२ शमूएल 7:8-13
२ शमूएल 7:8-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्नबाट बोलाएँ। जहाँ-जहाँ तँ गइस् म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ। अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान् बनाउनेछु। म मेरो प्रजा इस्राएलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्नै एउटा वासस्थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ, अनि मेरो प्रजा इस्राएलमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि यसो, तिनीहरूलाई दुष्ट मानिसहरूले अत्याचार गर्नेछैनन्। म तँलाई तेरा सबै शत्रुहरूदेखि विश्राम पनि दिनेछु। “‘परमप्रभुले तेरो राजघराना स्थापना गर्नुहुनेछ भनी परमप्रभुले तँलाई भन्नुभएको छ। जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्यसको राज्य स्थिर गराउनेछु। त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु।
२ शमूएल 7:8-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ महान् बनाउनेछु। अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए। मैले मेरा प्रजा इस्राएलमाथि शासकहरू नियुक्त गरेदेखि नै यसो गर्दैआएको थिएँ। म तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट पनि विश्राम दिनेछु। “ ‘याहवेहले तँलाई यो घोषणा गर्नुहुन्छ, याहवेह आफैँले तेरा निम्ति राजघराना स्थापित गर्नुहुनेछ: जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु। त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
२ शमूएल 7:8-13 पवित्र बाइबल (NERV)
“मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो। तिमी जहाँ जहाँ गयौ म तिमीसितै थिएँ। मैले तिम्री शत्रुहरूलाई परास्त गरें। मैले तिमीलाई पृथ्वीमा एउटा महत्वपूर्ण व्यक्ति बनाएकोछु। म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्। शुरूमा मैले इस्राएली मानिसहरूको निम्ति न्यायकर्ता नियुक्त गरें। तर नराम्रा मानिसहरूले तिनीहरूलाई साह्रै सताए। अब यस्तो कुरा हुनेछैन। म यस्तो अवस्था सृजना गर्नेछु त्यहाँ केही दुःख तिमीहरूका शत्रुहरूबाट हुने छैन। “‘जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु। उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु।
२ शमूएल 7:8-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“यसर्थ मेरो सेवक दाऊदलाई यसो भन् कि म सर्वशक्तिमान् परमप्रभुले त्यसलाई भन्दै छु, ‘मैले तँलाई भेडाका खर्कबाट लिएर मेरो प्रजा इस्राएलको राजा बनाएँ। तँ जहाँ गईस्, त्यहाँ म तँसित गएँ र तँ अघि बढिरहेको समयमा तेरा सबै शत्रुहरूलाई हराएँ। म तँलाई पृथ्वीको महान् अगुवासमान प्रसिद्ध बनाउनेछु। मैले आफ्नो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ चुनेको छु र उनीहरूलाई त्यहाँ बसालेको छु र त्यहाँ उनीहरू अब उसो कसैबाट आउने अत्याचारबिना बास गर्नेछन्। उनीहरू यस स्थानमा पसेको दिनदेखि उनीहरूलाई डरलाग्दा जातिले आक्रमण गरेका छन्, तर फेरि त्यस्तो हुनेछैन। म तँलाई तेरा सबै शत्रुहरूबाट सुरक्षित राख्ने र तँलाई सन्तानहरू दिने प्रतिज्ञा गर्दछु। जब तँ मरेर तेरा पुर्खाहरूसित गाडिनेछस्, तेरो एउटा छोरालाई राजा बनाउनेछु र त्यसको राज्यलाई शक्तिशाली बनाउनेछु। त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ। त्यसको वंश सदासर्वदा रहिरहनेछ। त्यो म पक्का गर्नेछु।