२ कोरिन्थी 4:1-7
२ कोरिन्थी 4:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमेश्वरको कृपाद्वारा हामीसँग यो सेवा भएकोले हामी हरेस खाँदैनौं। हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्वरको वचनलाई हेरफेर गर्न इन्कार गर्छौं। तर सत्यको वचन खुलस्त गरी घोषणा गर्दै परमेश्वरको दृष्टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्य तुल्याउँछौं। हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ। तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ। हामी आफ्नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्दछौं। जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस्। सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोका भाँड़ाहरूमा छ।
२ कोरिन्थी 4:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण परमेश्वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ। बरु हामीले गुप्त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्वरको दृष्टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ। यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्ट हुनेहरूकै लागि मात्र लागेको छ। परमेश्वरको प्रतिरूप ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ। किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ। तर “अन्धकारमा ज्योति चम्कोस्,” भनी आज्ञा गर्नुहुने परमेश्वरले ख्रीष्टको मुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ। तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ।
२ कोरिन्थी 4:1-7 पवित्र बाइबल (NERV)
परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं। तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अँहँ! ठ्याम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्। हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अल्मलिएका छन्। यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ। हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं। परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्किने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो। परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बुझाउँछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन।
२ कोरिन्थी 4:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले आफ्नै दयामा हामीलाई यो काम दिनुभएको छ। यसकारण हामी हरेस खाँदैनौं। हामी सबै किसिमका लुकी-चोरी गरिने कुरा र नराम्रा कामहरू त्याग्छौं। हामी छल-कपटको काम गर्दैनौं। परमेश्वरको वचनलाई झूटो तुल्याउँदैनौं। हामी सत्यको पूर्ण उज्यालोमा परमेश्वरको अघि जिउँछौं अनि सबैले देख्ने गरी मान्छेको आँखा अगि हामीले आफैंलाई सुम्पेका छौं। हामीले सुनाएको सुसमाचार कसैबाट पनि लुकेको भए नाश हुनेहरूबाट मात्र लुकेको छ। यस युगको देवताले येशूमा विश्वास नगर्नेहरूको बुझ्ने शक्तिलाई नै अन्धो बनाइदिएको छ। ख्रीष्ट परमेश्वरकै स्वरूप हुनुहुन्छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्धो बनाइदिएको छ। हामी आफ्नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं। “अन्धकारको बीचमा उज्यालो चम्कनेछ भन्नुहुने परमेश्वरले नै हाम्रो हृदयमा उहाँको उज्यालो चम्काउनुभएको छ। यो उज्यालोबाट परमेश्वरको कत्रो सम्मान् छ, त्यो हामी बुझ्छौं। साँच्चै यो उज्यालो ख्रीष्टको मुहारमै छ। यस्तो बहुमूल्य धन हामीजस्तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन।