२ इतिहास 7:1-16

२ इतिहास 7:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब सोलोमनले यो प्रार्थना गरिसके तब स्‍वर्गबाट आगो झर्‍यो, र आगोले होमबलि र बलिदानहरू भस्‍म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो। परमप्रभुको महिमाले उहाँको मन्‍दिर भरिएकोले गर्दा पूजाहारीहरू त्‍यसभित्र पस्‍न सकेनन्‌। आगो झरिरहेको र परमप्रभुको महिमा मन्‍दिरमा बसिरहेको जब सबै इस्राएलीहरूले देखे, तब ढुङ्गाको पेटीमा तिनीहरू भूइँसम्‍मै घोप्‍टो परेर दण्‍डवत्‌ गर्दै यसो भनेर परमप्रभुलाई धन्‍यवाद दिए, “परमप्रभु भला हुनुहुन्‍छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” तब राजा र सबै मानिसहरूले परमप्रभुको सामुन्‍ने बलिदान चढ़ाए। राजा सोलोमनले बाईस हजार साँढ़े र एक लाख बीस हजार भेड़ाबाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्‍वरको मन्‍दिरलाई समर्पण गरे। पूजाहारीहरू र लेवीहरू पनि आफ्‍नो तोकिएको स्‍थानमा खड़ा भए, र दाऊद राजाले परमप्रभुलाई स्‍तुति गर्न र धन्‍यवाद दिनका निम्‍ति बनाएका बाजाहरू लिएर यसरी उनले परमप्रभुको प्रशंसा गरे, “उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” लेवीहरूका सामुन्‍ने पूजाहारीहरूले आ-आफ्‍नो तुरही बजाए। त्‍यस बेला सबै इस्राएलीहरू त्‍यहाँ खड़ा भइरहेका थिए। त्‍यसपछि सोलोमनले परमप्रभुका मन्‍दिरको सामुन्‍नेको चोकको मध्‍य भागलाई पवित्र गरे। त्‍यहाँ तिनले होमबलिहरू र मेलबलिहरूको बोसोको भाग चढ़ाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन्‌। यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्‍मको एक ठूलो समुदायले त्‍यस बेला सात दिनसम्‍म चाड़ मान्‍दैरहे। आठौँ दिनमा तिनीहरूले सभा राखे, किनभने तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड़चाहिँ अझ सात दिनसम्‍म मानेका थिए। सातौँ महिनाको तेईसौँ दिनमा सोलोमनले मानिसहरूलाई आ-आफ्‍नो घरमा जान बिदा गरे, र परमप्रभुले दाऊद र सोलोमन अनि आफ्‍नो प्रजा इस्राएललाई दिनुभएका सबै सुदिनको कारण तिनीहरू मनमा खुशी र आनन्‍द मनाउँदै गए। जब सोलोमनले परमप्रभुको मन्‍दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्‍दिर र आफ्‍नो राजमहलको निम्‍ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए, तब परमप्रभु राती तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनें, र यो स्‍थान मेरो निम्‍ति बलिदानको ठाउँ चुनें। “जब म आकाशको ढोका थुन्‍छु र पानी पर्दैन, अथवा देशलाई नष्‍ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्‍छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु, यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु। अब यस ठाउँमा गरिएका प्रार्थना ध्‍यानसित सुन्‍न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्‌। मेरो नाउँ सदासर्वदाको निम्‍ति त्‍यहाँ रहन मैले यस मन्‍दिरलाई चुनेको छु, र त्‍यसलाई पवित्र पारेको छु। मेरो दृष्‍टि र मेरो हृदय सधैँभरि त्‍यहाँ रहनेछ।

शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्

२ इतिहास 7:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

सोलोमनले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्‍यो; अनि त्यसले होमबलि र बलिदानहरूलाई भस्म पार्‍यो, तब त्यो मन्दिर याहवेहको महिमाले भरियो। पुजारीहरू याहवेहको मन्दिरभित्र पस्‍न सकेनन्; किनकि याहवेहको महिमाले त्यो मन्दिर ढाकिएको थियो। जब इस्राएलीहरूले आगो झरेको र त्यस मन्दिरमाथि याहवेहको महिमा आएको देखे, तब तिनीहरू भुइँमा घोप्टो परे; अनि दण्डवत् गरेर याहवेहलाई धन्यवाद दिँदै यसो भने, “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” त्यसपछि राजा र सबै मानिसहरूले याहवेहको सामु बलिदानहरू चढाए। राजा सोलोमनले बाइस हजार बहर र एक लाख बीस हजार भेडाबाख्रा बलि चढाए। यसरी राजा र ती मानिसहरूले परमेश्‍वरको मन्दिरलाई समर्पण गरे। पुजारीहरूले, लेवीहरूले झैँ याहवेहको वाद्य-वादनसित आ-आफ्ना स्थानमा उभिए, जुन वाद्य-वादनहरू राजा दावीदले याहवेहको प्रशंसा गर्नलाई बनाएका थिए; अनि दावीदले धन्यवाद दिँदा, “उहाँको प्रेम सदासर्वदा रहिरहन्छ” भन्दै ती वाद्य-वादनलाई तिनले प्रयोग गरेका थिए। लेवीहरूका सामु नै पुजारीहरूले आफ्ना तुरही फुके, र सबै इस्राएलीहरू उभिरहे। सोलोमनले याहवेहको मन्दिरको सामु भएको चोकको बीच भागलाई पवित्र गरे; अनि त्यहाँ होमबलि र मेलबलिहरूका बोसो चढाए; किनकि तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोको भाग अटाएनन्। यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले। आठौँ दिनमा तिनीहरूले एउटा सभा राखे; किनकि तिनीहरूले सात दिनसम्म वेदीको अर्पणको उत्सव मनाए र अरू सात दिनसम्म चाड मनाए। सातौँ महिनाको तेईसौँ दिन तिनले मानिसहरूलाई बिदा दिए; अनि तिनीहरू याहवेहले दावीद, सोलोमन र उहाँको प्रजा इस्राएलका निम्ति गर्नुभएको असल कुराहरूका कारण आनन्दले पूर्ण र हृदयमा हर्षित भएका थिए। सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए। तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ। “मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा, यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्‍ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु। अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्‍ला र कान सतर्क रहनेछन्। मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्।

शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्

२ इतिहास 7:1-16 पवित्र बाइबल (NERV)

जब सुलेमानले प्रार्थना पूर्ण गरे तब आकाशबाट आगो झर्यो अनि होमबलि र बलिदानहरूलाई जलाइ दियो। परमप्रभुको महिमाले मन्दिर भरियो। परमप्रभुको महिमाले भरिएको हुनाले पूजाहारीहरू मन्दिर भित्र पस्न सकेनन्। इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए, “परमप्रभु असल हुनुहुन्छ। उहाँको करूणा सदा-सर्वदा चलिरहन्छ।” त्यस पछि राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले परमप्रभुको समक्ष बलिदान चढाए। राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेंडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो। पूजाहारीहरू आफ्ना कार्य गर्न तयार खडा भए। लेवीहरू पनि परमप्रभुको सँगीतका यन्त्रहरू सहित खडा भए। ती यन्त्रहरू परमप्रभुको धन्यवाद चढाउनका निम्ति राजा दाऊदले बनाएका थिए। पूजाहारी अनि लेवीहरूले गाउँदै परमप्रभुको स्तुति गरे किनभने उहाँको प्रेम सदा सर्वदा चलिरहन्छ। लेवीहरू देखि अर्को तिर पूजाहारीहरू उभिंदै तिनीहरूले आफ्ना तुरही बजाए। अनि इस्राएलका सबै मानिसहरू उभिएका थिए। सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुन्ने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए। सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए। आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए। सातौं महीनाको तेईसौं दिनमा सुलेमानले मानिसहरूलाई घर फर्काइ पठाए। मानिसहरू अत्यन्तै हर्षित थिए अनि तिनीहरूको हृदय आनन्दले परिपूर्ण थियो, किनभने परमप्रभु दाऊद प्रति, सुलेमान प्रति अनि आफ्ना इस्राएली मानिसहरू प्रति अत्यन्त असल हुनुहुन्थ्यो। सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु। जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु। अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्। मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।

शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्

२ इतिहास 7:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सोलोमन राजाले प्रार्थना गरिसक्‍दा स्‍वर्गबाट आगो आएर वेदीमा चढाइएका बलिहरू भस्‍म पार्‍यो अनि परमेश्‍वरको उपस्‍थितिको कारण आँखा तिरमिराउने ज्‍योतिले मन्‍दिर भरियो। औधी चम्‍किलो ज्‍योति मन्‍दिरमा भरिएको हुनाले पूजाहारी भित्र पस्‍न सकेनन्। स्‍वर्गबाट आगो झरेको र ज्‍योतिले मन्‍दिर भरिएको देखेर इस्राएलका मानिसहरू भूइँमा घोप्‍टो परेर प्रणाम गरे अनि परमेश्‍वरका भलाइ र अनन्‍त प्रेमको लागि उहाँको प्रशंसा गर्दै आराधना गरे। त्‍यसपछि सोलोमन र सबै प्रजाले परमप्रभुलाई बलि चढाए। तिनले २२,००० साँढे र १,२०,००० भेडा मेलबलि चढाए। यसरी सबै मानिसहरूसाथ तिनले मन्‍दिर अर्पण गरे। पूजाहारीहरू आफ्‍ना निम्‍ति खटाइएका ठाउँमा खडा भए। तिनीहरूकै सामुन्‍नेमा लेवीहरू उभिएका थिए। दाऊद राजाले प्रबन्‍ध गरिदिएका बाजाहरूका साथ र तिनैले खटाएअनुसार “उहाँको प्रेम अनन्‍त छ!” भन्‍ने भजन गाउँदै तिनीहरू खडा थिए। पूजाहारीहरूले तुरही बजाउँदै थिए अनि सबै जन-समुदाय खडा थियो। सोलोमनले मन्‍दिरको सामुन्‍नेमा चोकको बीच भागलाई अर्पण गरे र त्‍यहाँ होमबलि, अन्‍नबलि र मेलबलिका बोसोबलि चढाए। तिनले बनाएका काँसाको वेदी सबै बलि चढाउन सानो हुनाले तिनले त्‍यसो गरे। सोलोमन र सारा इस्राएलका मानिसहरूले सात दिनसम्‍म छाप्रो बासको चाड मनाए। मानिसहरूको एउटा ठूलो भीड थियो। मानिसहरू उत्तरमा लेवो-हमातको घाटी अनि दक्षिणमा मिश्रका सिमाना— जस्‍ता टाढा-टाढाबाट आएका थिए। तिनीहरूले सात दिन वेदीको अर्पण गर्ने काममा र अरू सात दिन छाप्रो बासको चाड मनाउन बिताए। अन्‍तिम दिनमा तिनीहरूले आखिरी उत्‍सव मनाए अनि भोलिपल्‍ट सातौँ महिनाको तेईसौँ दिन सोलोमनले मानिसहरूलाई घर फर्काए। परमप्रभुले आफ्‍ना प्रजा इस्राएल, दाऊद र सोलोमन राजालाई दिनुभएको आशीर्वादको निम्‍ति तिनीहरू प्रसन्‍न थिए। सोलोमन राजाले मन्‍दिर र महल बनाइसके। त्‍यसपछि तिनले बनाएका योजना सफलतापूर्वक पूरा गरे। त्‍यसपछि एक रात परमप्रभुले तिनलाई दर्शन दिनुभयो र भन्‍नुभयो, “मैले तेरो प्रार्थना सुनें। यो मन्‍दिर मलाई बलि चढाउने स्‍थान हो भनी म स्‍वीकार गर्छु। जहिले-जहिले म वर्षा बन्‍द गर्छु वा अन्‍नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु, त्‍यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्‍चात्ताप गरेर आफूले गरेका दुष्‍कर्महरू त्‍यागे भने म स्‍वर्गमा तिनीहरूको बिन्‍ती सुन्‍नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु। म यस मन्‍दिरको रखवाली गर्नेछु र यहाँ चढाइएका सबै प्रार्थनाहरू सुन्‍न तयार रहनेछु किनभने मैले यस मन्‍दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्‍थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु।

शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्