२ कोरिन्थी 8:1-9
२ कोरिन्थी 8:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं। कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे। हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए। यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं। तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ। मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ। किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।
२ कोरिन्थी 8:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ। तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए। किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए। प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे। अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे। यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्यौँ। अनि तिमीहरूले प्रत्येक कुरामा, विश्वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्ठता देखाओ। म तिमीहरूलाई आज्ञा दिन्नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु। किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन।
२ कोरिन्थी 8:1-9 पवित्र बाइबल (NERV)
अनि अब दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरूलाई अनुग्रह बारे जनाउनु चाहन्छौं जुन परमेश्वरले म्यासिडोनियामा त्यहाँका मण्डलीहरूलाई दिनुभयो। ती विश्वासीहरूलाई अत्यन्तै कष्ट दिएर परीक्षा लिइन्थ्यो। ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो हर्षसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफूले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन। तर तिनीहरूले हामीलाई घरि-घरि सोध्थे परमेश्वरका मानिसहरूको यस सेवामा भागीदार बन्न पाऊँ भनेर हामीलाई विन्ती गर्थे। अनि तिनीहरूले यस प्रकारले दिए कि जुन हामीले आशै गरेका थिएनौं। तिनीहरूले आफ्नो दान दिनु अघि नै आफैं प्रभुमा पहिले समर्पण भए। यो नै परमेश्वर चाहनुहुन्छ। यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे। तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं। मैले दिनु भनेर तिमीहरूलाई आज्ञा गरिरहेको छैनँ। तर तिमीहरूको प्रेम सत्य प्रेम नै रहेछ कि भन्ने हेर्न खोज्दैछु। अरू मानिसहरूर मद्दत गर्न इच्छुक छन् भन्ने देखाउन मात्र म यी कुराहरू गर्छु। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।
२ कोरिन्थी 8:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाजुभाइ हो, परमेश्वरले माकेडोनियाको मण्डलीलाई गर्नुभएको अनुग्रहको बारे तिमीहरूलाई हामी भन्न चाहन्छौं। तिनीहरूले असाध्यै दु:खमा पनि आफ्नो ठूलो आनन्द प्रमाण गरी देखाए। तिनीहरू गरीब भएर पनि मन खोलेर दान दिए। उनीहरूले आफ्नो औकातदेखि पनि धेरै दिए, त्यही पनि आफ्नो खुसीले दिए। यसरी दान दिएर उनीहरूले हामी यहूदियामा हुने ख्रीष्टका पवित्र जनहरूको सहायतामा भाग लिने मौका पाऔं भनी साह्रै बिन्ती गरे। हामीले सोच्दै नसोचेको कुरो तिनीहरूले गरे। पहिले उनीहरूले आफैंलाई प्रभुकहाँ चढाए अनि परमेश्वरको इच्छामा काम गर्न आफैंलाई हाम्रा हातमा सुम्पिदिए। तीतसले तिमीहरूका बीचमा यो दान उठाउने काम सुरु गरेकाले त्यो पूरा गरून् भनी हामीले उनलाई पठायौं। तिमीहरू विश्वासमा, शिक्षामा, ज्ञानमा, अरूको ख्याल गर्नमा र हाम्रो माया गर्न सबै कुरामा धनी छौ। यसै गरी यो प्रेमले दिने सेवा पनि पूरा गर्ने गर भनी हामी इच्छा गर्छौं। यो मैले तिमीहरूलाई नियम बनाइदिएको होइनँ, तर अरूहरूले मद्दत गर्न कति इच्छुक छन्, यहाँ बताएर तिमीहरूको प्रेम साँचो हो कि होइन, म पत्ता लाउन चाहन्छु। हाम्रा प्रभु येशू ख्रीष्टले गर्नुभएको अनुग्रह तिमीहरूलाई थाहै छ। उहाँ धनीभन्दा धनी भएर पनि तिमीहरूका लागि गरीब हुनुभयो। आफ्नै गरीबीले तिमीहरूलाई धनी बनाउन उहाँले यसो गर्नुभयो।