२ शमूएल 6:16-22

२ शमूएल 6:16-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब परमप्रभुको सन्‍दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्‍ने उफ्रँदै र नाच्‍दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्‌। तिनीहरूले परमप्रभुको सन्‍दूक भित्र ल्‍याए, र दाऊदले सन्‍दूकको लागि टाँगेको पालभित्र राख्‍नका निम्‍ति तोकिएको स्‍थानमा त्‍यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्‍ने होमबलि र मेलबलि चढ़ाए। दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। अनि तिनले सबै मानिसहरूलाई, अर्थात्‌ इस्राएलीहरूका जम्‍मै जमघटको हरेक पुरुष र स्‍त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्‍लो र किसमिसको एक-एक झुप्‍पो दिए। तब सबै मानिसहरू घर गए। दाऊद आफ्‍ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्‌न बाहिर निस्‍केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्‍ति आज कस्‍तो गौरवको दिन! तिनले आफ्‍ना दासीहरूका दृष्‍टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्‍तै बनाए।” दाऊदले मीकललाई जवाफ दिए, “तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्‍नुहुने परमप्रभुको सामुन्‍ने त्‍यो गरिएको थियो। परमप्रभुको सामुन्‍ने म उत्‍सव मनाउनेछु। म आफ्‍नो दृष्‍टिमा अझै बढ़ी अपमानित बन्‍नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्‍यौ, तिनीहरूले यसको निम्‍ति मलाई मान गर्नेछन्‌।”

शेयर गर्नुहोस्
२ शमूएल 6 पढ्नुहोस्

२ शमूएल 6:16-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब याहवेहको सन्दुक दावीदको सहरमा प्रवेश भइरहेको थियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्। अनि जब तिनले दावीदलाई याहवेहको सामु उफ्रँदै र नाच्दै गरेको देखिन्, तब तिनले आफ्नो हृदयमा उनलाई घृणा गरिन्। तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए। तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए। तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्‍ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए। जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!” दावीदले मीकललाई भने, “याहवेह, जसले तिम्रा पिता तथा उहाँका परिवारका सट्टामा मलाई चुन्‍नुभयो, र याहवेहका मानिस इस्राएलीहरूमाथि शासक नियुक्त गर्नुभयो, उही याहवेहको सामु म हर्ष-उल्‍लास मनाउनेछु। म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्‍टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।”

शेयर गर्नुहोस्
२ शमूएल 6 पढ्नुहोस्

२ शमूएल 6:16-22 पवित्र बाइबल (NERV)

शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ। दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए। होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए। प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के। दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेट्न आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैंलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।” तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैंले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु। म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”

शेयर गर्नुहोस्
२ शमूएल 6 पढ्नुहोस्

२ शमूएल 6:16-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सन्‍दुक सहरमा आइपुग्‍दा शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन् र दाऊद राजालाई उफ्रँदै र नाच्‍दै गरेका देखिन् र मनमनै घृणा गरिन्। सन्‍दुक ल्‍याएर तिनीहरूले दाऊदले त्‍यसको निम्‍ति तयार गरेको पालभित्र ठीक ठाउँमा राखे। त्‍यसपछि तिनले परमप्रभुलाई होमबलि र मेलबलि चढाए। बलि चढाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिए र सबैलाई खाना बाँडे। तिनले इस्राएलका हरेक पुरुष र स्‍त्रीलाई एकएक वटा रोटी, एक-एक टुक्रा भुटेको मासु र केही किसमिस दिए। त्‍यसपछि सबै जना घर गए। त्‍यसपछि जब आफ्‍ना परिवारलाई भेट्‍न दाऊद महल गए, तब मीकल तिनलाई भेट्‍न आइन् र भनिन्, “इस्राएलका राजाले आफ्‍नो निम्‍ति आज ठूलो नाम कमाए। तिनले आफ्‍ना भारदारहरूका दासीहरूका अघि आफैंलाई मूर्खझैँ तुल्‍याए!” दाऊदले जवाफ दिए, “म परमप्रभुको सम्‍मानमा नाचिरहेको थिएँ, जसले मलाई तिम्रा बुबा र उनको परिवारको सट्टामा चुन्‍नुभयो र आफ्‍ना प्रजा इस्राएलका अगुवा बनाउनुभयो। परमप्रभुको सम्‍मानमा म अझ नाच्‍नेछु र आफैंलाई अझ बढी अपमानित गराउनेछु। तिम्रो निम्‍ति म अपमानित हुँला; तर ती दासीहरूको अघि म औधी सम्‍मानित छु!”

शेयर गर्नुहोस्
२ शमूएल 6 पढ्नुहोस्