१ शमूएल 23:7-29
१ शमूएल 23:7-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊद कीलाहमा गएका छन् भनी कसैले शाऊललाई भनिदियो, र शाऊलले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ, किनभने गजबारहरू भएको, पर्खालले घेरिएको सहरमा पसेर त त्यसले आफूलाई बन्दी बनाएको छ।” अनि शाऊलले आफ्ना सबै सैन्य-दललाई कीलाह आक्रमण गरेर दाऊद र तिनका मानिसहरूलाई घेर्न भनी हुकुम गरे। तिनको विरुद्धमा गर्न लागेको षड्यन्त्रको युक्ति जब दाऊदले बुझे तब तिनले अबियाथार पूजाहारीलाई एपोद ल्याउन अह्राए। तब तिनले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, शाऊल कीलाहमा आएर मेरो कारण त्यस सहरलाई नाश गर्ने विचार गर्दैछन् भन्ने समाचार तपाईंको दासले सुनेको छ। के कीलाहका नगरवासीहरूले मलाई उनको हातमा सुम्पिदिनेछन्? मैले सुनेझैँ, के शाऊल आउनेछन्? परमप्रभु इस्राएलका परमेश्वर, बिन्ती छ, आफ्नो दासलाई बताइदिनुहोस्।” परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, त्यो आउनेछ।” फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पिदिनेछन्?” परमप्रभुले जवाफ दिनुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।” यसकारण दाऊदले आफ्ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्यो तब उनी त्यहाँ अगि बढ़ेनन्। दाऊद उजाड़-स्थानका गढ़ीहरू र जीपको मरुभूमिका पहाड़हरूमा बसिरहे, र शाऊलले तिनलाई दिनदिनै खोज्दथे। तर परमेश्वरले दाऊदलाई उनको हातमा सुम्पिदिनुभएन। जब दाऊद जीपको मरुभूमिको होरेशमा थिए, शाऊलले तिनको प्राण लिन निस्केर आएका छन् भनी तिनले थाहा पाए। तब शाऊलका छोरा जोनाथन त्यहाँ तिनीकहाँ आए, र तिनलाई परमेश्वरमा बल पाउन उत्साह दिए। उनले भने, “नडराउनुहोस्, मेरा बुबा शाऊलको हातले तपाईंलाई छुनेछैन। तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिँ तपाईंको मुनि दोस्रो दर्जामा हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।” ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्यसपछि जोनाथनचाहिँ आफ्नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे। जब शाऊल गिबामा थिए, तब जीपीहरूले यो समाचार उनीकहाँ ल्याए, “हामी सुन्दछौं कि दाऊद यशीमोनको दक्षिणतिरका हकीलाको पहाड़मा भएको होरेशका गढ़ीहरूमा लुकिरहेका छन्। अब हजूरलाई जहिले इच्छा लाग्छ तहिले तल झर्नुहोस्, र तिनलाई तपाईंको हातमा सुम्पिदिने जिम्मा हाम्रो हुनेछ।” शाऊलले भने, “परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, किनभने तिमीहरूलाई मेरो चासो छ। अब गएर अरू तयारी गर, र त्यो कहाँ छ र कसले त्यसलाई देख्यो सो ठीक पत्ता लगाओ। त्यो धूर्त छ अरे। त्यो कुनचाहिँ लुक्ने ठाउँमा छ सो पत्ता लगाओ, र निश्चित खबर लिएर मकहाँ आओ। तब म तिमीहरूसँग जानेछु। त्यो यस देशमा रहुञ्जेल यहूदाको खलकहरूको एक-एककहाँ जानुपरेता पनि म त्यसलाई खोजेर निकाल्नेछु।” उनीहरू ढिलो नगरी शाऊलभन्दा अगि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरका अराबाको माओनको मरुभूमिमा थिए। शाऊल र उनका मानिसहरूले खोज्न थाले, र जब दाऊदले यो कुरो थाहा पाए तब पहरातिर गए र यशीमोनको दक्षिणपट्टि माओनको मरुभूमिमा रहन लागे। जब शाऊलले यो थाहा पाए, उनी दाऊदको खोजीमा माओनको उजाड़ ठाउँतिर लागे। शाऊल डाँड़ाको उतापट्टि अनि दाऊद र तिनका मानिसहरू यतापट्टि भए। दाऊद र तिनका मानिसहरू भाग्नलाई भरसक कोशिश गरिरहेका थिए। जब शाऊल र उनका पछि लागेकाहरूचाहिँ तिनलाई पक्रनलाई नजिक-नजिक आए, तब एक समाचारवाहकले शाऊलकहाँ यो समाचार ल्यायो, “झट्टै आउनुहोस्। किनकि पलिश्तीहरूले देशलाई लूटपीट गर्दैछन्।” यसैले शाऊल दाऊदलाई खेद्न छोड़ेर पलिश्तीहरूको सामना गर्नलाई फर्के। यसैकारण त्यस ठाउँलाई सेलाहामालेकोथ भन्दछन्। त्यहाँबाट दाऊद उक्लेर एन-गदीका गढ़ीहरूमा बस्न लागे।
१ शमूएल 23:7-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।” अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए। जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।” दावीदले भने, “याहवेह इस्राएलका परमेश्वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ। के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।” याहवेहले भन्नुभयो, “अवश्य, शाऊल आउनेछ।” फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?” याहवेहले भन्नुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।” यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्। दावीद उजाडस्थानका किल्लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन। जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए। तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्वरमा सामर्थ्य पाउन उत्साह दिए। जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।” दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे। जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र? अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।” शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्। जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्ने कुरा मैले सुनेको छु। त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।” यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए। शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए। शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे, तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।” तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत भने। दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे।
१ शमूएल 23:7-29 पवित्र बाइबल (NERV)
मानिसहरूले शाऊललाई अहिले दाऊद कीलामा छ भनेर सुनाए। शाऊलले भने, “परमेश्वरले दाऊदलाई मेरा हातमा सुम्पिनु भएको छ। दाऊद फन्दामा परेकोछ। ऊ यस्तो शहरमा पस्यो जहाँ ढोकाहरू छन् र ढोकाहरूमा ताला लगाउने बारहरू छन्।” शाऊलले आफ्ना सारा सेनाहरूलाई लडाईंकोलागि भेला गराए। ती सेनाहरू कीलामा दाऊदका मानिसहरूसँग युद्ध गर्न तयार रहे। शाऊलले दाऊदको विरूद्धमा बनाएको योजना उसलाई थाहा भयो। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याऊ।” दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ। के साँच्चै हुन आउँछ? के किलाका मानिसहरूले म र मेरो मानिसहरूलाई शाऊलको हातमा सुम्पी देलान्? परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दास हुँ। मलाई बताउँनुहोस्।” परमप्रभुले भन्नु भयो, “हो यो हुन आउँछ।” दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?” परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।” त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्। दाऊद मरुभूमिको किल्लामा बस्न पुगे। दाऊद जीपको मरुभूमिको पहाडी क्षेत्रमा गए। शाऊलले सधै नै दाऊदको खोजी गर्थे, तर परमप्रभुले शाऊलको हातबाट दाऊदलाई जोगाउनु हुन्थ्यो। दाऊद जीपको मरुभूमिको होरेश भन्ने ठाउँमा थिए। त्यहाँ शाऊल दाऊदललाई मार्न आइरहेकाले तिनी साह्रै डराए। तर शाऊलको छोरा जोनाथन दाऊदलाई भेट्न होरेश गए। जोनाथनले दाऊदलाई परमेश्वरलाई विश्वास गर्न अझ जोड गरे। जोनाथनले दाऊदलाई भने, “डराउनु पर्दैन। मेरा पिता शाऊलले तपाईंलाई हानि गर्ने छैनन्। तपाईं इस्राएलका राजा हुनुहुनेछ। मचाहिं तपाईं पछिको हुनेछु। यो कुरा मेरा पिताले पनि जान्दछन्।” जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे। जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ। अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।” शाऊलले जवाफ दिए, “परमप्रभुले मलाई सहायता गरेकोमा तिमीहरूलाई आशीर्वाद दिऊन्। जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाख छ। उसले मलाई छक्याउनँ सक्छ।’ दाऊद लुकेको ठाउँहरू पत्ता लगाऊ। त्यसपछि आएर मलाई वृतान्त बताऊ। त्यस पछि म तिमीहरूसित जानेछु। यदि दाऊद ती ठाँउहरूमा कतै छ भने यहूदाको प्रत्येक घरहरूमा छापामारेर म त्यसलाई पत्तालगाउँनेछु।” अनि जीपका मानिसहरू जीपमा फर्किए पछि शाऊल त्यहाँ गए। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबाको माओन वनमा थिए। शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा गए। तर मानिसहरूले दाऊदलाई होसियार गराए। शाऊलले तिमीलाई खोज्दै छ भनेर खबर दिए। त्यसपछि दाऊद माओनको मरुभूमिको तल चट्टानतिर गए। शाऊलले दाऊद माओनको मरुभूमितिर गएको कुरा थाहा पाए। यसरी शाऊल दाऊदको खोजीमा त्यस ठाउँतिर गए। शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए। त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।” यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले। दाऊद माओनको मरुभूमि त्यागेर एनगदीको छेउको किल्लामा गए।
१ शमूएल 23:7-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्वरले त्यसलाई मेरा हातमा दिनुभएको छ। पर्खालले घेरेको र सुरक्षित ढोका भएको सहरमा गई दाऊदले आफैंलाई पासोमा पारेको छ।” यसकारण शाऊलले आफ्ना सेनालाई लडाइँको निम्ति भेला गरे र कीलाहमाथि आक्रमण गरी दाऊद र तिनका मानिसहरूलाई घेरामा हाल्न पठाए। शाऊलले आफूलाई हमला गर्ने तयारी गर्दै छन् भनी सुनेर दाऊदले पूजाहारी अबियाथारलाई भने, “एपोद यहाँ लिएर आऊ।” त्यसपछि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंको दासको कारणले गर्दा शाऊलले कीलाहमा आएर त्यसको नाश गर्ने उपाय गर्दै छन् भनी मैले सुनेको छु। के कीलाहका बासिन्दाहरूले मलाई शाऊलका हातमा सुम्पिदेलान्? के, मैले सुनेझैँ शाऊल साँच्चै आउने हुन्? परमप्रभु इस्राएलका परमेश्वर, म बिन्ती गर्दछु, मलाई उत्तर दिनुहोस्!” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल आउनेछ।” दाऊदले फेरि सोधे, “के कीलाहका बासिन्दाहरूले म र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदेलान्?” “तिनीहरूले त्यसो गर्नेछन्,” परमप्रभुले उत्तर दिनुभयो। यसकारण दाऊद र तिनका करिब छ सय जना मानिसहरू तुरुन्तै कीलाह छोडेर जान लागे। दाऊद कीलाहबाट भागेका खबर सुनी शाऊलले आफ्नो योजना छोडिदिए। दाऊद पहाडी देश, जीपको मरुस्थलमा गई लुकेर बसे। शाऊलले तिनलाई दिनदिनै खोजिरहेका थिए तर परमप्रभुले दाऊदलाई तिनको हातमा पर्न दिनुभएन। शाऊलले मलाई मार्नेरहेछन् भनी दाऊदले बुझे। दाऊद जीपको छेउ मरुस्थलको होरेशमा थिए। त्यहाँ जोनाथनले तिनलाई भेटे र परमेश्वरको सुरक्षामा विश्वास दिलाएर तिनको उत्साह बढाइदिए। तिनले यसो भने, “नडराऊ, मेरा बुबा शाऊलले तिम्रो क्षति गर्न सक्नेछैनन्। तिमी इस्राएलका राजा हुनेछौ र मेरो स्थान तिम्रो पछि हुनेछ भनी उनी राम्ररी जान्दछन्।” ती दुईले आपसमा मित्रताको पवित्र प्रतिज्ञा बाँधे। दाऊद होरेशमा रहे र जोनाथन घर फर्के। जीपका केही मानिसहरू गिबामा शाऊलकहाँ गएर भने, “दाऊद हाम्रा इलाकामा हकीला पहाडको होरेशमा लुकेर बसेका छन्। त्यो यहूदाको मरुस्थलको दक्षिणी भागमा छ। राजन्, हामी जान्दछौं कि त्यसलाई कब्जा गर्न तपाईंको कत्रो इच्छा छ र तपाईं हाम्रा इलाकामा आउनुहोस् र त्यसले तपाईंका हातमा सुम्पिदिने पक्का बन्दोबस्त हामी गर्नेछौं।” शाऊलले जवाफ दिए, “तिमीहरूले ममाथि दया गरेकोले परमप्रभुले तिमीहरूलाई आशीर्वाद देऊन्! गएर फेरि एकपल्ट पक्का गर। त्यो कहाँ छ, त्यहाँ कसले उसलाई देख्यो, सो ठीक गरी बुझ। त्यो अत्यन्त चतुर छ भनी मैले सुनेको छु। त्यो लुक्ने ठाउँहरू राम्ररी पत्ता लगाओ र तुरुन्तै मकहाँ खबर लिएर आओ। यो काम निश्चय गर। त्यसपछि म तिमीहरूसित जानेछु र त्यो अझ त्यही इलाकामा छ भने र सारा यहूदा देशमा खोज्नुपर्यो भने पनि म त्यसलाई खोजी निकाल्नेछु।” तिनीहरू ढिलो नगरी शाऊलभन्दा अघि जीपतिर लागे। दाऊद र तिनका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको मरुस्थलमा थिए। शाऊल र तिनका मानिसहरू दाऊदको खोजीमा निस्के। त्यो कुरा सुनेर दाऊद माओन मरुस्थलको एउटा चट्टान मात्र भएको डाँडामा गए र त्यहाँ बसे। त्यो सुनेर शाऊल दाऊदको पछि लागे। शाऊल र तिनका मानिसहरू पहाडको एकापट्टि र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि अलग-अलग थिए। शाऊल र तिनका मानिसहरू अघि बढेर नजिक आउँदै थिए र दाऊद र तिनका मानिसहरूचाहिँ भाग्नलाई हतारिँदै थिए। तिनीहरू शाऊलका हातमा पर्न आँटेका थिए। ठीक त्यति बेला नै एउटा दूत आइपुग्यो र शाऊललाई भन्यो, “झट्टै फर्कनुहोस्! पलिश्तीहरूले देशमाथि हमला गर्दै छन्!” यसकारण शाऊल दाऊदलाई खेद्न छोडी पलिश्तीहरूसित लडाइँ गर्न गए। त्यसैले त्यस ठाउँलाई ‘सेला-हामालेकोथ’ भन्छन्। दाऊद त्यहाँबाट हिंडे र एन-गदीको इलाकामा गई लुकेर बसे।