१ पत्रुस 1:22-25
१ पत्रुस 1:22-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ। किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।
१ पत्रुस 1:22-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर। किनकि परमेश्वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ। पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैँ छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो।
१ पत्रुस 1:22-25 पवित्र बाइबल (NERV)
अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर। तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ। धर्मशास्त्रले भन्छ: “मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्, तिनीहरूको महिमा घाँसको फूल झैं हो। घाँस ओइलिन्छ, अनि फूलहरू झर्छन्। तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”
१ पत्रुस 1:22-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब तिमीहरूले सत्यलाई मानेर आफ्नो मन चोखो पारेका छौ अनि दाजुभाइलाई साँचो माया गर्ने भएका छौ। एक-अर्काप्रतिको तिमीहरूको चोखो माया हृदयदेखि नै होस्। परमेश्वरको जीवित र सदा रहने वचनद्वारा तिमीहरूको नयाँजन्म भएको छ। तिमीहरू नाश हुने पिताबाटका सन्तान होइनौ, तर नाश नहुने पिताका सन्तान हौ। धर्मशास्त्रले भन्छ, “सबै मानिसहरू घाँसजस्तै छन् अनि तिनीहरूको इज्जत पनि जङ्गली फूलजस्तै छ। घाँस ओइलिजान्छ, फूल झरिजान्छ, तर प्रभुको वचन सधैँभरि रहिरहन्छ।” यो प्रभुको वचन नै तिमीहरूलाई सुनाएको सुसमाचार हो।