१ शमूएल 1:1-3
१ शमूएल 1:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए। हन्नाह र पनिन्नाह नाउँका तिनका दुई पत्नी थिए। पनिन्नाहका छोराछोरीहरू थिए, तर हन्नाह निस्सन्तान थिइन्। एल्काना वर्षेनी शीलोमा सर्वशक्तिमान् परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो सहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा, होप्नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए।
१ शमूएल 1:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एफ्राइमको पहाडी मुलुक रामातैमका एक जना सूपी मानिस थिए; जसको नाम एल्काना थियो। तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र एफ्राएमी सूपका खनाति थिए। तिनका दुई पत्नीहरू थिए; एउटीलाई हन्ना र अर्कीलाई पनिन्नाह भनिन्थ्यो। पनिन्नाहका छोराछोरीहरू थिए, तर हन्नाचाहिँ निःसन्तान थिइन्। एल्काना वर्षैपिच्छे आफ्नो सहरबाट सेनाहरूका याहवेहकहाँ आराधना गर्न र बलिदान चढाउन शीलोमा उक्लेर जान्थे। त्यहाँ एलीका दुई छोराहरू होप्नी र पीनहास याहवेहका पुजारीहरू थिए।
१ शमूएल 1:1-3 पवित्र बाइबल (NERV)
त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहिँ सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए। एल्कानाका दुइवटी पत्नी थिए। एउटीको नाउँ हन्ना र अर्कीको नाउँ पनिन्ना थियो। पनिन्नाका नानीहरू थिए, तर हन्नाका नानीहरू थिएनन्। परमप्रभु सर्वशक्तिमानको अघि आराधना गर्न र बलि चढाउन प्रत्येक बर्ष एल्काना रामाबाट शीलोमा जाने गर्थे। शीलोमा परमप्रभुका पूजाहारीको रूपमा होप्नी र पीनहासले सेवा गर्थे। यी दुइ एलीका छोरा थिए।
१ शमूएल 1:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एफ्राइम कुलका एक जना एल्काना नाम गरेका मानिस थिए। उनी एफ्राइमको पहाडी मुलुकको रामतैम भन्ने सहरमा बास गर्थे। उनी यरोहामका छोरा र एलीहूका नाति थिए अनि सूप वंशका र तोहूका घरानाका थिए। एल्कानाका दुईटी स्वास्नीहरू थिए, हन्नाह र पनिन्नाह। पनिन्नाहको सन्तान थियो; तर हन्नाहको थिएन। हरेक साल एल्काना आराधना गर्न र सर्वशक्तिमान् परमेश्वरलाई बलि चढाउन रामतैमबाट शीलो जान्थे। शीलोमा परमप्रभुका पूजाहारीहरू एलीका दुई छोरा होप्नी र पीनहास थिए।