२ शमूएल 21:1-22
२ शमूएल 21:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदको राजकालमा तीन वर्षसम्म लगालग अनिकाल पर्यो। तब दाऊदले परमप्रभुको खोजी गरे। अनि परमप्रभुले भन्नुभयो, “शाऊल र त्यसको घरानामाथि रगतको दोष परेको छ, किनभने त्यसले गिबोनीहरूलाई मार्यो।” यसैकारण अनिकाल परेको छ। (गिबोनीहरू इस्राएलका कुलका थिएनन्। उनीहरू एमोरी वंशका बचेकाहरू थिए, जसलाई इस्राएलीहरूले बचाइराख्ने शपथ खाएका थिए। तापनि शाऊलले इस्राएल र यहूदाका निम्ति आफ्नो जोशमा तिनीहरूलाई खतम गर्ने कोशिश गरेका थिए।) यसैकारण दाऊद राजाले गिबोनीहरूलाई बोलाएर भने, “म तिमीहरूका निम्ति के गरूँ? परमप्रभुका आफ्नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्चित गर्न सक्छु?” गिबोनीहरूले जवाफ दिए, “शाऊल र उनको घरानासँगको हाम्रो झगड़ा सुन र चाँदीले मिलाउने हाम्रो अधिकार छैन, अनि इस्राएलमा कसैको मृत्युको माग गर्ने पनि हामीलाई अधिकार छैन।” तब दाऊदले सोधे, “त्यसो भए मैले तिमीहरूका निम्ति के गर्ने त?” उनीहरूले राजालाई जवाफ दिए, “जुन मानिसले हाम्रो बरबादी गर्यो र हाम्रो विरुद्ध षड्यन्त्र गर्यो, यहाँसम्म कि हामी खतम भयौं र इस्राएलमा हाम्रो एउटै ठाउँ पनि रहेन, त्यस मानिसका सात जना छोराहरूलाई हामीकहाँ सुम्पिदिनुहोस्, र परमप्रभुका चुनिएका राजा शाऊलको गिबामा परमप्रभुकै सामुन्ने हामी तिनीहरूलाई मारेर खुलस्त गराउनेछौं।” राजाले भने, “म तिमीहरूलाई त्यो दिनेछु।” दाऊदले परमप्रभुको सामु शाऊलका छोरा जोनाथनको खातिर शपथ खाएका हुनाले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे। तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा आरमोनी र मपीबोशेत, र शाऊलकी छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए। दाऊदले तिनीहरूलाई गिबोनीहरूका हातमा सुम्पिदिए, र उनीहरूले तिनीहरूलाई परमप्रभुको सामुन्ने पहाड़मा मारेर खुलस्त गराइदिए। ती सातै जना एकसाथ तल खसे। तिनीहरू जौका कटनीको सुरुमा फसलको पहिलो दिनमा मारिए। अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर कटनीको सुरुदेखि जबसम्म आकाशबाट पानी तिनीहरूका मृत-शरीरमा परेन, तबसम्म आफ्नो निम्ति त्यस चट्टानमा ओछ्यानजस्तै बनाई। त्यसले दिनमा आकाशका पक्षीहरूलाई र राती जङ्गलका पशुहरूलाई ती लाशहरू खान दिइन। जब शाऊलकी उपपत्नी अय्याकी छोरी रिश्पाले गरेको कुरा दाऊदलाई सुनाइयो, तब तिनी गएर शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू याबेश-गिलादका मानिसहरूबाट ल्याए। (यी मानिसहरूले ती हड्डीहरू पलिश्तीहरूले शाऊललाई गिल्बोमा जितेको दिन झुण्ड्याएको ठाउँ, अर्थात् बेथ-शानको चोकबाट चोरेर लगेका थिए।) तिनले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू ल्याए, अनि मारेर खसालिदिएका मानिसहरूका हड्डीहरू जम्मा गर्न लगाए। तिनीहरूले शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू बेन्यामीनको देशमा सला भन्ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाड़े। राजाले तिनीहरूलाई जे-जे गर्नू भनी हुकुम गरेका थिए, ती सबै तिनीहरूले गरे। त्यसपछि देशको निम्ति चढ़ाएको प्रार्थना ग्रहण गर्नलाई परमप्रभु राजी हुनुभयो। फेरि पलिश्ती र इस्राएलीहरूका बीचमा लड़ाइँ चम्कियो। दाऊद र तिनका मानिसहरू लड़ाइँ गर्नलाई झरे, तर जब तिनी पलिश्तीहरूसँग लड़ाइँ गरिरहेका थिए, तब तिनी साह्रै थाके। तब रफाका सन्तानहरूमध्येको एक जना, इश्बी-बनोबले, जसको काँसाका भालाको ओजन साँढ़े तीन किलोग्राम थियो, र जसले नयाँ तरवार भिरेको थियो, त्यसले दाऊदलाई मार्छु भनेको थियो। यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्यस पलिश्तीलाई हिर्काएर मारे। तब दाऊदका मानिसहरूले इस्राएलको प्रकाश नै निभ्नेछ भन्ने डरले दाऊद तिनीहरूसँग लड़ाइँमा अब कहिल्यै जानेछैनन् भनी तिनको सामु शपथ खाए। केही समयपछि फेरि गोबमा पलिश्तीहरूसँग लड़ाइँ चम्कियो। त्यस बेला हूशाती सिब्बकैले रफाको सन्तान सफ भन्नेलाई मारे। गोबमा पलिश्तीहरूसँगको अर्को लड़ाइँमा बेथलेहेमका यारे-ओरगिमका छोरा एल्हानानले गित्ती गोल्यतलाई मारे, जसको भालाका बिँड़ जुलाहाको लुगा बनाउने डन्डाजत्रो ठूलो थियो। गातमा भएको अर्को एउटा लड़ाइँमा हात र खुट्टामा छ-छ वटा औँला, जम्मा चौबीस औँला भएको एउटा दैत्यजत्रो मानिस देखा पर्यो। त्यो पनि रफाकै सन्तान थियो। जब त्यसले इस्राएललाई धम्की दियो तब दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे। गातमा बस्ने यी चार जना मानिसहरू रफाका सन्तान थिए, र यी सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।
२ शमूएल 21:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीदको शासनकालमा लगातार तीन वर्षसम्म अनिकाल पर्यो। यसकारण दावीदले याहवेहसित सोधखोज गरे। याहवेहले भन्नुभयो, “यो शाऊल र त्यसको रगतले मुछिएको घरानाको कारणले गर्दा हो। किनकि त्यसले गिबोनीहरूलाई मार्यो।” राजाले गिबोनीहरूलाई बोलाए, र तिनीहरूसँग कुरा गरे। (गिबोनीहरूचाहिँ इस्राएलको वंशका थिएनन्, तर एमोरीहरूबाट बाँचेकाहरू थिए। इस्राएलीहरूले तिनीहरूलाई बचाइराख्ने शपथ खाएका थिए। तर शाऊलले चाहिँ इस्राएल र यहूदाप्रतिको आफ्नो जोशमा तिनीहरूको नामनिशानै मेटिदिने कोसिस गरेका थिए।) दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?” गिबोनीहरूले जवाफ दिए, “शाऊल अथवा तिनको परिवारबाट सुन वा चाँदी माग्ने हाम्रो अधिकार छैन; न त हामीले इस्राएलमा कसैलाई मार्न सक्ने अधिकार नै छ।” दावीदले सोधे, “तिमीहरूका निम्ति मैले के गरिदिएको चाहन्छौ?” तिनीहरूले राजालाई जवाफ दिए, “जसले हामीहरूलाई नष्ट पारे, र हाम्रो विरुद्धमा षड्यन्त्र गरेर हामीलाई मार्ने योजना गरेका थिए; त्यसरी नै हामीलाई पूरै नाश गर्न र इस्राएलको समस्त इलाकामा हाम्रा निम्ति कहीँ पनि ठाउँ नहोस् भन्ने चाहेका थिए, त्यही षड्यन्त्रकारीका सन्तानहरूमध्ये सात जना पुरुष मारिनका लागि हामीलाई दिइयोस्। हामी याहवेहका चुनिएका शाऊलको गेबामा याहवेहका सामु तिनीहरूलाई झुण्डाएर मार्नेछौँ अनि तिनीहरूका शरीर प्रदर्शन गर्नेछौँ।” यसकारण राजाले भने, “म तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनेछु।” राजा दावीदले आफ्नो र शाऊलका छोरा जोनाथनका बीचमा याहवेहको सामु भएको शपथको कारण शाऊलका छोरा जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे। तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोराहरू आरमोनी र मपीबोशेतको साथमा शाऊलका छोरी मेराबले महोलाती बर्जिल्लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए। अनि तिनीहरूलाई दावीदले गिबोनीहरूकहाँ सुम्पिदिए, जसले तिनीहरूलाई याहवेहसामु एउटा डाँडामा झुण्ड्याएर मारे। ती सातै जना एकैसाथ मरे। कटनीको पहिलो दिनमै तिनीहरू मारिए, अर्थात् जौको कटनी सुरु भएकै दिन तिनीहरू मारिए। अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर त्यसलाई एउटा चट्टानमाथि आफ्ना निम्ति बिछ्याइन्। कटनीको सुरुवातको दिनदेखि मृत शरीरहरूमा आकाशबाट पानी नपरेसम्म तिनले दिउँसो आकाशका चराहरू र राति जङ्गली पशुहरूलाई ती मृत शरीरहरू छुन दिइनन्। जब शाऊलकी उपपत्नी रिश्पा, अर्थात् अय्याकी छोरीले जे गरेकी थिइन्, त्यो कुरा दावीदलाई बताइयो, तब तिनी गएर याबेश-गिलादका नगरबासीहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिए। (तिनीहरूले बेथ-शानको चोकबाट ती चोरेर लगेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मारेपछि तिनीहरूलाई झुण्ड्याएका थिए।) दावीदले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू, र झुण्डाएर मारिएका सात जना मानिसहरूका हड्डीहरू भेला गरेर थुप्रो लगाए। तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरूलाई बेन्यामीनको सला भन्ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाडे, र राजाले आज्ञा दिएका सबै कुरा गरे। त्यसपछि याहवेहले देशको निम्ति गरिएका प्रार्थना सुन्नुभयो। फेरि एक पटक पलिश्तीहरू र इस्राएलीहरूको बीचमा लडाइँ भयो। दावीद आफ्ना सेनाहरूसँग पलिश्तीहरूको विरुद्धमा युद्ध गर्नलाई ओर्ले। युद्धमा दावीद थकित भए। अनि इश्बी-बनोब, रफाका सन्तानहरूमध्येका एक, जसको भालाको ओजन तीन सय शेकेल काँसोको थियो, र जसले एउटा नयाँ तरवार भिरेको थियो; त्यसले दावीदलाई मार्ने बिचार गर्यो। तर सरूयाहका छोरा अबीशै दावीदलाई बचाउन आए, र त्यस पलिश्तीलाई प्रहार गरेर मारिदिए। तब दावीदका मानिसहरूले राजासँग शपथ खाएर भने, “अबदेखि तपाईं हामीसँग लडाइँमा जानुहुनेछैन, ताकि इस्राएलको बत्ती ननिभोस्।” केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे। गोबमा पलिश्तीहरूसँग फेरि भएको लडाइँमा बेथलेहेमबासी यारे-ओरेगीमको छोरा एल्हानानले गित्ती गोल्यतका भाइलाई मारे जसको भालाको बिँड कपडा बुन्ने तानको डण्डाजस्तो थियो। गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएका जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो। जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे। गातमा भएका यी चार जना मानिसहरू रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए।
२ शमूएल 21:1-22 पवित्र बाइबल (NERV)
दाऊद राजा भएको समयमा अनिकाल लाग्यो। यस्तो भोकमारी तीन बर्षसम्म रह्यो। दाऊदले परमप्रभुलाई प्रार्थना गरे अनि परमप्रभुले जवाफ दिनु भयो। परमप्रभुले भन्नु भयो, “शाऊल र तिनका परिवार हत्या हुनाले गर्दा यस्तो परिस्थिति झेल्नु परेको हो। शाऊलले गिबोनीहरू मारेकोले गर्दा यो अनिकाल लागेको हो।” (गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।) राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे। दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?” गिबोनीहरूले भने, “शाऊलका परिवारले गरेको कार्यको मूल्य चुकाउने त्यति सुन चाँदी छैन। अनि हामीलाई कुनै पनि मानिसको हत्या गर्ने अधिकार छैन।” दाऊदले भने, “ठीक छ, म तिमीहरूको निम्ति के गर्नसक्छु?” गिबोनीहरूले राजा दाऊदलाई भने, “शाऊलले हाम्रो बिरूद्ध योजना बनायो। इस्राएलमा बस्ने हाम्रा सबै मानिसहरूलाई खतम गर्न चाहेको थियो। दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।” राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।” तर राजाले जोनाथनको छोरा मपीबोशेतलाई बचाए। जोनाथन शाऊलका छोरा थिए। परमप्रभुको साक्षी राख्दै दाऊदले जोनाथनलाई वचन दिएका थिए। यसैले राजाले मपीबोशेतलाई तिनीहरूबाट आघात पार्नबाट बचाए। दाऊदले आरमोनी र मपीबोशेत तिनीहरूलाई सुम्पिए। तिनीहरू शाऊलका र रिश्पाका छोराहरू थिए। शाऊलकी एउटी छोरी मेराब नाउँकी थिई। महोलाका बर्जितका छोरा अद्रीएलसँग शाऊलकी उक्त छोरीको विवाह भएको थियो। यसैले दाऊदले मेराब र अद्रीएलका पाँच जना छोराहरू लिए। दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मरे। जौंको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो। रिस्पा, एयाइकी छोरीले भाङ्ग्रा आफ्नै निम्ति चट्टानमाथि राखिन्। भाङ्ग्रा चट्टामाथि फसल काटिने शुरू देखि लिएर बर्षाको शुरू नहुन्जेल सम्म बसिन्। रिश्पाले रात दिन मृत्य शरीरको ख्याल गरिन्। दिन समयमा कुनै चराहरूलाई लाशको छेउमा आउँन दिइनन् रातमा पनि तिनले जङ्गली जनावरहरूलाई लाशको छेउमा आउँन दिइनन्। मानिसहरूले दाऊदलाई रिश्पाको यस्तो गति-विधीमाथि सबै जानकारी गराए। तब दाऊदले याबेश गिलादको मानिसहरू शाऊल र जोनाथनका हड्डीहरू ल्याए पछि याबेशक मानिसहरूले तिनीहरूको शरीर बेत-शानका सार्वजनिक ठाउँबाट चोरेर ल्याए, (जहाँ पलिश्तीहरूले शाऊल र जोनाथनलाई मारे पछि गल्बिम झुण्डाएका थिए।) दाऊदले याबेश गिलादबाट शाऊल र जोनाथनका हड्डीहरूल्याए। जो सातजना झुण्डायाइएका थिए उनीहरूका लाशहरू पनि पाए। बिन्यामीन क्षेत्रमा शाऊल र जोनाथनका हड्डीहरू तिनीहरूले गाडे। शाऊलका पिता किशको चिहानको नजिक सुरूङमा मानिसहरूले गाडे। राजाको आदेश अनुसार तिनीहरूले काम गरे। तब परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुभयो। पलिश्तीहरूले इस्राएलसँग अर्को युद्ध शुरू गरे। दाऊद र तिनका मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न गए। तर दाऊद साह्रै कमजोर र थकित थिए। इशबि-बेनोब रपाईम जातिका थिए। इशबि-बेनोबको भालाको ओजन 300 शेकेलको थियो। उसको नयाँ तरवार पनि थियो। उसले दाऊदलाई मार्ने कोशिश गर्यो। तर सरूयाहका छोरा अबीशैले त्यस पलिश्तीलाई मारेर दाऊदको ज्यान बचाए। तब दाऊदका मानिसहरूले दाऊदसँग प्रतिज्ञा गरे। उनीहरूले तिनलाई भने, “तपाईं अबदेखि हामीसँग युद्ध गर्न जानुहुने छैन। यदि जानुभयो भने, इस्राएलले साह्रै ठूला नेता हराउने छन्।” पछि, अर्को एउटा युद्ध गोबमा पलिश्तीहरूसँग भयो। हूशाका सिब्बकैले त्यहाँ एउटा रपाईम वंशी सफको हत्या गरे। फेरि पछि गोबमा पलिश्तीहरूसँग युद्ध भयो। बेतलेहेम याईर गिबका छोरा एल्हनानले गातको गोल्यत गित्तिका भाइ लहमीलाई मारे उसको भाला जुलाहाको लुगा बुन्ने डण्डा जत्रो ठूलो थियो। गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औंलाहरू थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो। त्यो मानिसले इस्राएलीलाई धम्की दियो र तिनीहरूको खिल्ली उडायो। तर जोनाथनले त्यस मानिसको हत्या गरे। (जोनाथन चाहिं दाऊदका भाइ शिमीका छोरा थिए।) यी चारैजना मानिसहरू गातको रपाईमका थिए। तिनीहरू दाऊद र तिनका मानिसहरूद्वारा मारिए।
२ शमूएल 21:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊदको राज्यकालमा तीन वर्षसम्म घोर अनिकाल पर्यो। दाऊदले यसबारे परमप्रभुसँग सोधे र परमप्रभुले भन्नुभयो, “शाऊल र त्यसका घरानाले हत्याको अपराध गरेको छ। त्यसले गिबोनका मानिसहरूलाई मार्यो।” (गिबोनका मानिसहरू इस्राएली कुलका थिएनन्। तिनीहरू एमोरीहरूको एउटा सानो दल थिए। इस्राएलीहरूले तिनीहरूको रक्षा गर्ने गरेका थिए। तर शाऊलले तिनीहरूलाई तिनका इस्राएल र यहूदाका मानिसको निम्ति भएको जोशले गर्दा नाश पार्न खोजेका थिए)। यसकारण दाऊदले गिबोनबासीहरूलाई बोलाएर भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? तिमीहरूमाथि गरिएको अन्यायको सट्टामा म तिमीहरूको के भलाइ गर्न सक्छु र तिमीहरूले परमप्रभुको प्रजालाई आशीर्वाद दिन सकौला।” तिनीहरूले उत्तर दिए, “शाऊल र तिनका परिवारसँगको हाम्रो झगडा सुन र चाँदीले मेटिने होइन न त हामी कोही इस्राएलीहरूलाई मार्न नै चाहन्छौं।” दाऊदले सोधे, “त्यसो भए, मैले तिमीहरूको निम्ति के गर्नुपर्ने हो? तिमीहरूको के विचार छ?” तिनीहरूले उत्तर दिए, “शाऊलले हामीलाई मार्न चाहन्थे र इस्राएलमा हामी कसैलाई कहीँ पनि जिउँदो राख्न चाहँदैनथे। यसकारण तिनका सन्तानबाट सात जना पुरुषहरू हाम्रा हातमा दिनुहोस् र तिनीहरूलाई हामी परमप्रभुको सामु गिबामा, जुन परमप्रभुले चुन्नुभएको राजा शाऊलको सहर हो, त्यहाँ झुन्डाउनेछौं।” “म तिनीहरूलाई तिम्रा हातमा सुम्पिदिनेछु,” राजाले उत्तर दिए। तर आफू र जोनाथनले आपसमा गरेको पवित्र प्रतिज्ञाको कारणले गर्दा दाऊदले जोनाथनको छोरो अथवा शाऊलको नाति मपीबोशेतलाई बचाए। तिनले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोरा, आरमोनी र मपीबोशेत र शाऊलकी छोरी मेराबले महोलातीबासी बर्जिल्लैको छोरो अद्रीएलबाट जन्माएका पाँच छोराहरू लिए। ती सात जनालाई दाऊदले गिबोनका मानिसहरूकहाँ सुम्पिदिए र तिनीहरूलाई गिबोनीहरूले परमप्रभुको अघि पहाडमा झुन्डाए। ती सातै जना एकसाथ मरे। तिनीहरू मारिँदा बसन्त ऋतुको प्राय: अन्त भएको र जौको कटनी गर्ने समय भएको थियो। तब अय्याकी छोरी अथवा शाऊलकी रखौटी रिश्पाले तिनीहरूका लाश राखिएको चट्टानमाथि भाङ्ग्राको कपडाले एउटा ओत लाग्ने ठाउँ बनाई र कटनी सुरु भएदेखि शरद् ऋतुको वर्षा सुरु नभएसम्म त्यहाँ बसिरही। दिउँसो त्यसले लाशबाट चराहरू भगाइदिन्थी र राती जङ्गली जन्तुहरूबाट लाशको रक्षा गर्थी। रिश्पाले त्यसो गरेकी थाहा पाएर दाऊदले गिलादका याबेशमा बास गर्ने मानिसहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हाडहरू लिएर आए। गिल्बो पर्वतमा शाऊललाई मारेको दिन पलिश्तीहरूले तिनीहरूलाई बेथ-शानको चोकमा झुन्डाएका थिए, जहाँबाट तिनीहरूले ती हड्डी चोरेर लगेका थिए। शाऊल र जोनाथनका हड्डी साथै दाऊदले ती झुन्ड्याइएका सात जनाका हाडहरू पनि बटुले। त्यसपछि तिनीहरूले शाऊलका बुबा कीशका चिहानमा शाऊल र जोनाथनका हाडहरू गाडे। कीशको चिहान बेन्यामीनको देशको सला भन्ने ठाउँमा थियो र त्यहाँ राजाका सम्पूर्ण आज्ञा पूरा गरेर तिनीहरूले ती हाडहरू गाडे। त्यसपछि आफ्नो देशको निम्ति तिनीहरूले चढाएका प्रार्थनाको उत्तर परमेश्वरले दिनुभयो। पलिश्ती र इस्राएलीहरूका माझ अर्को एउटा लडाइँ भयो र दाऊद आफ्ना सैनिकहरूसित गएर पलिश्तीहरूसित लडे। त्यो लडाइँमा दाऊद साह्रै थाकेका थिए। इश्बीबनोब नाम गरेका हातमा साँढे तीन किलोग्राम वजन भएको काँसाको भाला लिएको र कम्मरमा नयाँ तरवार भिरेको रफाको एउटा सन्तान त्यहाँ थियो। त्यसले दाऊदलाई मार्ने विचार गर्यो। तर सरूयाहको छोरो अबीशै दाऊदलाई सहायता गर्न आए र त्यस पलिश्तीलाई हिर्काएर मारे। त्यसपछि दाऊदका मानिसहरूले “तपाईं नै इस्राएलको आशा हुनुहुन्छ” भनेर डराए र दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्यै जानेछैनन् भनी उनको सामु प्रतिज्ञा गरे। त्यसपछि पलिश्तीहरूसित गोबमा एउटा लडाइँ भयो। त्यस लडाइँमा हशातीका सिब्बकैले एक जना सफ नाम गरेको दैत्यजस्तोलाई मारे। गोबमा पलिश्तीहरूसित अर्को पनि एउटा लडाइँ भयो। त्यसमा बेथलेहेमका यारे-ओरगिमका छोरो एल्हानानले गातका गोल्यतलाई मारे। गोल्यतको भालाको डन्डा लुगा बुन्ने तानको डन्डा जत्तिकै मोटो थियो। त्यसपछि गातमा एउटा लडाइँ भयो। त्यसमा लडाइँ गर्न खुबै रुचाउने एउटा दैत्यजस्तो मानिस थियो। त्यसका दुई हात र दुई खुट्टामा छ-छ वटा औंलाहरू थिए। त्यसले इस्राएलीहरूलाई धम्की दियो र दाऊदका दाजु शिमाहको छोरो जोनाथनले त्यसलाई मारे। यी चार जना गातका दैत्यहरू जस्ताका सन्तान थिए अनि दाऊद र तिनका मानिसहरूले तिनीहरूलाई मारे।