२ शमूएल 12:1-13

२ शमूएल 12:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्‍थितिमा हाजिर भएर तिनले भने, “एक पल्‍ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब। धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए, तर त्‍यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्‍नो भन्‍ने केही थिएन। उसले त्‍यसलाई आफैले पालनपोषण गर्‍यो, र आफ्‍नै घरमा आफ्‍नै छोराछोरीसँग त्‍यो हुर्क्‍यो। त्‍यसले उसकै थालमा खान्‍थ्‍यो, र उसकै कचौरामा पिउँथ्‍यो, र उसकै काखमा सुत्‍दथ्‍यो। त्‍यसलाई उसले आफ्‍नो छोरीलाई जस्‍तै गर्थ्‍यो। “एक दिन एउटा परदेशी त्‍यस धनी मानिसको घरमा आयो, अनि त्‍यस धनी मानिसले पाहुनालाई आफ्‍नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्‍यस गरीब मानिसको पाठी ल्‍याएर त्‍यस पाहुनाको निम्‍ति भोजन तयार गर्‍यो।” दाऊदलाई त्‍यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु, कि यस्‍तो काम गर्ने मानिस मृत्‍युको योग्‍य छ! त्‍यसले दयामाया नगरेर यस्‍तो काम गरेबापत त्‍यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।” तब नातानले दाऊदलाई भने, “त्‍यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। मैले तँलाई तेरा मालिकको घर र त्‍यसका पत्‍नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ। तर तैंले उहाँको दृष्‍टिमा जे खराब थियो त्‍यो गरेर किन परमप्रभुको वचनलाई तुच्‍छ ठानिस्‌? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्‍यसकी पत्‍नीलाई आफ्‍नी बनाउन लगिस्‌। तैंले त्‍यस मानिसलाई अम्‍मोनीहरूको तरवारले मर्न दिइस्‌। तैंले मलाई तुच्‍छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्‍नीलाई तैंले आफ्‍नी पत्‍नी तुल्‍याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्‍यै तरवारबाट विश्राम पाउनेछैन’। “परमप्रभु भन्‍नुहुन्‍छ: ‘म तेरो आफ्‍नै घरानाभित्रबाट तँमाथि विपद्‌ ल्‍याउनेछु। म तेरा पत्‍नीहरूलाई लिएर तेरै आँखाको सामुन्‍ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्‍यो दिउँसै तिनीहरूसित सुत्‍नेछ। तैंले जे गरिस्‌ त्‍यो गुप्‍तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्‍ने गरी दिनको उज्‍यालोमा गर्नेछु’।” तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन।

शेयर गर्नुहोस्
२ शमूएल 12 पढ्नुहोस्

२ शमूएल 12:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए। त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए। तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो। “एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्‍यो।” तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ! त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्‍यो, र त्यसले कुनै दया देखाएन।” तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ। मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ। तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्‍टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्। यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’ “याहवेह यसो भन्‍नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ। तैँले गुप्‍तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ” त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन।

शेयर गर्नुहोस्
२ शमूएल 12 पढ्नुहोस्

२ शमूएल 12:1-13 पवित्र बाइबल (NERV)

परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब। त्यस धनी मानिसका धेरै भेंडा र पशुहरू थिए। तर त्यस गरिब मानिसको एउटा किनेको भेंडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो। “तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेंडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेंडाको पाठी ल्याएर यात्रीलाई खुवाए।” दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै। उसले भेंडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।” तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ। मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए। यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो? यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’ “परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्। तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।’” तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।” नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।

शेयर गर्नुहोस्
२ शमूएल 12 पढ्नुहोस्

२ शमूएल 12:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गएर भने, “एउटा सहरमा दुई जना मानिसहरू बस्‍थे, एउटा धनी र अर्कोचाहिँ गरीब थियो। धनी मानिसका धेरै गाई-गोरु र भेडाहरू थिए; तर त्‍यो गरीब मानिससित आफूले किनेको एउटा मात्र भेडाको पाठो थियो। उसले त्‍यसको स्‍याहार-सुसार गर्थ्‍यो र घरमा उसका बाल-बालिकासित त्‍यो बढ्यो। उसले त्‍यसलाई आफ्‍नै भोजनबाट खान दिन्‍थ्‍यो, आफ्‍नो कचौराबाट पिउन दिन्‍थ्‍यो र काखमा लिन्‍थ्‍यो। उसले त्‍यस पाठोलाई छोरी बराबर मान्‍थ्‍यो। एक दिन धनी मान्‍छेको घरमा एउटा पाहुना आयो। पाहुनाको भोजन तयार गर्न त्‍यस धनी मानिसले आफ्‍नै गोठको भेडा वा गोरु मार्न लाएन; तर त्‍यसको सट्टामा उसले गरीबको भेडाको पाठो मार्‍यो र पाहुनाको लागि भोजन तयार गर्‍यो।” दाऊदलाई त्‍यस धनी मानिससित साह्रै रिस उठ्यो र उनले नातानलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्‍दछु कि यस्‍तो काम गर्ने मानिस मृत्‍युको योग्‍य छ! यस्‍तो निर्दयी काम गर्नेले आफूले लिएको भन्दा चौगुणा फिर्ता दिनुपर्नेछ।” “त्‍यो मानिस तपाईं नै हुनुहुन्‍छ,” नातानले दाऊदलाई भने, “र परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मैले तँलाई इस्राएलका राजा बनाएँ र शाऊलको हातबाट बचाएँ। त्‍यसका राज्‍य र स्‍वास्‍नीहरू मैले तँलाई दिएँ, तँलाई इस्राएल र यहूदाका राजा बनाएँ। त्‍यतिले तँलाई नपुगेको भए म त्‍यसको दोब्बर पनि दिनेथिएँ। किन तैँले मेरो आज्ञा मानिनस्? किन तैँले यो दुष्‍ट कर्म गरिस्? तैँले उरियाहलाई लडाइँमा मार्न लगाइस्। अम्‍मोनीहरूका हातमा त्‍यसलाई मर्न दिइस् र त्‍यसकी स्‍वास्‍नी लगिस्? मेरो आज्ञापालन नगरेर तैँले उरियाहकी स्‍वास्‍नी लगिस्। यसकारण हरेक पुस्‍तामा तेरा केही सन्‍तान तरवारले मारिनेछन्। म किरिया खाई भन्‍छु कि तेरै घरानाको कसैको हातबाट म तँलाई कष्‍ट दिन लाउनेछु। तेरा स्‍वास्‍नीहरू खोसेर अर्को मानिसलाई दिँदा तैँले यी सबै भएको देख्‍नेछस् र त्‍यसले दिउँसै तिनीहरूसित सम्‍भोग गर्नेछ। तैँले गुप्‍तमा पाप गरिस्; तर म यो कुरा सारा इस्राएलले देख्‍ने गरी दिउँसो गराउनेछु।” दाऊदले भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु।” नातानले उत्तर दिए, “परमप्रभुले तपाईंलाई क्षमा दिनुहुन्‍छ, तपाईं मर्नुहुनेछैन।

शेयर गर्नुहोस्
२ शमूएल 12 पढ्नुहोस्