१ पत्रुस 2:9-25

१ पत्रुस 2:9-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो। अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌। प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्, अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌। किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ। स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल। सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर। कमारा हो, सम्‍पूर्ण आदरपूर्वक आफ्‍ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि। परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ। किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ, किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ। “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो। हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ। किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:9-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्‍वरको विशेष सम्पत्ति र तिमीहरूले उहाँलाई अर्थात् तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्‌भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक। एक समय तिमीहरू परमेश्‍वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ। हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ। गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्‍वरको महिमा गरून्। प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्‍च अधिकारको रूपमा राजा हुन्, अथवा राज्यपालहरू, जसलाई राजाले खराब काम गर्नेहरूलाई दण्ड दिन र ठिक काम गर्नेहरूलाई इज्जत दिन चुनेका हुन्छन्। किनकि परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चुप गराउनुपर्दछ। तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्‍वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्‍टता छोप्ने आवरणको रूपमा प्रयोग नगर। सबैलाई उचित आदर देखाओ। विश्‍वासीहरूको समूहलाई प्रेम गर; परमेश्‍वरसँग डराओ, राजालाई आदर गर। हे दासहरू हो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस; असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनमा बस। परमेश्‍वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ; तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्‍ट पायौ र भोग्छौ भने यो परमेश्‍वरको अगि प्रशंसनीय छ। यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्‍टले तिमीहरूको निम्ति कष्‍ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ। “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।” तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्‍वरकहाँ आफूलाई सुम्पनुभयो। यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।” किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्‍टकहाँ फर्केका छौ।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:9-25 पवित्र बाइबल (NERV)

तर तिमीहरू चुनिएका मानिसहरू हौ। तिमीहरू राजाका पूजाहारीहरू हौ। तिमीहरू मानिसहरूका पवित्र जाति हौ। तिमीहरू ती मानिसहरू हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरूको विषयमा भन्न तिमीहरू चुनिएका हौ। उहाँले तिमीहरूलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो। एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरू परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ। प्रिय मित्रहरू, तिमीहरू यो संसारमा प्रवासी अनि परदेशीहरू हौ। यसर्थ तिमीहरूलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरूदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरू तिमीहरूका आत्माको विरुद्ध जुझ्छन्। मानिसहरू जसले विश्वास गर्दैनन् तिनीहरू तिमीहरूका वरिपरि छन्। ती मानिसहरूले तिमीहरूले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरूले गरेका असल कुराहरू तिनीहरूले देख्नेछन् अनि तिमीहरूले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ। प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्। अनि राज्यपालहरूको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरू पठाइएका हुन्। यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच। सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ। दासहरू हो! तिमीहरूको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरूले मालिकहरूको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ। एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ। तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ। तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुशरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुशरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर: “उनले पाप गरेनन्, अनि उहाँको मुखमा कुनै छलको कुरो पाईएन।” मानिसहरूले ख्रीष्ट प्रति नराम्रा कुराहरू भने, तर उहाँले तिनीहरूलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरूलाई भय देखाउनु भएन। अँहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ। ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ। तिमीहरू भेंडा़ जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरू गोठाला अनि तिमीहरूका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:9-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर तिमीहरू त छानिएका जन, राजकीय पूजाहारी, पवित्र जाति, तिमीहरूलाई अन्‍धकारबाट अचम्‍मको उज्‍यालोमा ल्‍याउनुहुने परमेश्‍वरका आफ्‍नै प्रजा हौ। उहाँले तिमीहरूलाई उहाँको उदेकका कामहरू प्रचार गर्न छान्‍नुभएको हो। पहिले त तिमीहरू परमेश्‍वरका प्रजा थिएनौ। तर अहिले परमेश्‍वरका प्रजा भएका छौ। पहिले तिमीहरूले परमेश्‍वरको दया पाएका थिएनौ, अहिले उहाँको दया पाएका छौ। प्रियहरू, यस संसारमा तिमीहरू विदेशी र प्रवासीजस्‍तै छौ। तिमीहरूलाई बिन्‍ती गर्दछु, शरीरका चाहनाहरू पूरा गर्नतिर नलाग। यस्‍ता चाहनाहरू आत्‍माको विरोधमा सधैँ लड्छन्। अरू जातिका मानिसका माझमा तिनीहरूको चालचलन यस्‍तो राम्रो होस् कि तिनीहरूले तिमीहरूलाई नराम्रो भनेर दोस्‍याउँदा तिमीहरूका राम्रा काम चिन्‍न सकून् अनि परमेश्‍वरले न्‍याय गर्न आउनुहुँदा उहाँको प्रशंसा गरून्। प्रभुको आदरको लागि सबै अधिकारीहरूका अधीनमा बस। राजाको अधीनमा बस, जससँग सर्वोच्‍च अधिकार हुन्छ र अरू कुनै राजकाज चलाउनेहरूका अधीनमा पनि, जो नराम्रा काम गर्नेहरूलाई सजाय दिन र राम्रा गर्नेलाई इज्‍जत गर्न परमेश्‍वरबाटै खटाइएका हुन्। मूर्खहरूले नबुझी बोलेका कुराहरू तिमीहरूका राम्रा कामले चुप गराएको परमेश्‍वर चाहनुहुन्‍छ। स्‍वतन्‍त्र मानिसझैँ बस, तर स्‍वतन्‍त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्‍वरको कमारो बन। सबै मानिसको इज्‍जत गर। विश्‍वास गर्ने दाजुभाइहरूलाई माया गर। परमेश्‍वरको डर मान, राजाको आदर गर। नोकर-चाकरहरू आफ्‍ना मालिकहरूका अधीनमा बस र उनीहरूका आदर गर। राम्रो माया गर्ने मालिकलाई मात्र होइन, छुच्‍चो मालिकलाई पनि मान गर। तिमीले भोग्‍नुनपर्ने ठूलो दु:ख पनि परमेश्‍वरको इच्‍छा नै हो भनेर सह्यौ भने परमेश्‍वरले आशिष् दिनुहुनेछ। नराम्रो काम गर्दा सजाय पाउनु कुनै ठूलो कुरा छैन, तर राम्रो काम गर्दा पनि दु:ख भोग्‍यौ भने परमेश्‍वरले आशिष् दिनुहुनेछ। यसको लागि परमेश्‍वरले तिमीहरूलाई छान्‍नुभएको हो किनभने ख्रीष्‍टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्‍यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्‍नुपर्छ। उहाँले पाप गर्नु नै भएन, उहाँको मुखबाट झूटो कुरा निक्‍लेको कसैले सुनेन। कसैले उहाँको अपमान गर्दा पनि उहाँले जवाफ फर्काउनुभएन। दु:ख भोग्‍नुहुँदा पनि उहाँले धम्‍की दिनुभएन तर उहाँ ठीकसँग न्‍याय गर्नुहुने परमेश्‍वरमा नै भर पर्नुभयो। ख्रीष्‍टले हाम्रो पाप आफ्‍नो शरीरमा बोकेर काठको क्रूसमा झुण्‍डिनुभयो। त्‍यसो हुँदा हामी पनि पापको लागि मर्‍यौं अनि परमेश्‍वरलाई मन पर्ने असल कामको निम्‍ति बाँच्‍यौं। उहाँका चोटहरूमा तिमीहरू निको भयौ। तिमीहरू बरालिएका भेडाजस्‍तै थियौ, तर अब त तिमीहरूका आत्‍माका गोठाला र रक्षककहाँ उहाँलाई पछ्याउन तिमीहरूलाई ल्‍याइएको छ।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्