१ थेसलोनिकी 3:6-13

१ थेसलोनिकी 3:6-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर अहिले तिमोथी तिमीहरूकहाँबाट हामीकहाँ आएर तिमीहरूको विश्‍वास र प्रेमको असल खबर हामीलाई सुनाए। तिमीहरूले हामीलाई भेट्‌न ज्‍यादै इच्‍छा गरी सधैँ प्रेमसँग हाम्रो सम्‍झना गर्दछौ भन्‍ने खबर तिनले दिए। हामी पनि तिमीहरूलाई भेट्‌न त्‍यतिकै चाहना गर्दछौं। त्‍यसैकारण भाइ हो, तिमीहरूका विश्‍वासको कारणले हाम्रा सारा दुःख र क्‍लेशमा तिमीहरूका विषयमा हामीले सान्‍त्‍वना पाएका छौं। किनकि यदि तिमीहरू प्रभुमा दह्रिला रह्यौ भने हामी जीवित रहन्‍छौं। सबै आनन्‍द जो तिमीहरूका खातिर परमेश्‍वरमा हामी अनुभव गर्छौं त्‍यसको निम्‍ति र तिमीहरूका लागि हामी परमेश्‍वरलाई के धन्‍यवाद दिन सक्‍छौं र? तिमीहरूलाई आमनेसामने भेटेर तिमीहरूका विश्‍वासको कमी पूरा गर्ने हेतुले हामी दिनरात जोशका साथ प्रार्थना गर्छौं। अब हाम्रा परमेश्‍वर र पिता स्‍वयम्‌ले र हाम्रा प्रभु येशूले तिमीहरूकहाँ आउने हाम्रो बाटो खोलिदेऊन्‌। जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्‍यसरी नै प्रभुले तिमीहरूलाई एकले-अर्कासँग र सबै मानिससँग प्रेममा बढ्‌ने र प्रशस्‍त भइरहने तुल्‍याऊन्, यस हेतुले कि उहाँका सबै सन्‍तहरूका साथमा हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने तिमीहरूका हृदय पवित्र र निष्‍खोट तुल्‍याई स्‍थिर गराऊन्‌।

१ थेसलोनिकी 3:6-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्‍वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैँ हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौँ; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्ने उत्कट इच्छा राखेका छौ भन्‍ने खबर तिनले दिएका छन्। यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ। तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ। तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्‍वरलाई कसरी पर्याप्‍त रूपमा धन्यवाद चढाउन सक्छौँ र? हामीले तिमीहरूलाई फेरि भेट्न सकौँ र तिमीहरूका विश्‍वासमा कमी भएको कुरा पूरा गर्न सकौँ भनेर हामीले उत्सुकताका साथ रातदिन प्रार्थना गरिरहेका छौँ। हाम्रा परमेश्‍वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदेऊन्। जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्। हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्‍वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।

१ थेसलोनिकी 3:6-13 पवित्र बाइबल (NERV)

तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैँ सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ। यसकारण, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं। तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ। तिमीहरूको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ। हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं। हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ। हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर। तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।

१ थेसलोनिकी 3:6-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर तिमोथी भरखरै तिमीहरूलाई भेटेर आइपुगेका छन्। तिमीहरूमा अझ पनि गहिरो प्रेम र विश्‍वास छ भनेर उनले सुसमाचार ल्‍याए। हामीले जस्‍तै तिमीहरूले पनि हामीलाई भेट्‍ने ठूलो इच्‍छा राखेर सम्‍झिरहेका रहेछौ। दाजुभाइहरू, तिमीहरूका विश्‍वासको खबर सुनेर निराश र दु:खमा परेको बेलामा पनि हामीलाई खुसी लागेको छ किनभने तिमीहरू दिगो भएर प्रभुमा विश्‍वास गर्छौ भन्‍ने सुन्‍दा हामीहरूलाई साँच्‍चै जीवन पाएजस्‍तै भयो। तिमीहरूकै कारणले हामी हाम्रा परमेश्‍वरका सामु आनन्‍द मनाउँदछौं। यसको लागि त परमेश्‍वरलाई हामीले जति धन्‍यवाद दिए पनि थोरै हुन्‍छ। तिमीहरूसँग भेट हुन सकोस् भनेर हामीले रातदिन परमेश्‍वरसँग प्रार्थना गरिरहेका छौं। भेट हुन पाए तिमीहरूका विश्‍वासमा जेजे कुराको कमी छ, त्‍यो पूरा हुन सक्‍ने थियो। हाम्रा परमेश्‍वर पिता र प्रभु येशूले नै हामीहरूलाई तिमीहरूकहाँ पुर्‍याइदिनुहुन्‍छ भन्‍ने आशा राखेका छौं। हामीले तिमीहरूलाई माया गरेझैँ प्रभुले तिमीहरूलाई पनि एक-अर्का र सबै मानिसप्रतिको मायामा झन्-झन् बढाउनुभएको चाहन्‍छौं। उहाँले यो माया दिएर हाम्रा प्रभु येशू आफ्‍ना पवित्र जनहरूसँग आउँदा हाम्रा परमेश्‍वर पिताको अघि पवित्रतामा निर्दोष हुन तिमीहरूका हृदयलाई स्‍थिर बनाउनुभएको होस्।