१ राजाहरू 10:1-9
१ राजाहरू 10:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब शेबाकी रानीले सोलोमनको कीर्ति र परमप्रभुका नाउँप्रतिको तिनको सम्बन्धबारे सुनिन्, गाह्रो-गाह्रो प्रश्नहरू लिएर सोलोमनको जाँच गर्नलाई तिनी आइन्। तिनी एक साह्रै ठूलो लावालश्करसाथ यरूशलेममा आइन्— मसलाहरू, धेरै सुन र बहुमूल्य रत्नहरू लदाएर बोकेका ऊँटहरूका साथमा— तिनी सोलोमनकहाँ आइन्, र आफ्नो मनमा भएका सबै कुराहरूका विषयमा सोलोमनसित कुरा गरिन्। सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। ती व्याख्या गर्न राजालाई केही पनि गाह्रो भएन। जब शेबाकी रानीले सोलोमनको सबै बुद्धि, तिनले निर्माण गरेको राजमहल तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्। तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। तर आएर आफ्नै आँखाले नदेखुञ्जेल मैले पत्याएकी थिइनँ। साँच्चै, यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र धन-सम्पत्ति मैले सुनेको कुराभन्दा त धेरै ज्यादा रहेछन्। तपाईंका मानिसहरू कति खुशी होलान्! तपाईंको सामुन्ने निरन्तर उभिने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्! तपाईंसित प्रसन्न भएर इस्राएलको सिंहासनमा तपाईंलाई विराजमान गराउनुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। इस्राएलको निम्ति उहाँको अनन्त प्रेम भएको हुनाले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई राजा तुल्याउनुभएको छ।”
१ राजाहरू 10:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब शेबाकी रानीले सोलोमनको ख्याति अनि याहवेहप्रतिको तिनको भक्तिभावको बारेमा सुनिन्, तब तिनी कठिन प्रश्नहरू सहित तिनको जाँच गर्नलाई आइन्। तिनी मसलाहरू, धेरै मात्रामा सुन र मूल्यवान् पत्थरहरू लादिएका ऊँटहरू लिएर अति लामो लावालस्करका साथमा यरूशलेममा आइपुगिन्। जब तिनले सोलोमनलाई भेटिन्, तब आफ्नो मनमा भएका सबै कुराहरूको विषयमा तिनीसित कुरा गरिन्। सोलोमनले तिनका सबै प्रश्नहरूको उत्तर दिए। तिनका सबै कुरा वर्णन गर्न राजालाई कुनै कठिन थिएन। जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि र तिनले बनाएको राजमहल, तिनको टेबुलको भोजन, तिनका अधिकारीहरूको बसाइ, भव्य पोशाक पहिरिएका सेवकहरू, तिनका प्याला टक्राउनेहरू अनि याहवेहको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखेर छक्क परिन्। तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। तर पनि आइकन आफ्नै आँखाले नदेखेसम्म मैले यी कुराहरू पत्याएकै थिइनँ। वास्तवमा मलाई त यसको आधा पनि बताइएको रहेनछ; तपाईं बुद्धिमा र धनमा मैले सुनेको चर्चाभन्दा पनि धेरै माथि हुनुहुँदोरहेछ। तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्! याहवेह तपाईंका परमेश्वरलाई प्रशंसा होस्, जसले तपाईंसित प्रसन्न भएर तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभयो। इस्राएलप्रति याहवेहको अनन्त प्रेमको कारण उहाँले तपाईंलाई न्याय र धार्मिकता कायम राख्नलाई राजा बनाउनुभएको छ।”
१ राजाहरू 10:1-9 पवित्र बाइबल (NERV)
शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्। तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्। सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन। शबाकी रानीले सुलेमान औधी बुद्धिमान छन् भन्ने बुझिन्। उनले त्यो महल पनि देखिन् जो राजाले बनाएका थिए। रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, लामो सास फेर्ने बनाइ दिए। यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ! मैले तबसम्म विश्वास गरेकी थिइनँ जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइनँ। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा गर्नु पर्छ किनभने उहाँ खुशी हुनुभयो अनि तपाईंलाई इस्राएलका राजा बनाउनु भयो। उहाँले तपाईंलाई इस्राएलका राजा बनाउनु भयो ताकि तपाईंले जुन सही हो त्यही गर्नु हुन्छ अनि आफ्ना प्रजाहरूसित असल व्यवहार गर्नु भयो। परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। उहाँले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।”
१ राजाहरू 10:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमनको कीर्ति शेबाकी रानीले सुनिन् र उनको जाँच गर्न कठिन-कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी धेरै नोकर-चाकरका साथ मसला, बहुमूल्य रत्न र धेरै सुनले लादेका ऊँटहरू लिएर आइन्। तिनले सोलोमनलाई भेटिन् र आफ्ना मनमा भएका सबै प्रश्नहरू सोधिन्। सोलोमनले तिनका सबै प्रश्नहरूका उत्तर दिए। राजाको निम्ति तिनको कुनै पनि प्रश्न कठिन थिएन। शेबाकी रानीले सोलोमनका बुद्धिका कुरा सुनिन् र तिनले बनाएका महल देखिन्। तिनले राजाका टेबिलका भोजन, भारदारहरूका बस्ने घर, राजमहलका कर्मचारीहरू र तिनीहरूले पहिरेका पोशाक, भोजका बेलामा तिनको सेवा गर्ने चाकरहरू र तिनले मन्दिरमा चढाएका बलिदानहरू देखिन्। ती देखेर तिनी छक्क परिन् र बोल्न सकिनन्। तिनले सोलोमन राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्ना देशमा जे सुनेको थिएँ, ती सत्य रहेछन्। तर आफैं आएर ती आफ्नै आँखाले नदेखेसम्म मैले विश्वास गर्न सकेकी थिइनँ। तर मैले त आधा पनि सुनेको रहेनछु। तपाईंका बुद्धि र धन-सम्पत्ति मैले सुनेभन्दा धेरै रहेछन्। तपाईंका रानीहरू कति सुखी छन्! तपाईंका छेउमा सधैँ हाजिर रहने र तपाईंका बुद्धिका कुरा सुन्ने अवसर पाउने तपाईंका चाकरहरू पनि कति सुखी होलान्! परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा होस्! उहाँ तपाईंसित कति प्रसन्न हुनुहुन्छ, त्यो तपाईंलाई इस्राएलका राजा बनाउनुभएर उहाँले देखाउनुभएको छ। इस्राएलप्रति उहाँको प्रेम अमर छ। यसकारण कानुन र न्याय कायम राख्न उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।”