१ शमूएल 19:1-10
१ शमूएल 19:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदलाई मार्नू भनी शाऊलले आफ्ना छोरा जोनाथन र आफ्ना सबै भारदारहरूलाई भने। तर जोनाथनचाहिँ दाऊदलाई मन पराउँथे। आफ्ना पिता शाऊलले तिनलाई मार्ने मौका हेर्दैछन् भनी जोनाथनले दाऊदलाई बताइदिए। उनले भने, “भोलि बिहान होशियार बस्नुहोस् र लुकेर रहनुहोस्। म बाहिर निस्केर आउनेछु, र तपाईं हुनुभएको खेतमा मेरा पितासँग भेट गर्नेछु, र उहाँसँग तपाईंको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्यो भने म तपाईंलाई बताइदिनेछु।” जोनाथनले आफ्ना पिता शाऊललाई यसो भने, “हजूर, आफ्ना दास दाऊदलाई अनर्थ नगर्नुहोस्। तिनले तपाईंको विरुद्धमा केही खराबी गरेका छैनन्। तिनले गरेका कामबाट तपाईंलाई फाइदा भएको छ। त्यस पलिश्तीलाई मार्दाखेरि तिनले आफ्नो ज्यान खतरामा हालेका थिए। परमप्रभुले इस्राएललाई ठूलो विजय दिनुभयो, र त्यो त तपाईंले नै देख्नुभयो, र त्यस रमाहटमा तपाईं पनि सहभागी हुनुभयो। एउटा निर्दोष मानिसलाई तपाईं किन खराबी गर्नुहुन्छ, किन केही कारणविना दाऊदलाई मार्नुहुन्छ?” शाऊलले जोनाथनको कुरा सुने, र यो शपथ खाएर भने, “परमप्रभु जीवित हुनुभएझैँ, दाऊद मारिनेछैन।” यसैले जोनाथनले दाऊदलाई बोलाए, र तिनलाई यी सबै कुरा बताइदिए। तब जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी अघिझैँ राजाको सेवामा लागे। लड़ाइँ फेरि सुरु भयो, दाऊदले पलिश्तीहरूलाई आक्रमण गरेर यस्तो संहार गरे कि उनीहरू तिनको सामुबाट भागे। तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब परमप्रभुबाटको हानिकारक आत्माले उनलाई पक्र्यो। दाऊदचाहिँ वीणा बजाइरहेका थिए। शाऊलले दाऊदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाऊदले त्यस भालाको प्रहारलाई छले अनि त्यो भाला भित्तामा गाड़ियो। त्यही रात दाऊद सुरक्षासाथ भागे।
१ शमूएल 19:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शाऊलले आफ्ना छोरा जोनाथन र सबै सेवकहरूलाई दावीदलाई हत्या गर्नू भनी भने। तर जोनाथनले दावीदलाई औधी मन पराउँथे। अनि तिनले दावीदलाई यसो भनेर होशियार गराए, “मेरा पिता शाऊलले तपाईंलाई मार्ने मौका खोज्दैहुनुहुन्छ। भोलि बिहान सतर्क रहनुहोस्। कहीँ लुक्न जानुहोस् र त्यहीँ बस्नुहोस्। म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।” जोनाथनले आफ्ना पिता शाऊलसँग दावीदको बारेमा राम्रो कुरा गरेर तिनलाई भने, “राजा, हजुरले आफ्ना सेवक दावीदलाई केही हानि नगर्नुहोस्। तिनले केही खराबी गरेका छैनन्। अनि तिनले जे गरेका छन्, त्यसबाट तपाईंलाई नै धेरै फाइदा भएको छ। तिनले आफ्नो ज्यानसमेत जोखिममा पारेर त्यस पलिश्तीलाई मारे। याहवेहले सारा इस्राएलका निम्ति ठूलो विजय दिनुभयो। त्यो हजुरले पनि देख्नुभयो, र तपाईं प्रसन्न हुनुभयो। अनि तिनै दावीदलाई कुनै कारणविना मारेर तिनीजस्ता निर्दोष मानिसको हानि तपाईं किन गर्नुहुन्छ?” शाऊलले जोनाथनको कुरा सुने। तब यस्तो शपथ खाए, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै दावीद मारिनेछैन।” यसकारण जोनाथनले दावीदलाई बोलाएर सम्पूर्ण कुरा भने। तब तिनले दावीदलाई शाऊलकहाँ ल्याए, र दावीद पहिलेझैँ शाऊलको उपस्थितिमा रहे। एक पटक फेरि युद्ध मच्चियो। अनि दावीद पलिश्तीहरूसँग युद्ध गर्न गए। तिनले तिनीहरूमाथि ठूलो आक्रमण गरे। तिनीहरू तिनको सामुबाट भागे। तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए। अनि शाऊलले त्यस भालाले भित्तैमा उनिने गरी तिनलाई प्रहार गर्न कोसिस गरे। तर दावीदले छले; अनि शाऊलको भाला भित्तामा गएर भासियो। त्यसै रात दावीद त्यहाँबाट सुरक्षासाथ भाग्न सफल भए।
१ शमूएल 19:1-10 पवित्र बाइबल (NERV)
शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एक्दमै प्रेम गर्थे। जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु।” जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गरे। जोनाथनले दाऊदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधै तपाईंको पक्षमा काम गरे। पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।” शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।” यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए। युद्ध फेरि शुरू भयो अनि दाऊद पलिश्तीहरूसँग लडन गए। दाऊदले पलिश्तीहरूलाई परास्त गरे र तिनीहरू भागे। परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए। शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।
१ शमूएल 19:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शाऊलले आफ्ना छोरा जोनाथन र सबै भारदारहरूलाई म दाऊदलाई मार्ने उपाय गर्छु भने। जोनाथनले दाऊदलाई खुबै मन पराउँथे र तिनलाई भने, “मेरा बुबाले तिमीलाई मार्ने चेष्टा गर्दै छन्। भोलि बिहान होशियार हुनु, कुनै गुप्त स्थानमा गएर बस्नू। म गएर तिमी लुकिरहेको खेतमा मेरा बुबाको छेउमा उभिनेछु र तिम्रो बारेमा कुरा गर्नेछु। मैले केही कुरा थाहा पाएँ भने तिमीलाई भन्नेछु।” जोनाथनले शाऊलको अघि दाऊदको प्रशंसा गरेर भने, “हजुर, आफ्नो सेवक दाऊदलाई केही खराबी नगर्नुहोस्। तिनले कहिल्यै तपाईंको खराबी गरेका छैनन्। त्यसका सट्टामा तिनले गरेका हरकामले तपाईंको ठूलो मद्दत भएको छ। आफ्नो प्राण खतरामा हालेर तिनले गोल्यतलाई मारे र परमप्रभुले इस्राएलको निम्ति महान् विजय दिनुभयो। त्यो देखेर तपाईं प्रसन्न हुनुभयो। तर किन अहिले तपाईं एउटा निर्दोष मानिसलाई अन्याय गर्न चाहनुहुन्छ? किन दाऊदलाई कुनै कारणबिना मार्न चाहनुहुन्छ?” शाऊलले शपथ खाए, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु कि दाऊद मारिनेछैन।” यसकारण जोनाथनले दाऊदलाई बोलाएर सबै कुरा भने। तिनले दाऊदलाई शाऊलकहाँ लगे र अघिझैँ दाऊदले राजाको सेवा गरे। पलिश्तीहरूसित फेरि लडाइँ भयो। दाऊदले तिनीहरूलाई हमला गरेर पूर्णरूपले हराए र तिनीहरू भागे। एक दिन परमप्रभुले पठाउनुभएको दुष्टात्माले शाऊललाई अधीन गर्यो। तिनी आफ्नो घरमा हातमा एउटा भाला लिएर बसिरहेका थिए र दाऊद त्यहाँ बसेर वीणा बजाइरहेका थिए। भाला हानेर शाऊलले दाऊदलाई भित्तैमा टाँस्ने चेष्टा गरे; तर दाऊद तर्किए र भाला भित्तामा गाडियो। दाऊद उम्केर बाँचे।