यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे। तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।) चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्याउने अठोट गरे। यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए।
प्रेरित 11:19-30 पवित्र बाइबल (NERV)
स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने। कतिपय ती विश्वासीहरू साइप्रस र साइरेनीका नागरिकहरू थिए। जब ती मानिसहरू एन्टओक आइपुगे, तिनीहरू ग्रीकहरूसँग पनि बोल्न लागे अनि तिनीहरूलाई प्रभु येशूको विषयमा सुसमाचार भने। प्रभुको शक्ति तिनीहरूसँग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुशरण गर्न लागे। एन्टिओकमा नयाँ विश्वासीहरू भएका समाचहरू यरूशलेमको मण्डलीमा पुग्यो। यसैले तिनीहरूले बर्णाबासलाई एन्टिओकमा पठाए। बर्णाबास एक असल मानिस थिए। ऊ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो। उनले तिनीहरूलाई भने, “आफ्ना विश्वास कहिल्यै नहराऊ। सधैँ प्रभुको आज्ञा भित्री हृदयले पालन गर।” अधिक भन्दा अधिक मानिसहरू परम-प्रभुका विश्वासीहरू भए। त्यसपछि, बर्णाबास टार्सस भन्ने शहरतर्फ लागे। उनी शावललाई खोजिरहेका थिए। शावललाई जब उनले भेट्टाए, बर्णाबासले तिनलाई एन्टिओक लगे। शावल र बर्णाबास त्यहाँ पुरा एक वर्ष बसे। तिनीहरूले त्यँहा मण्डलीका सभाहरूमा भाग लिए अनि धेरै मानिसहरूलाई शिक्षा दिए। प्रथमपल्ट एन्टिओकमा विश्वासीहरूलाई “ख्रीष्टयनहरू” भनिए। यस समयमा केही अगमवक्ताहरू यरूशलेमाबाट एन्टिओक तिर गए। तिनीहरू मध्ये एकजना अगाबस थिए। एन्टिओकमा अगाबस उभिए अनि पवित्र-आत्माको मार्फत अगमवाणी गरे, “सम्पूर्ण संसारभरि महा-अनिकाल हुनेछ।” (यो सम्राट क्लौडियसको समयमा घट्यो)। चेलाहरूले यहूदियामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए। तिनीहरूले पैसा बटुले र बर्णाबास र शावललाई दिए तिनीहरूले ती पैसा यहूदियाका अग्रजहरूलाई दिए।
प्रेरित 11:19-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्तिफनसलाई मारेपछि प्रभु येशूमा विश्वास गर्नेहरूलाई खेदो भएको हुनाले धेरै जना भागे र कति जना फोनिके क्षेत्रमा पुगे, कति जना साइप्रस टापू र कति जना एन्टिओखिया सहरसम्म पनि पुगे। सुरुमा तिनीहरूले सुसमाचार खालि यहूदीहरूलाई सुनाए। तर पछि साइप्रस टापु र कुरेनी देशबाट आएका प्रभु येशूका केही चेलाहरूले चाहिँ एन्टिओखियामा आएर अरू जातिका मानिसहरूलाई पनि शिक्षा दिँदै प्रभु येशूको बारेमा सुनाए। प्रभुको शक्ति तिनीहरूसँगै थियो र धेरै मानिसहरू विश्वास गरेर प्रभुका चेला बने। जब यो खबर यरूशलेमको मण्डलीमा पुग्यो, तब मण्डलीका अगुवाहरूले बारनाबासलाई एन्टिओखियामा पठाइदिए। एन्टिओखियामा आइपुग्दा परमेश्वरले ती मानिसहरूलाई दया गर्नुभएको र आशिष् दिनुभएको देखेर बारनाबास साह्रै खुसी भए। उनले तिनीहरूलाई प्रभुप्रति पूरा हृदयले विश्वासी भइरहनू भनी उत्साह दिए। बारनाबासचाहिँ पवित्र आत्मा र विश्वासले भरपूर भएका असल मानिस थिए र उनले गर्दा धेरै मानिसहरूले प्रभुलाई विश्वास गरे। त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्सस सहरतिर लागे। शाऊललाई टार्ससमा भेटेर एन्टिओखिया सहरमा ल्याए। दुवैले वर्ष दिनसम्मै एन्टिओखिया मण्डलीका मानिसहरूसँग संगति गर्दै धेरैलाई सिकाए। एन्टिओखियामा नै सबैभन्दा पहिले ख्रीष्टका चेलाहरूलाई ख्रीष्टियान भनिएको हो। त्यस समयमा परमेश्वरको तर्फबाट बोल्ने केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियामा आए। तिनीहरूमध्ये अगाबस नाउँ गरेका एक जना थिए। पवित्र आत्माले उनलाई पृथ्वीभरि नै अनिकालपर्नेछ भनेर थाहा दिनुभएको थियो। उनले मण्डलीमा उभिएर यो कुरो बताइदिए। (पछि रोमी महाराजा क्लौडियसको पालामा त्यो अनिकाल आयो।) अगाबसको भविष्यवाणी सुनेर प्रभुका चेलाहरूले यहूदिया क्षेत्रमा भएका दाजुभाइहरूलाई आफ्नो औकातअनुसार पैसा पठाउने विचार गरे। यसरी उठाएको पैसा उनीहरूले यरूशलेम मण्डलीका धर्म-गुरुहरूलाई बारनाबास र शाऊलको हातबाट पठाइदिए।