१ शमूएल 10:9-13

१ शमूएल 10:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्‍वरले उनको मन नयाँ तुल्‍याइदिनुभयो। त्‍यही दिन यी सबै चिन्‍ह पूरा भए। जब उनीहरू गिबामा पुगे तब अगमवक्ताहरूको एक दल उनलाई भेट्‌नलाई आइरहेको थियो, अनि परमेश्‍वरका आत्‍मा तुरुन्‍तै उनमा शक्तिसित आउनुभयो, र उनी पनि तिनीहरूको अगमवाणीमा सरिक भए। जब उनलाई अघि चिन्‍ने मानिसहरूले उनलाई अगमवक्ताहरूजस्‍तै अगमवाणी बोलिरहेका देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्‍न लागे, “कीशका छोरालाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताकै दलमा छन्‌?” त्‍यस ठाउँको एक जना मानिसले भन्‍यो, “तिनीहरूका पिता को हुन्‌?” यसैकारण यो उखान चल्‍न लाग्‍यो: “के शाऊल पनि अगमवक्ताकै दलका हुन्‌?” शाऊलले अगमवाणी बोल्‍न छोड़ेपछि उनी डाँड़ाको थानमा गए।

शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्

१ शमूएल 10:9-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्‍वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए। जब शाऊल र तिनको सेवक गेबामा आइपुगे, तब अगमवक्ताहरूको एक दलले तिनलाई भेटे। परमेश्‍वरको आत्मा शाऊलमाथि शक्तिशाली रूपमा आउनुभयो। अनि उनी पनि तिनीहरूसँगै अगमवाणी बोल्न थाले। जब शाऊललाई पहिल्यैबाट चिन्‍नेहरूले तिनलाई अगमवक्ताहरूसँग अगमवाणी गरिरहेका देखे, तब तिनीहरूले एक-आपसमा भने, “कीशको छोरोलाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन्?” त्यहाँ बस्‍ने एक जना मानिसले जवाफ दिए, “अनि तिनीहरूका पिता को हुन्?” यसकारण “के शाऊल अगमवक्ताहरूमध्ये एक हुन्?” भन्‍ने उखान सुरु भयो। शाऊलले अगमवाणी गर्न छोडेपछि तिनी अल्गा देवस्थानमा गए।

शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्

१ शमूएल 10:9-13 पवित्र बाइबल (NERV)

जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे। शाऊल र तिनको नोकर गिबियथ एलोहिम गए। त्यहाँ शाऊलले अगमवक्ताहरूको एक समूहलाई भेटे। परमेश्वरको आत्मा शक्तिसाथ शाऊलमाथि तुरून्तै उत्रियो अनि शाऊलले पनि ती अगमवक्ताहरूको समूहमा अगमवाणी गर्नुभयो। ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?” गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?” शाऊलले अगमवाणी बोल्न छोडेपछि घरकै छेउको स्थानमा आराधना गर्न गए।

शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्

१ शमूएल 10:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जब शाऊल शमूएलबाट बिदा हुनलाई फर्के परमेश्‍वरले तिनलाई एउटा नयाँ स्‍वभाव दिनुभयो र त्‍यस दिन शमूएलले भनेका कुरा सबै दुरुस्तै पूरा भए। जब शाऊल र तिनका चाकर गिबामा आइपुगे, एक हुल अगमवक्ताहरूले तिनलाई भेटे। झट्टै परमेश्‍वरको आत्‍मा तिनमा उत्रनुभयो र उनी तिनीहरूसित मिलेर अगमवाणी बोल्‍न थाले। उनलाई पहिल्‍यै चिन्‍ने मानिसहरूले त्‍यसो गरेको देखेर आपसमा सोध्‍न लागे, “कीशका छोरालाई के भयो? के शाऊल अगमवक्ता भए?” त्‍यहाँ बस्‍ने एक जनाले सोध्‍यो, “यी अरू अगमवक्ताहरू नि त? तिनीहरूका बुबा को हुन्?” यसरी यहाँबाट यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?” अगमवाणी बोलिसकेपछि शाऊल डाँडामाथिको वेदीमा गए।

शेयर गर्नुहोस्
१ शमूएल 10 पढ्नुहोस्