१ तिमोथी 3:1-7

१ तिमोथी 3:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यो भनाइ विश्‍वासयोग्‍य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्‍यसले असलै कामको इच्‍छा गर्छ। यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्‍ने, एउटै पत्‍नीका पति, संयमी, समझदार, सम्‍मानित, अतिथिसत्‍कार गर्ने, सुयोग्‍य शिक्षक होऊन्, मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने, आफ्‍नो घर राम्ररी चलाउन सक्‍ने र आफ्‍ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्‌। यदि कुनै मानिसले आफ्‍ना घरकाहरूलाई तह लगाउन जान्‍दैन भने, तिनले परमेश्‍वरका मण्‍डलीको रेखदेख कसरी गर्न सक्‍छ र? तिनी नयाँ विश्‍वासी नहोऊन्, नत्रता घमण्‍डले फुलेर तिनी दियाबलसले पाउने दण्‍डमा पर्नेछन्‌। फेरि, बाहिरकाहरूका दृष्‍टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्‍दा र दियाबलसको पासोमा पर्नेछन्‌।

शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्

१ तिमोथी 3:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यो वचन विश्‍वासयोग्य छ: यदि कसैले अध्यक्ष हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ। अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ। मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ। तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्‍चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ। यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्‍वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र? तिनी भर्खर विश्‍वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्। तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।

शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्

१ तिमोथी 3:1-7 पवित्र बाइबल (NERV)

म जे भन्छु त्यो साँच्चो होः यदि कसैले मण्डलीको अगुवा हुने इच्छा गर्छ भने उसले राम्रो कामको इच्छा गरेको हो। अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ। उसले अति धेरै दाखरस पिउनु हुँदैन र झगडालु पनि हुनु हुँदैन। ऊ विनयी अनि शान्त हुनु पर्छ। ऊ पैसाको लोभी हुनु हुँदैन। ऊ आफ्नो परिवारलाई असलसित अगुवाइ गर्नमा योग्य हुनुपर्छ। मतलब उसका छोरा-छोरीहरूले पूर्ण आदरपूर्वक उसको आज्ञा पालन गर्नुपर्छ। यदि ऊ आफ्नो परिवारको अगुवाइ गर्न अयोग्य भए, उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्ला। अगुवा नव-परिवर्तित विश्वासी हुनुहुँदैन। नत्र ऊ स्वयं घमण्डी बन्नेछ। तब उसको घमण्डका निम्ति दुष्टात्मालाई दण्ड दिए झैं उसलाई पनि दण्ड दिइनेछ। ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब ऊ अरूद्वारा आलोचित हुने छैन अनि ऊ शैतानको जालमा पर्ने छैन।

शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्

१ तिमोथी 3:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कसैले मण्‍डलीका देखरेख गर्ने काममा इच्‍छा राख्‍छ भने त्‍यसको विचार राम्रो हो। हो, यो साँचो कुरो हो। यस्‍तो देखरेख गर्ने मानिस कुनै दोषबिनाको हुनुपर्छ। उसले एउटै मात्र स्‍वास्‍नी विवाह गरेको हुनुपर्छ। ऊ आफैंलाई वशमा राख्‍ने, आफ्‍नो मनलाई अधीनमा राख्‍ने र राम्रो चालचलन भएको हुनुपर्छ। उसले अतिथिसत्‍कार गर्नुपर्छ र शिक्षा दिन सक्‍नुपर्छ। मारपिट गर्ने, मात्तिने हुनुहुँदैन। तर ऊ त सहने र शान्‍त स्‍वभावको र पैसाको लोभ नगर्ने हुनुपर्दछ। ऊ आफ्‍नै घर राम्ररी चलाउन सक्‍ने, आफ्‍ना छोराछोरीहरूलाई राम्ररी तह लाउन सक्‍ने हुनुपर्छ किनभने आफ्‍नो घरलाई नै राम्ररी चलाउन नसक्‍नेले कसरी मण्‍डलीको हेर-विचार गर्न सक्‍ला र? त्‍यस्‍तो मानिस भरखर विश्‍वास गर्ने सिकारु पनि हुनुहुँदैन। नत्र ऊ घमण्‍डले फुलेर शैतानझैँ दण्‍डमा परेर पतन हुनेछ। हेर-विचार गर्ने मानिसले मण्‍डली मात्र होइन, मण्‍डलीबाहिर पनि मान पाएका हुनुपर्छ। त्‍यसो भए मात्र उसलाई मानिसहरूले निन्‍दा गर्नेछैनन् र शैतानको जालमा पनि पर्नेछैन।

शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्