२ इतिहास 9:5-8
२ इतिहास 9:5-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। तर आएर आफ्नै आँखाले नदेखुञ्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएकी थिइनँ। साँच्चै, तपाईंको बुद्धिका महानताको आधा पनि मलाई बताइएको रहेनछ। तपाईंको विषयमा मैले सुनेका कुराभन्दा त तपाईं ज्यादै बढ़ी हुनुहुँदोरहेछ। तपाईंका मानिसहरू कति सुखी होलान्! तपाईंको सामुन्ने प्रतिदिन तपाईंको सेवामा हाजिर हुने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी! तपाईंसित प्रसन्न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। तपाईंका परमेश्वरले आफ्नो प्रेमको कारणले र सदासर्वदै रहन इस्राएललाई स्थिर गराउने इच्छा भएकोले तपाईंले न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईंलाई इस्राएलका राजा तुल्याउनुभएको छ।”
२ इतिहास 9:5-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ। तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्! याहवेह तपाईंको परमेश्वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।”
२ इतिहास 9:5-8 पवित्र बाइबल (NERV)
तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्। म यहाँ आएर आफ्नै आँखाले नदेखुन्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ। तपाईंका पत्नीहरू अनि अधिकारीहरू अति भाग्यमानी रहेछन्। तपाईंका ज्ञानका कुराहरू तिनीहरूले तपाईंको सेवा गर्दै सुन्न सक्ने छन्। परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईंसित प्रसन्न हुनुहुन्छ अनि परमप्रभु तपाईंका परमेश्वरका निम्ति शासन गर्न तपाईंलाई उहाँको सिंहासनमाथि राख्नु भएको छ। परमेश्वरले इस्राएललाई प्रेम गर्नु हुन्छ। इस्राएललाई सदा-सर्वदा सहयोग प्रदान गर्नु हुन्छ। यसकारण उहाँले तपाईंलाई इस्राएलमाथि न्याय र धार्मीकता पालन गर्ने राजा बनाउनु भयो।”
२ इतिहास 9:5-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनले राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्नो देशमा जे सुनेको थिएँ, ती सत्य रहेछन्! तर आफैं आई ती आफ्नै आँखाले नदेखेसम्म मैले विश्वास गर्न सकेकी थिइनँ। तपाईंको बुद्धिबारे मैले त आधा पनि सुनेको रहेनछु। मानिसहरूले भनेकोभन्दा तपाईं धेरै बुद्धिमान् हुनुहुन्छ। तपाईंको छेउमा सधैँ हाजिर रहने र तपाईंको बुद्धिका कुरा सुन्ने सौभाग्य पाउने तपाईंको चाकर कति भाग्यमानी छन्! परमप्रभु आफ्ना परमेश्वरको प्रशंसा गर्नुहोस्! उहाँ तपाईंसँग कति प्रसन्न हुनुहुन्छ, त्यो तपाईंलाई राजा बनाएर आफ्नो नाममा शासन गर्न लाउनुभएर देखाउनुभएको छ। उहाँले इस्राएलीहरूलाई प्रेम गर्नुहुन्छ र सदैव तिनीहरूको रक्षा गर्न चाहनुहुन्छ। यसैकारण तपाईंद्वारा कानुन र न्याय कार्यमा राखिऊन् भनी उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभएको हो।”