२ थेसलोनिकी 2:1-12
२ थेसलोनिकी 2:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टका आगमनको विषयमा र उहाँलाई भेट्न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्ती गर्दछौं, कि कुनै अगमवाणी वा वचन वा कुनै पत्रले प्रभुको दिन नजिक आएको छ भनी बतायो भने, ती हामीबाट आएका भन्ठानेर तिमीहरूको मन चाँड़ै विचलित नहोस् अथवा तिमीहरू नआत्तिओ। कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन। त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ। के तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ? त्यो आफ्नो समयमा प्रकट होस् भन्ने हेतुले कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ, यो तिमीहरू जान्दछौ। किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्म जसले त्यसलाई रोकिराख्नुभएको छ, उहाँ नहटुञ्जेल त्यसलाई रोकी नै राख्नुहुनेछ। तब त्यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ। शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कारसहित, र नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे। यसैकारण तिनीहरूले झूटा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन्।
२ थेसलोनिकी 2:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ। प्रभुको दिन आइसकेको छ भन्नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्वास नगर। तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन। त्यसले ईश्वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्वरको मन्दिरमा स्थापना गर्नेछ। म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र? अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्। किनकि अधर्मको शक्ति गुप्त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ। अनि तब त्यो अधर्मीको प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्ट पार्नुहुनेछ। त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ। अनि नष्ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्टतासहित आउनेछ। तिनीहरू नष्ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्। यसकारण त्यस झूटमा तिनीहरूले विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ र सत्यतामा विश्वास नगर्ने, तर दुष्टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्।
२ थेसलोनिकी 2:1-12 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं। यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्। कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो। परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ। मैले पहिल्यै यी सब घट्नाहरूको सत्य बताइ सकेको छु। याद छ? अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ। पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइन्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ। त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ। त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ। दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन् किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो। तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भड्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्। त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन् तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए।
२ थेसलोनिकी 2:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइहरू, हाम्रा प्रभु येशू ख्रीष्ट फेरि आउनुहुनेछ, उहाँकहाँ हामी भेला हुनेछौं। तर हामी तिमीहरूलाई बिन्ती गर्दछौं, हाम्रा प्रभु आउने दिन भयो भन्दा तिमीहरू नआत्तियौ नता बिचलित होओ। त्यस दिनको बारेमा कसैले हामीले पत्र लेखेजस्तै गरी पत्रले, कसैले आत्माले, कसैले बोलीले तिमीहरूलाई भन्लान्। तर तिमीहरूलाई कसैले पनि कुनै किसिमले झुक्याउन नपाओस्। परमेश्वरको विरोधमा ठूलो उपद्रो नभएसम्म र नाश हुनुपर्ने व्यवस्था भङ्ग गर्ने मानिस नआएसम्म प्रभुको दिन आउनेछैन। त्यस व्यवस्था भङ्ग गर्ने मानिसले आफैं ठूलो भएर मानिसहरूले परमेश्वर ठानेका सबै कुराहरूलाई र पूजा गर्ने गरेका सबै थोकको विरोध गर्नेछ। त्यसले त परमेश्वरको मन्दिरमा बसेर आफैंलाई परमेश्वर हुँ भन्नेछ। सँगै हुँदा यी सबै कुरा त मैले तिमीहरूलाई भनेको थिएँ, होइन? बेला भएपछि त्यो दुष्ट प्रकट हुनेछ। अहिले नै यो कुरो भैहाल्न नदिन थामिराखिएको छ। यो त तिमीहरूलाई थाहै छ। त्यो व्यवस्था भङ्ग गर्नेले आफ्ना कामहरू भित्रभित्रै सुरु गरिसकेको छ। तर त्यसलाई थामिराख्ने शक्ति नहटेसम्म यसको दुष्ट कामहरू बाहिर देखिनेछैनन्। यसलाई थामिराख्ने शक्ति हटेपछि त्यो व्यवस्था भङ्ग गर्ने मानिस देखा पर्नेछ। प्रभु येशू ख्रीष्ट आफ्नो उज्यालो शक्तिमा आउनुहुँदा त्यसलाई एक सासमा नै नाश गर्नुहुनेछ। त्यो व्यवस्था भङ्ग गर्नेले शैतानको शक्ति लिएर आउनेछ अनि सबै किसिमका झूटा चिन्ह र अचम्म-अचम्मका कामहरू गर्नेछ। नाश हुनेहरू जति सबैलाई त्यसले दुष्ट किसिमले छक्याउनेछ किनभने तिनीहरूले मुक्ति दिने सत्यलाई मन पराएनन्। त्यसकारण तिनीहरूले झूटा कुरा नै पत्याऊन् भनेर परमेश्वरले भर्माउने शक्तिलाई पठाउनुहुनेछ। तिनीहरूले सत्यमा विश्वास नगरेर अन्याय गर्न राम्रो ठानेकोले सजाय पाऊन् भनेर नै परमेश्वरले यसो गर्नुभएको हो।