१ शमूएल 20:1-8
१ शमूएल 20:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ आए। तिनले जोनाथनलाई भने, “मैले के गरेको छु? मेरो दोष के छ? तपाईंका बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्यान लिन चाहनुहुन्छ?” जोनाथनले जवाफ दिए, “यस्तो नहोस्। तपाईं मर्नुहुन्न। मलाई यो पक्का थाहा छ कि मलाई नभनीकन मेरा बुबाले केही पनि गर्नुहुन्न। मेरा बुबाले यस्तो कुरा मबाट किन लुकाउनुहुन्थ्यो र? यो कुरा सत्य होइन।” तर दाऊदले शपथ खाएर भने, “तपाईंका बुबाले आफ्नो मनमा भन्नुभएको छ, ‘जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्रता त्यो दु:खित हुनेछ’। किनभने उहाँलाई थाहा छ कि मप्रति तपाईंको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईंका जीवनको पनि शपथ खाएर म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ।” जोनाथनले दाऊदलाई भने, “तपाईं जे इच्छा गर्नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्छु।” दाऊदले जवाफ दिए, “भोलि औंसीको चाड़ हो, र मैले राजासित खानैपर्नेछ। तर म पर्सिको साँझसम्म खेतमा गएर लुकिरहनेछु। तपाईंका बुबाले मेरो अनुपस्थिति ख्याल गर्नुभयो भनेदेखि उहाँलाई यसो भनिदिनुहोस्, “बेथलेहेममा आफ्नो घरमा झट्टै जानुपर्ने हुनाले दाऊदले मसित बिदा मागे, किनभने त्यहाँ तिनको जम्मै परिवारको वर्षेनी बलिदान चढ़ाउनुपर्ने रहेछ।” यदि उहाँले ‘ठीकै छ’। भन्नुभयो भने त्यो मेरो निम्ति एउटा असल लक्षण हुनेछ, तर रीसले चूर हुनुभयो भने उहाँले मेरा अहित गर्न नै चिताउनुभएको रहेछ भनी तपाईंलाई थाहा हुनेछ। हजूर, मप्रति दया देखाउनुहोस्, किनकि तपाईं र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौं। म दोषी छु भने तपाईंले नै मलाई मार्नुहोस्। मलाई तपाईंका बुबाको हातमा किन पर्न दिनुहुन्छ?”
१ शमूएल 20:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?” जोनाथनले जवाफ दिए, “कदापि यस्तो हुनेछैन! तपाईं मर्नुहुनेछैन! हेर्नुहोस्, मेरा पिताले मलाई नभनी ठूलो वा सानो होस्, कुनै पनि काम गर्नुहुन्न। उहाँले यो कुरा मदेखि किन लुकाउनुहुन्थ्यो र? यस्तो हुनै सक्दैन!” तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।” तब जोनाथनले दावीदलाई भने, “मैले तपाईंको निम्ति जे गरेको तपाईं चाहनुहुन्छ, म त्यही गर्नेछु।” यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु। यदि तिम्रा पिताले मलाई खोज्नुभयो भने उहाँलाई यसो भनिदेऊ, ‘बेथलेहेममा आफ्नो घर अचानक जानुपर्ने भएको हुनाले दावीदले मसँग अनुमति मागे; किनकि त्यहाँ तिनको सम्पूर्ण घरानाका निम्ति वार्षिक बलिदान चढाउनुपर्ने रहेछ।’ यदि उहाँले, ‘ठिकै छ,’ भन्नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्चित हुनु। तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?”
१ शमूएल 20:1-8 पवित्र बाइबल (NERV)
रामाको छेऊ डेराबाट दाऊद दगुर्दै जोनाथनकहाँ गए। दाऊदले जोनाथनलाई भने, “मैले के भूल गरें? मेरो दोष के हो? तिम्रा पिताले मलाई किन मार्न चाहनु हुन्छ?” जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।” तर दाऊदले भने, “म तिम्रो मित्र हुँ, भन्ने कुरा तिम्रो पितालाई राम्ररी थाह छ। तिम्रा पिताले सायद सोच्नुहुन्छ होला, ‘जोनाथनले यो कुरा थाह पाउँनु हुँदैन। यदि त्यसले थाहा पायो भने दाऊदलाई भन्छ।’ परमप्रभु र तपाईं जीवित रहेसम्म, नै यो सत्य हो मेरो मृत्यु नजिकै छ।” जोनाथनले भने, “तपाईंले मलाई जसो भन्नुहुन्छ म त्यसैगर्छु।” त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ। यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेट्न देऊ भने।’ यदि तिम्रा पिताले, ‘ठीक छ’ भन्नु भयो भने म बाँचे। तर रिसाउनु भयो भने बुझ्नुहोस कि उहाँले मलाई घात गर्न चाहनुहुन्छ। म माथि दयागर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”
१ शमूएल 20:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि, दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गए। “मैले के गरेको छु?” तिनले सोधे, “मैले कुन अपराध गरेको छु? मैले तपाईंको बुबाको के खराबी गरें र तिनले मलाई मार्न चाहन्छन्?” जोनाथनले उत्तर दिए, “परमेश्वरले तिम्रो मृत्यु हुनुदेखि तिमीलाई बचाऊन्! मेरा बुबाले आफूले गर्ने ठूला-साना सबै कुराहरू मलाई भन्नुहुन्छ र यो कुरा पनि मदेखि लुकाउनुहुनेछैन। यो साँचो हुन सक्दैन!” तर दाऊदले उत्तर दिए, “तपाईंको बुबाले राम्ररी जान्दछन् कि तपाईंले मलाई कति मन पराउनुहुन्छ र तिनले के उपाय गर्दैछन्, सो तपाईंलाई नभन्ने निश्चय गरेका छन् किनभने त्यसले तपाईंलाई गहिरो चोट पुर्याउनेछ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ।” जोनाथनले भने, “तिमी जे चाहन्छौ, त्यो म गर्नेछु।” दाऊदले जवाफ दिए, “भोलि औँसीको चाड हो र मैले राजासित भोजन गर्ने कुरा छ। तर म पर्सि बेलुकासम्म खेतमा गई लुक्नेछु। यदि तपाईंको बुबाले म भोजमा नआएको चाल पाउनुभयो भने तपाईंको अनुमति लिएर बेथलेहेममा आफ्नो घर गए भनिदिनुहोला किनभने मेरा सारा परिवारले वार्षिक बलिदान चढाउने समय यही हो। राजाले ‘ठीकै छ’ भनेदेखि मलाई डर छैन; तर उनी रिसाए भने उनीबाट मलाई खतरा छ भनी तपाईंले बुझ्नुहुनेछ। कृपा गरी ममाथि यो निगाह गर्नुहोला र मसित गरेको आफ्नो पवित्र प्रतिज्ञाको पालना गर्नुहोला। तर म अपराधी छु भने तपाईं आफैंले मलाई मार्नुहोस्। किन मलाई मार्नको लागि आफ्ना बुबाकहाँ पुर्याउनुहुन्छ?”