२ कोरिन्थी 3:4-11
२ कोरिन्थी 3:4-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्टद्वारा परमेश्वरप्रति हाम्रो यस्तो भरोसा छ। कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ। तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्यो व्यवस्था यस्तो महिमामय भएर आयो, कि त्यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदैथियो। पवित्र आत्माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ। किनभने जो एक पल्ट महिमामय थियो, अहिले त्यसलाई उछिन्ने महिमाले गर्दा अब त्यो महिमामय रहेन। किनकि जो बितेर गयो त्यो महिमासाथ आएको थियो भने, स्थायी रहनेचाहिँ अझ बढ़ी महिमापूर्ण हुनुपर्छ।
२ कोरिन्थी 3:4-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरमा ख्रीष्टद्वारा हाम्रो यस्तो भरोसा छ। आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्वरबाट नै आउँछ। उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ। तर ढुङ्गाहरूमा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो र त्यो महिमासाथ आयो; अनि त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार हेर्न सकेनन्। यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने, के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र? मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय हुन्छ! तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन। किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला!
२ कोरिन्थी 3:4-11 पवित्र बाइबल (NERV)
हामी यसरी कुरा गर्न सक्छौं किनभने ख्रीष्ट मार्फत परमेश्वरको अघि हामी ढुक्क छौं। हामी भन्दैनौं कि कुनै पनि काम आफैं राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ। (परमेश्वरबाट उहाँका मानिसलाई दिइएको) नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योगय बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम होइन। यो आत्माको हो। लिखित करारले मृत्यु ल्याँउछ, तर पवित्र आत्माले जीवन दिन्छ। मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। त्यस प्राचीन सेवाको महिमा अझ बढी थियो। तर जब नयाँ सेवाको महान महिमासँग त्यसलाई दाँजीन्छ, त्यो सेवाको महिमा हराउँछ। त्यो सेवा जुन लुप्त भयो त्यो महिमासँग आएको भए, तब यो सेवा जो सदा-सर्वदा रहनेछ त्यसको अझ विशाल महिमा हुने थियो।
२ कोरिन्थी 3:4-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टको दयाले मुक्ति दिएकोले हामी परमेश्वरमा भरोसा राखेर यस्तो कुरा भन्छौं। यो काम गर्न सक्ने खुबी हामीमा छ भन्ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्वरबाट नै मिलेको हो। उहाँले एउटा नयाँ करार जोड्नुभयो र हामीलाई यस करारमा काम गर्न लायकका सेवकहरू पनि बनाउनुभयो। योचाहिँ पवित्र आत्माको करार हो, व्यवस्थाले जोडेको करार होइन। व्यवस्थाले मृत्यु ल्याउँछ, तर पवित्र आत्माले त जीवन दिनुहुन्छ। ढुङ्गाको पाटीमा व्यवस्था खोपेर दिएको बेलामा परमेश्वरको ठूलो तेज देखा पर्यो। त्यही तेज मोशाको चेहरामा परेको थियो। पछि धेरै बढेर जाँदा इस्राएलका मानिसहरूले उनलाई सीधा हेर्न पनि सकेनन्। मृत्यु ल्याउने व्यवस्था पाउँदा त यस्तो चमक थियो भने पवित्र आत्माले ल्याउने सेवाको चमक झन् कति तेजिलो होला। मानिसलाई दोषी ठहराउने काम त त्यति धेरै चहकिलो थियो भने झन् मानिसलाई नै निर्दोष ठहराउने काम कति धेरै चहकिलो होला? यो ज्यादै उज्यालो चमकले गर्दा पहिलेको त्यो चमक त्यसै बिलाएर गयो। एक छिन रहनेमा त यस्तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला?