२ कोरिन्थी 12:11-21
२ कोरिन्थी 12:11-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्च प्रेरितहरूभन्दा म तुच्छ छैनँ। साँचो प्रेरितका लक्षणहरूचाहिँ पूरा धैर्यसाथ, चिन्हहरू, चमत्कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूका बीचमा प्रकट गरिएका थिए। अरू सबै मण्डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा चाहिँ तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूका निम्ति बोझ बनिनँ। अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने आमा-बुबाको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्ति पो आमा-बुबाले सञ्चय गर्नुपर्छ। म तिमीहरूका निम्ति ज्यादै खुशीसाथ खर्च गर्नेछु, र स्वयम् आफै पनि खर्चनेछु। यदि मैले तिमीहरूलाई बढ़ी प्रेम गरें भने, के मैले चाहिँ कम्ती प्रेम पाउने? मैले तिमीहरूलाई बोझ बोकाइनँ, यो ठीकै हो, तर मैले चलाकी गरेर तिमीहरूलाई फसाएँ भनी तिमीहरू भन्छौ। मैले तिमीहरूकहाँ पठाएकाहरूमध्येका कुनै मानिसद्वारा तिमीहरूबाट के मैले फाइदा उठाएथें र? मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं? के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्जेल तिमीहरूका सामु हामी आफ्नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्ति हो। किनभने म आउँदा मैले इच्छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्ने मलाई डर लागेको छ। शायद त्यहाँ झगड़ा, डाह, क्रोध, स्वार्थ, बदख्वाइँ, निन्दो-चर्चो, अभिमान र गोलमाल हुन्छ होला। मलाई डर लाग्छ, कि म फेरि आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामुन्ने होच्याइदिनुहुनेछ, र धेरै जनाका निम्ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्यभिचार र छाडापनबाट पश्चात्ताप गरेका छैनन् होला।
२ कोरिन्थी 12:11-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले आफूलाई मूर्ख बनाएँ; तर तिमीहरूले नै मलाई यस्तो हुन बाध्य गरायौ। मैले तिमीहरूबाट प्रशंसा पाउनुपर्नेथियो; किनकि म केही नभए तापनि म अरू “मुख्य प्रेरितहरू” भन्दा कमको छैनँ। मैले अथक प्रयत्नसाथ तिमीहरूका बीचमा अलौकिक चिन्हहरू, अद्भुत कार्यहरू र अचम्मका कामद्वारा साँचो प्रेरित भएको प्रमाण प्रकट गरेको छु। तर म तिमीहरूका निम्ति बोझ भइनँ भन्ने कुराबाहेक, कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम थियौ? यस भूलका लागि मलाई क्षमा देओ! अब म तेस्रो पल्ट तिमीहरूकहाँ आउन तयार छु, र म तिमीहरूका निम्ति बोझ बन्नेछैनँ; किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई चाहन्छु। बालबच्चाहरूले आमाबुबाको निम्ति सञ्चय गर्नुपर्ने होइन, तर आमाबुबाले पो बालबच्चाहरूका निम्ति सञ्चय गर्नुपर्छ। यसकारण मसित जे छन्, ती म तिमीहरूका निम्ति खुशीसित खर्च गर्नेछु; अनि म आफैँ पनि तिमीहरूका निम्ति खर्चिनेछु। यदि मैले तिमीहरूलाई धेरै प्रेम गरेँ भने के तिमीहरूले चाहिँ मलाई थोरै प्रेम गर्नेछौ? जे भए तापनि म तिमीहरूको बोझ भइनँ; तर पनि मैले चलाकी गरेर तिमीहरूलाई धूर्ततापूर्वक फसाएँ भनी भन्लान्! के मैले पठाएका कुनै मानिसद्वारा मैले तिमीहरूलाई शोषण गरेँ? मैले तीतसलाई तिमीहरूकहाँ जानलाई आग्रह गरेँ, र मैले हाम्रा भाइलाई तिनीसित पठाएँ। तीतसले तिमीहरूलाई शोषण गरेनन्, के त्यसो गरे त? के हामीले त्यही आत्मामा काम गरेर त्यही बाटो पहिल्याएनौँ र? हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्टमा भएकाहरूझैँ, हामीले परमेश्वरकै दृष्टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो। किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्ने मलाई डर लागेको छ। सायद मतभिन्नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्ने मलाई डर लागेको छ। म फेरि आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूको सामु होच्याउनु होला भन्ने मलाई डर लागेको छ। अनि म ती धेरै जनासित दुःखी हुनेछु, जसले पहिल्यै पाप गरेर पनि तिनीहरू संलग्न रहेका अशुद्धताबाट, यौन सम्बन्धी पापबाट र भ्रष्ट आचरणबाट पश्चात्ताप गरेका छैनन्।
२ कोरिन्थी 12:11-21 पवित्र बाइबल (NERV)
म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्। जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरें जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकि कार्यहरू देखाएँ। एकदमै धैर्यसित मैले ती कार्यहरू सम्पन्न गरें। कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफैं तिमीहरूकोलागि भार भइनँ। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ। तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटा-केटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ। यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैंलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ? यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूर्त्यंईं प्रयोग गरें। तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन। मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाएनन्। उनले उठाए? अँहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं। के यतिन्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ तर्क, डाह, रिस, झगड़ा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लन्जित पार्नु हुनेछ। धेरै जना ज-जसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजमर्दो कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला।
२ कोरिन्थी 12:11-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले नै मलाई मपाईं हुन कर लायौ। खासमा त तिमीहरूबाट नै मैले सम्मान पाउनुपर्थ्यो। म केही नभए पनि तिमीहरूले नै मेरो बारेमा केही भनिदिनुपर्नेथियो। ती ठूलाठूला प्रेरितभन्दा त म कम छैनँ। पूरा धैर्यसाथ शक्तिशाली र अचम्मका कामहरू गरेर मैले तिमीहरूका माझमा प्रेरित भएको प्रमाण दिएको हुँ। के मैले अरू मण्डलीभन्दा तिमीहरूलाई मेरो खर्च ब्यहोर्नुबाहेक कुनै कुरामा अरू मण्डलीभन्दा नराम्रो व्यवहार गरें? हो, मैले खर्च ब्यहोर्न लगाइनँ। यो मेरो गल्ती हो, यसमा माफ गर। म फेरि पनि तिमीहरूकहाँ आउन लागेको छु। यो तेस्रो पटक हुनेछ। तर तिमीहरूलाई कुनै खर्चको लागि दु:ख दिन्नँ। तिमीहरूसँग भएको चीज होइन, म तिमीहरूलाई नै चाहन्छु किनभने छोरा-छोरीबाट आमा-बुबाले होइन, आमा-बुबाबाट पो छोरा-छोरीले साँचेर राखेको अंश पाउँछन्। तिमीहरूको जीवनको लागि म सब कुरा खुसीले दिनेछु र आफ्नो जीवनसमेत दिनेछु। मैले तिमीहरूलाई धेरै माया गरें भने के तिमीहरू मलाई थोरै माया गर्छौ र? हाम्रो खर्च तिमीहरूले ब्यहोर्नुपरेन, यो तिमीहरूलाई नै थाहा छ। हुन त कसैकसैले मलाई चलाकी गर्यौ भन्लान्। के मैले पठाएका मानिसहरूद्वारा तिमीहरूबाट कुनै कुरो लिएँ? मैले तीतसलाई तिमीहरूकहाँ जानू भनें। उनको साथमा अरू भाइहरूलाई पनि पठाएको थिएँ। तीतसले तिमीहरूबाट कुनै कुरो लिए र? उनले र मैले एउटै ध्येयले एकै चालमा काम गरेनौं र? यतिका कुरा हामीले आफ्नो बचाउमा भनेका छौं भन्ने सम्झ्यौ होला। परमेश्वरकै सामुन्ने ख्रीष्टमा भएर हामी भन्छौं। हामीले गरेका सबै कुराहरू तिमीहरूकै फाइदाका लागि हुन्। म त्यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्लै भएको हुन्छु कि भन्ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्नै भलो खोज्ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ। अर्को पटक आउँदा मैले ती अघि नै पाप गर्ने र ती अशुद्ध काम, व्यभिचार गरेर पनि पछितो नगर्ने र पाप गर्नेका लागि शोक गर्नुपर्ला। यसरी परमेश्वरले मलाई तिमीहरूका सामुन्ने होच्याउनुहुन्छ कि भन्ने डर लागेको छ।