२ इतिहास 24:1-27
२ इतिहास 24:1-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योआश राजगद्दी आरोहण गर्दा सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमा बेर्शेबाकी सिब्या थिइन्। यहोयादा पूजाहारी बाँचुञ्जेल तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। यहोयादाले तिनको निम्ति दुई वटा पत्नीहरू चुने, अनि तिनका छोराछोरीहरू भए। यसको केही समयपछि योआशले परमप्रभुको मन्दिरको मरम्मत गर्ने विचार गरे। तिनले पूजाहारी र लेवीहरूलाई भेला गरेर भने, “यहूदाका सहरहरूमा गएर सबै इस्राएलीहरूबाट परमप्रभुको मन्दिरका पुनर्निर्माणको निम्ति वर्षेनी दिने रकम जम्मा गर। अनि यो काम झट्टै गरिहाल।” तर लेवीहरूले त्यो काम झट्टै गरेनन्। यसकारण राजाले प्रधान पूजाहारी यहोयादालाई बोलाएर भने, “किन गवाही-पाटीको पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको तिरो यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूसँग तपाईंले माग्नुभएको छैन?” अब ती दुष्ट अतल्याहका छोराहरूले परमप्रभुको मन्दिरभित्र पसेर त्यहाँका सबै पवित्र थोकहरू बाल देवताहरूको पूजामा उपयोग गरेका थिए। राजाले तिनीहरूलाई एउटा सन्दूक बनाएर परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्ने हुकुम गरे। अनि तिनले यहूदा र यरूशलेमभरि नै यस्तो घोषणा गरे, कि परमेश्वरका दास मोशाले उजाड़-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ। अनि सबै अधिकारीहरू र मानिसहरूले खुशीसित आ-आफ्नो रकम ल्याएर सन्दूक नभरुञ्जेल त्यसमा हाले। लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँदा तिनीहरूले त्यो राम्ररी भरिएको हेर्थे। तब राजाका सचिव र प्रधान पूजाहारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे। तिनीहरूले दिनहुँ त्यसै गर्थे। यसरी तिनीहरूले धेरै रुपियाँपैसा सञ्चय गरे। राजा र यहोयादाले त्यो पैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिन्थे। तिनीहरूले चाहिँ मन्दिरको पुनर्निर्माण गर्न ज्यालामा लगाएका डकर्मी र सिकर्मीहरूलाई, र मन्दिरको मरम्मत गर्न फलाम र काँसाको काम गर्ने कारीगरहरूलाई दिन्थे। यसरी कामदारहरूले आफ्ना काम गर्न लागे, र तिनीहरूकै हातमा यस मरम्मतका कामको उन्नति भयो। तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरेर त्यसलाई पक्का बनाए। तिनीहरूले यो काम सिद्ध्याएपछि उब्रेको पैसाचाहिँ राजा र यहोयादाकहाँ ल्याएर दिए। ती पैसाबाट परमप्रभुका मन्दिरको निम्ति भाँड़ाहरू बनाइए— सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँड़ाहरू, र अरू सुन र चाँदीका भाँड़ाहरू। यहोयादा बाँचुञ्जेल तिनीहरू परमप्रभुको मन्दिरमा होमबलि निरन्तर चढ़ाउने गर्थे। यहोयादा वृद्ध र दीर्घायु भएर एक सय तीस वर्षका उमेरमा मरे। तिनी दाऊदको सहरमा राजाहरूकै चिहानमा गाड़िए, किनभने तिनले इस्राएलमा परमेश्वर र उहाँका मन्दिरको निम्ति असल काम गरेका थिए। यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजालाई दण्डवत् गर्न आए, अनि राजाले तिनीहरूका कुरा सुने। तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको मन्दिर त्यागेर अशेरा देवीका खम्बाहरू र अरू मूर्तिहरूलाई पुजे। यस दोषले गर्दा यहूदा र यरूशलेममाथि परमेश्वरको क्रोध आइपर्यो। तर तिनीहरूलाई आफैकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो। ती अगमवक्ताहरूले तिनीहरूको दोष देखाइदिए, तर तिनीहरूले अगमवक्ताहरूका कुरा सुनेनन्। तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामाथि उत्रनुभयो। तिनी मानिसहरूका अगि खड़ा भएर भने, “परमप्रभु यो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ’।” तर तिनीहरूले जकरियाको विरुद्धमा षड्यन्त्र रचे, र राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे। राजा योआशले जकरियाका पिता यहोयादाको राजभक्तिलाई सम्झेनन्, तर तिनका छोरालाई मारे। मर्ने बेलामा जकरियाले यसो भने, “परमप्रभुले यो देखून्, र त्यहीअनुसारको दण्ड देऊन्।” त्यही वर्षको अन्त्यमा अरामी सेना योआशको विरुद्धमा आयो। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरेर मानिसहरूका सबै नायकहरूलाई मारे। तिनीहरूले आफ्ना सबै लूटका माल दमस्कसका राजाकहाँ पठाइदिए। अरामीहरूको एक सानो फौजले मात्र आक्रमण गरे, तापनि परमप्रभुले इस्राएलको एक ठूलो सेनालाई उनीहरूका हातमा सुम्पिदिनुभयो। यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका हुनाले, योआशमाथि उचित दण्ड आइपर्यो। राजालाई साह्रै घाइते बनाएर अरामीहरू गएपछि पूजाहारी यहोयादाका छोराको मृत्युको साटो लिन राजाका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, अनि तिनीहरूले राजालाई तिनको ओछ्यानमा नै मारे। यसरी तिनी मरे, र दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा चाहिँ होइन। ती षड्यन्त्रकारीहरूचाहिँ अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद थिए। योआशका सन्तानको विवरण, तिनको विषयमा धेरै ईश्वरवाणी, र परमेश्वरको मन्दिर तिनले पुनर्निर्माण गरेका विषय राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
२ इतिहास 24:1-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजा हुँदा योआश सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्। योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए। केही समयपछि योआशले याहवेहको मन्दिर मर्मत गर्ने निश्चय गरे। तिनले पुजारीहरू र लेवीहरूलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “यहूदाका सहरहरूमा गएर सारा इस्राएलीहरूबाट वर्षेनी परमेश्वरको मन्दिर मर्मत गर्ने रकम बटुल्नुहोस्। यो काम छिट्टै गरिहाल्नू।” तर लेवीहरूले झट्टै काम गरेनन्। यसकारण राजाले मुख्य पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “याहवेहको सेवक मोशा र इस्राएलको समुदायले साक्षी पाटीको पालको निम्ति तोकिएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी किन लेवीहरूलाई कर लाउनुभएन?” त्यस बेला त्यस दुष्ट स्त्री अतल्याहका छोराहरू परमेश्वरको भवनभित्र जबरजस्ती पसे; अनि त्यसका पवित्र चीजहरू पनि बालहरूको निम्ति प्रयोग गरेका थिए। राजाको आदेशमा एउटा बाकस बनाइयो, र त्यसलाई याहवेहको भवनको मूलढोकामा बाहिर राखियो। त्यसपछि यहूदा र यरूशलेममा याहवेका निम्ति कर ल्याउनुपर्छ भनी घोषणा गरियो, जुन कर परमेश्वरका जन मोशाले इस्राएलमाथि उजाडस्थानमा लगाएका थिए। सबै अधिकृतहरू र मानिसहरूले आ-आफ्ना भेटी बाकस नभरुन्जेल खुशीसाथ त्यसमा हालिरहे। लेवीहरूले जहिले पनि त्यो बाकस राजाका अधिकृतहरूकहाँ ल्याउँथे, र तिनीहरूले त्यहाँ धेरै रकम भएको देख्थे। राजकीय सचिव र मुख्य पुजारीका अधिकृत आएर त्यो बाकस खाली गरेर त्यसलाई त्यसकै ठाउँमा राखिदिन्थे। तिनीहरूले नियमित रूपले त्यसो गरे, र ठूलो रकम जम्मा गरे। राजा र यहोयादाले त्यो रकम याहवेहको भवनको निम्ति काम गर्ने मानिसहरूलाई दिए। तिनीहरूले याहवेहको भवन पुनर्निर्माण गर्नको लागि डकर्मीहरू, सिकर्मीहरू, र मन्दिर मर्मत गर्नको लागि फलाम र काँसाका काम गर्नेहरूलाई पनि ज्यालामा लिए। काम जिम्मा लिएका मानिसहरू उद्यमी थिए, र तिनीहरूको अधीनमा काम अगि बढ्यो। तिनीहरूले परमेश्वरको भवन त्यसको पहिलेको नमुनाअनुसार पुनर्निर्माण गरे, र थप बलियो बनाए तिनीहरूले सिद्ध्याएपछि बाँकी रहेको रकम राजा र यहोयादाकहाँ ल्याए। अनि त्यसबाट याहवेहको भवनका सामग्रीहरू, सेवाका निम्ति र होमबलिका निम्ति सामग्रीहरू, सुन र चाँदीका थाल, कचौरा र अरू चीजहरू बनाइए। यहोयादा बाँचुन्जेल याहवेहको भवनमा होमबलि चढाउने काम भइरह्यो। जब यहोयादा वृद्ध भए, तब तिनी एक सय तीस वर्षको उमेरमा मरे। तिनले परमेश्वर र उहाँको भवनका निम्ति इस्राएलमा असल काम गरेकाले तिनी राजाहरूसित दावीदको सहरमा गाडिए। यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने। तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरको भवनलाई त्यागे; अनि अशेरा देवीका खम्बाहरू र मूर्तिहरूलाई पुजे। तिनीहरूका दोषको कारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आयो। याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्। तब याहवेहको आत्मा पुजारी यहोयादाका छोरा जकरियाकहाँ आउनुभयो। मनिसहरूको सामु खडा भएर तिनले भने, “परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू याहवेहका आज्ञाहरू किन उल्लङ्घन गर्छौ? तिमीहरूको उन्नति हुनेछैन। तिमीहरूले याहवेहलाई त्यागेका छौ, यसकारण उहाँले पनि तिमीहरूलाई ल्याग्नुभएको छ।’ ” तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र राजाको आज्ञाअनुसार तिनीहरूले उनलाई याहवेहको मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे। राजा योआशले जकरियाका पिता यहोयादाले तिनीप्रति देखाएको दया सम्झेनन्, तर तिनका छोरालाई मारे। अनि मर्ने बेला तिनले यसो भने, “याहवेहले यो देखून्, तपाईंसित त्यही अनुसारको लेखा लिऊन्।” त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए। अरामी फौजमा थोरै मानिसहरू थिए; तापनि याहवेहले तिनीहरूका हातमा एउटा धेरै ठूलो फौजलाई सुम्पिदिनुभयो। यहूदाले याहवेह आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेको कारण योआशमाथि न्याय पर्न गयो। अरामीहरू हटेर जाँदा तिनीहरूले योआशलाई घाइते अवस्थामा छोडे। तिनका अधिकृतहरूले पुजारी यहोयादाका छोरा जकरियाको हत्याको कारण तिनको विरुद्धमा षड्यन्त्र गरे, तब तिनलाई आफ्ना पलङमै मारे। यसरी तिनी मरे, र दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा गाडिएनन्। तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद। तिनका छोराहरूको विवरण र तिनको विषयमा भएका धेरै अगमवाणीहरू र परमेश्वरको भवनको पुनर्निर्माणको विषयमा राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
२ इतिहास 24:1-27 पवित्र बाइबल (NERV)
योआश सात बर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस बर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्। योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे। यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए। तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे। योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति बर्ष तिर्ने धन सँग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्। यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।” विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्। राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे। तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो। समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन। तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यसकै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन सँग्रह गरे। तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए। मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए। जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे। यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 बर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो। मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे। यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने। राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए। परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे। परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।’” तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुन्जेल मानिसहरूले तिनलाई ढुङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे। राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।” बर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए। अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए। जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ। ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्। योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू सम्बन्धी व्याख्या नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।
२ इतिहास 24:1-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सात वर्षको उमेरमा योआश यहूदाका राजा भए र उनले चालीस वर्ष यरूशलेममा राज्य गरे। उनकी आमा बेर्शेबा सहरकी सिब्या थिइन्। यहोयादा पूजाहारी जीवित रहुञ्जेल योआशले परमप्रभुलाई खुसी पार्ने काम गरे। योआश राजाको निम्ति यहोयादाले दुई वटी स्वास्नीहरू चुने र तिनीहरूबाट उनका छोरा-छोरीहरू जन्मे। राजा भएको केही समयपछि योआशले मन्दिर मरमत गर्ने निश्चय गरे। उनले पूजाहारी र लेवीहरूलाई यहूदाका सहरहरूमा गई हरेक वर्ष मन्दिर मरमत गर्नलाई पुग्दो रकम जम्मा गर्न आज्ञा दिए। त्यो काम झट्टै गर्न उनले भने तर लेवीहरूले ढीलो गरिबसे र तिनीहरूका अगुवा यहोयादालाई बोलाएर उनले सोधे, “परमप्रभुको सेवक मोशाले परमप्रभुले बास गर्ने पवित्र पालको रेख-देखको लागि मानिसहरूले तिर्न तोकेका कर यरूशलेम र यहूदाका मानिसहरूबाट किन लेवीहरूलाई उठाउन लाउनुभएको छैन?” भ्रष्टाचारी अतल्याहको पछि लाग्नेहरूले मन्दिर बिगारेका थिए र त्यसका धेरै पवित्र वस्तुहरू बालको आराधना गर्दा चलाउने गरेका थिए।) राजाले लेवीहरूलाई पैसा हाल्ने सन्दुक बनाएर मन्दिरको मूल-ढोकामा राख्ने आज्ञा दिए। परमेश्वरका सेवक मोशाले सुरु गरेर उजाड-स्थानमा उठाएको कर अब फेरि परमप्रभुकहाँ लिएर आउन तिनीहरूले सम्पूर्ण यहूदा र यरूशलेममा खबर गरे। त्यो कुरा सुनेर मानिसहरू र तिनीहरूका अगुवाहरू सबै खुसी भए र आ-आफ्ना कर लिएर आई सन्दुक भरिदिए। हरेक दिन लेवीहरूले सन्दुक बोकेर त्यसका निम्ति खटाइएका राजाका अधिकृतकहाँ पुर्याउँथे। सन्दुक भरिएपछि राजाका सचिव र मुख्य पूजाहारीका प्रतिनिधिहरूले पैसा निकाल्थे र सन्दुक त्यस ठाउँमा फर्काइदिन्थे। यसरी तिनीहरूले ठूलो रकम जम्मा गरे। राजा र यहोयादाले मन्दिर मरमत गर्ने जिम्मा लिएका मानिसहरूलाई पैसा दिन्थे र तिनीहरूले ज्यालामा ढुङ्गा, काठ र धातुका काम गर्नेहरूलाई मन्दिर मरमत गर्ने काममा लाउँथे। काम गर्नेहरू सबै खटेर काम गर्थे। तिनीहरूले मन्दिर बनाएर पहिलेको जस्तै अवस्थामा फेरि पुर्याए र त्यस्तै बलियो बनाए। मरमत गरिसकेपछि उब्रेका सुन, चाँदी राजा र यहोयादालाई फर्काइदिए। तिनीहरूले ती सुन र चाँदीबाट मन्दिरको निम्ति बटुका र अरू भाँडा-कुँडा बनाउन लाए। यहोयादा बाँचुञ्जेल ठीक प्रकारले मन्दिरमा बलिदानहरू चढाइन्थे। धरै बुढो भई एक सय तीस वर्ष उमेर पुगेपछि उनी मरे। इस्राएलका प्रजा, परमेश्वर र मन्दिरका निम्ति उनले गरेका कामहरूबारे मान्यता दिएर तिनीहरूले उनलाई दाऊदको सहरका राजाहरूको चिहानमा गाडे। तर यहोयादा मरेपछि यहूदाका अगुवाहरूले आफ्ना कुरा सुन्न योआश राजालाई बाध्य गराए। यसरी मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई मन्दिरमा पुज्न थाले। तिनीहरूले अशेरा देवी र अरू देवताका मूर्तिहरू पुज्न थाले। तिनीहरूका पापका कारणले यहूदा र यरूशलेममाथि परमप्रभुको क्रोध पर्यो। परमप्रभुले आफूकहाँ फर्कन चेतावनी दिन अगमवक्ताहरू पठाउनुभयो तर मानिसहरूले तिनीहरूका कुरा सुनेनन्। तब परमेश्वरका आत्मा पूजाहारी यहोयादाका छोरा जकरियामा उत्रिआउनुभयो। उनी मानिसहरूले देख्ने ठाउँमा उभिए र यसरी भने, “किन तिमीहरूले मेरा आज्ञा मानेनौ र यो विनाश आफूमाथि ल्यायौ भनी परमप्रभु परमेश्वर सोध्नुहुन्छ। तिमीहरूले उहाँलाई त्याग्यौ र उहाँले तिमीहरूलाई त्याग्नुभएको छ!” जकरियाको विरुद्धमा भएको षड्यन्त्रमा योआश राजाले साथ दिए र राजाका आज्ञाले मानिसहरूले जकरियालाई मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे। जकरियाका पिता यहोयादाले गरेका राजभक्तिको सेवा राजाले बिर्से र जकरियालाई मार्न लाए। मर्ने बेलामा उनले यसरी कराएर भने, “तिमीहरूले के गरिरहेका छौ, सो परमप्रभुले देखून् र तिमीलाई दण्ड देऊन्!” त्यो वर्ष बसन्त ऋतुमा अरामी सेनाले यहूदा र यरूशलेममा हमला गरे। त्यहाँका सबै अगुवाहरूलाई मारे र लुटका धेरै सामान दमस्कसमा लगे। अरामी सेना सानो थियो तर परमप्रभुले तिनीहरूलाई आफूभन्दा धेरै ठूलो यहूदाका सेनामाथि विजय दिनुभयो किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। योआश राजाले त्यसरी दण्ड पाए। उनलाई ठूलो चोट लाग्यो। शत्रुहरू फर्किगएपछि आफ्नै दुई जना भारदारहरूले उनको विरुद्धमा जाल रचे र सुतेकै ठाउँमा उनलाई मारे। यसरी तिनीहरूले पूजाहारी यहोयादाका छोराको हत्याको बदला लिए। उनलाई दाऊदको सहरमा त गाडे तर राजाको चिहानमा राखेनन्। उनको विरुद्धमा जाल गर्नेहरू यी थिए– शिम्मत नाम गरेकी एउटी अम्मोनी स्त्रीका छोरा जाबाद र शिम्रित नाम गरेकी एउटी मोआबी स्त्रीका छोरा यहोजाबाद।) राजाहरूका पुस्तकहरूमाथि भएका टीका-टिप्पणीका पुस्तकमा योआशका छोराहरू, उनको विरुद्धमा भएका अगमवाणी र उनले कसरी मन्दिर फेरि नयाँ गरी बनाएका थिए, तीबारे वर्णन गरिएको छ। उनीपछि उनका छोरा अमस्याह राजा भए।