१ राजाहरू 10:1-24
१ राजाहरू 10:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब शेबाकी रानीले सोलोमनको कीर्ति र परमप्रभुका नाउँप्रतिको तिनको सम्बन्धबारे सुनिन्, गाह्रो-गाह्रो प्रश्नहरू लिएर सोलोमनको जाँच गर्नलाई तिनी आइन्। तिनी एक साह्रै ठूलो लावालश्करसाथ यरूशलेममा आइन्— मसलाहरू, धेरै सुन र बहुमूल्य रत्नहरू लदाएर बोकेका ऊँटहरूका साथमा— तिनी सोलोमनकहाँ आइन्, र आफ्नो मनमा भएका सबै कुराहरूका विषयमा सोलोमनसित कुरा गरिन्। सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। ती व्याख्या गर्न राजालाई केही पनि गाह्रो भएन। जब शेबाकी रानीले सोलोमनको सबै बुद्धि, तिनले निर्माण गरेको राजमहल तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्। तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। तर आएर आफ्नै आँखाले नदेखुञ्जेल मैले पत्याएकी थिइनँ। साँच्चै, यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र धन-सम्पत्ति मैले सुनेको कुराभन्दा त धेरै ज्यादा रहेछन्। तपाईंका मानिसहरू कति खुशी होलान्! तपाईंको सामुन्ने निरन्तर उभिने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्! तपाईंसित प्रसन्न भएर इस्राएलको सिंहासनमा तपाईंलाई विराजमान गराउनुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। इस्राएलको निम्ति उहाँको अनन्त प्रेम भएको हुनाले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई राजा तुल्याउनुभएको छ।” त्यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन्। शेबाकी रानीले सोलोमन राजालाई दिएको जत्तिकै धेरै मसला फेरि कहिल्यै ल्याइएन। हीरामका जहाजहरूले ओपीरबाट सुन ल्याउँथे। त्यहाँबाट तिनीहरूले चन्दनको काठ र बहुमूल्य पत्थरहरू जहाजमा पनि ल्याउँथे। राजाले यी चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र तिनका राजमहलको निम्ति अड़्याउने खम्बाहरू बनाए, अनि गाउनेहरूका निम्ति वीणा र सारङ्गी यी नै काठका पनि बनाए। यति धेरै चन्दनको काठ कहिल्यै पैठारी गरिएका थिएनन्, र त्यस बेलादेखि यसो देखिएको पनि छैन। सोलोमन राजाले शेबाकी रानीलाई राजाले आफ्नो राजकीय उदारताले दिएका सबै कुराहरूबाहेक तिनले इच्छा गरेर मागेका सबै कुरा दिए। त्यसपछि तिनी लावालश्करसाथ आफ्नो देशमा फर्किन्। सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो। त्यसबाहेक पैकारीहरू र व्यवसायीहरू र अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूबाट महसूलहरू आउँथे। सोलोमन राजाले पिटेको सुनका दुई सय ठूला-ठूला ढालहरू बनाए। हरेक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो। तिनले पिटेको सुनका तीन सय ससाना ढालहरू पनि बनाए। प्रत्येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे। तब राजाले हस्ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाए, र त्यसलाई कञ्चन सुनले मोहोरे। सिंहासनमा उक्लने छ वटा खुट्किला थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो थियो। बस्ने आसनका दुवैपट्टि हात अड़्याउने बाहु थिए। छेउ-छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो। छ वटै खुट्किलाको एकएकपट्टि एउटा-एउटा सिंह उभिरहेको थियो। कुनै पनि राज्यको निम्ति यस्तो किसिमको सिंहासन कहिल्यै बनाइएको थिएन। सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू कञ्चन सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्य थोरै थियो। हीरामका जहाजसाथै समुद्रमा सोलोमन राजाका व्यापारी जहाजहरूका एक बेड़ा थियो। तीन-तीन वर्षमा यी व्यापारीहरूले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथे। सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए। परमेश्वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्नलाई सारा संसारका मानिसहरू सोलोमनकहाँ दर्शन गर्न आउने गर्थे।
१ राजाहरू 10:1-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब शेबाकी रानीले सोलोमनको ख्याति अनि याहवेहप्रतिको तिनको भक्तिभावको बारेमा सुनिन्, तब तिनी कठिन प्रश्नहरू सहित तिनको जाँच गर्नलाई आइन्। तिनी मसलाहरू, धेरै मात्रामा सुन र मूल्यवान् पत्थरहरू लादिएका ऊँटहरू लिएर अति लामो लावालस्करका साथमा यरूशलेममा आइपुगिन्। जब तिनले सोलोमनलाई भेटिन्, तब आफ्नो मनमा भएका सबै कुराहरूको विषयमा तिनीसित कुरा गरिन्। सोलोमनले तिनका सबै प्रश्नहरूको उत्तर दिए। तिनका सबै कुरा वर्णन गर्न राजालाई कुनै कठिन थिएन। जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि र तिनले बनाएको राजमहल, तिनको टेबुलको भोजन, तिनका अधिकारीहरूको बसाइ, भव्य पोशाक पहिरिएका सेवकहरू, तिनका प्याला टक्राउनेहरू अनि याहवेहको मन्दिरमा तिनले चढाएका होमबलिहरू देखेर छक्क परिन्। तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। तर पनि आइकन आफ्नै आँखाले नदेखेसम्म मैले यी कुराहरू पत्याएकै थिइनँ। वास्तवमा मलाई त यसको आधा पनि बताइएको रहेनछ; तपाईं बुद्धिमा र धनमा मैले सुनेको चर्चाभन्दा पनि धेरै माथि हुनुहुँदोरहेछ। तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्! याहवेह तपाईंका परमेश्वरलाई प्रशंसा होस्, जसले तपाईंसित प्रसन्न भएर तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभयो। इस्राएलप्रति याहवेहको अनन्त प्रेमको कारण उहाँले तपाईंलाई न्याय र धार्मिकता कायम राख्नलाई राजा बनाउनुभएको छ।” तब तिनले राजालाई 120 टालेन्ट सुन, धेरै मात्रामा मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जति धेरै मात्रामा मसाला दिइन्, त्यति धेरै फेरि कहिल्यै आएन। (ओपीरबाट सुन ल्याउने हीरामका जहाजहरूले त्यहाँबाट धेरै चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याए। राजाले चन्दनका काठहरू याहवेहको मन्दिर अनि राजमहलमा टेको बनाउन र वाद्य-वादकहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा प्रयोग गरे। त्यस दिनदेखि यता त्यत्तिको मात्रामा चन्दनको काठ भित्र्याइएको वा देखिएको छैन।) शेबाकी रानीलाई पनि तिनले इच्छा गरेका र मागेका सबै चीज दिए, र तीबाहेक राजा सोलोमनले आफ्नो राजकीय प्रशस्तताबाट पनि दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्। सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो। यसमा व्यापारी र व्यवसायीहरू, अरबका राजाहरू र देशका राज्यपालहरूद्वारा ल्याइएको राजकर सामेल थिएन। राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल पिटिएको सुन लागेको थियो। तिनले तीन सय वटा पिटेको सुनका स-साना ढालहरू बनाए, जसमा प्रत्येक ढालमा तीन मीना सुन थियो। राजाले ती लेबनानको वनमा भएको महलमा राखे। त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; अनि त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे। त्यस सिंहासनमा छ वटा खुड्किलाहरू थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो बनाइएको थियो। आसनका दुवैतिर हात राख्ने बाहु थिए। प्रत्येक बाहुको छेउ-छेउमा एक-एक वटा सिंह खडा गरिएको थियो। ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन। राजा सोलोमनका सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो। हीरामका जहाजहरूको साथमा, राजाका व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तीन वर्षमा ती जहाजहरूले सुन, चाँदी, हस्तीदन्त, ढेढुहरू र मयूरहरू लिएर आउँथे। यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए। परमेश्वरले तिनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्नका निम्ति सारा जगत् तिनको सामु जाने इच्छा गर्दथ्यो।
१ राजाहरू 10:1-24 पवित्र बाइबल (NERV)
शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्। तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्। सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन। शबाकी रानीले सुलेमान औधी बुद्धिमान छन् भन्ने बुझिन्। उनले त्यो महल पनि देखिन् जो राजाले बनाएका थिए। रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, लामो सास फेर्ने बनाइ दिए। यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ! मैले तबसम्म विश्वास गरेकी थिइनँ जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइनँ। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा गर्नु पर्छ किनभने उहाँ खुशी हुनुभयो अनि तपाईंलाई इस्राएलका राजा बनाउनु भयो। उहाँले तपाईंलाई इस्राएलका राजा बनाउनु भयो ताकि तपाईंले जुन सही हो त्यही गर्नु हुन्छ अनि आफ्ना प्रजाहरूसित असल व्यवहार गर्नु भयो। परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। उहाँले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।” तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्। हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए। सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन। तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले मागिन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए। राजा सुलेमानले प्रत्येक बर्ष तौल 666 तोडा सुन प्राप्त गर्दथे। व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे। राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो। तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए। राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके। सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोलो थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंहहरूको मूर्तिहरू। छःवटा सिंढीहरूमध्ये पनि प्रत्येकमा दुइवटा सिंह थिए। प्रत्येकको अन्तमा एउटा सिंह थियो। अरू राज्यमा यस प्रकारको केही थिएन। सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चाँदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए। राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन बर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको बाँदरहरू र मजुरहरू ल्याउने गर्थ्यो। सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए। सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे।
१ राजाहरू 10:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सोलोमनको कीर्ति शेबाकी रानीले सुनिन् र उनको जाँच गर्न कठिन-कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी धेरै नोकर-चाकरका साथ मसला, बहुमूल्य रत्न र धेरै सुनले लादेका ऊँटहरू लिएर आइन्। तिनले सोलोमनलाई भेटिन् र आफ्ना मनमा भएका सबै प्रश्नहरू सोधिन्। सोलोमनले तिनका सबै प्रश्नहरूका उत्तर दिए। राजाको निम्ति तिनको कुनै पनि प्रश्न कठिन थिएन। शेबाकी रानीले सोलोमनका बुद्धिका कुरा सुनिन् र तिनले बनाएका महल देखिन्। तिनले राजाका टेबिलका भोजन, भारदारहरूका बस्ने घर, राजमहलका कर्मचारीहरू र तिनीहरूले पहिरेका पोशाक, भोजका बेलामा तिनको सेवा गर्ने चाकरहरू र तिनले मन्दिरमा चढाएका बलिदानहरू देखिन्। ती देखेर तिनी छक्क परिन् र बोल्न सकिनन्। तिनले सोलोमन राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्ना देशमा जे सुनेको थिएँ, ती सत्य रहेछन्। तर आफैं आएर ती आफ्नै आँखाले नदेखेसम्म मैले विश्वास गर्न सकेकी थिइनँ। तर मैले त आधा पनि सुनेको रहेनछु। तपाईंका बुद्धि र धन-सम्पत्ति मैले सुनेभन्दा धेरै रहेछन्। तपाईंका रानीहरू कति सुखी छन्! तपाईंका छेउमा सधैँ हाजिर रहने र तपाईंका बुद्धिका कुरा सुन्ने अवसर पाउने तपाईंका चाकरहरू पनि कति सुखी होलान्! परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा होस्! उहाँ तपाईंसित कति प्रसन्न हुनुहुन्छ, त्यो तपाईंलाई इस्राएलका राजा बनाउनुभएर उहाँले देखाउनुभएको छ। इस्राएलप्रति उहाँको प्रेम अमर छ। यसकारण कानुन र न्याय कायम राख्न उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।” आफूले ल्याएका भेटीहरू तिनले सोलोमन राजालाई टक्र्याइन्। ती चार हजार किलोग्रामभन्दा बढी सुन र मसला र अमूल्य रत्नहरू थिए। रानीले जति मसला तिनलाई दिइन्, त्यति धेरै मसला तिनले कसैबाट कहिल्यै पाएनन्। ओपीरबाट सुन लिएर आउने हीरामका व्यापारी जहाजहरूले त्यहाँबाट धेरै चन्दनको काठ र अमूल्य रत्नहरू पनि ल्याएका थिए। ती काठ सोलोमनले मन्दिर र महलका घेरा र गाउने बजाउनेहरूका वीणा र सारङ्गीहरू बनाउने काममा चलाए। इस्राएलमा पैठारी गरी ल्याएका काठहरूमध्ये ती सबैभन्दा असल काठ थिए, त्यस्ता काठ फेरि कहिल्यै देखिएनन्। शेबाकी रानीले मागेका सबै थोक सोलोमन राजाले तिनलाई दिए। ती बाहेक उनले अरू चल्दैआएका रीतिअनुसार दिनुपर्ने कोसेली पनि मुठी खोलेर दिएका थिए। त्यसपछि आफ्ना नोकर चाकरसाथ लिई रानी आफ्नो देशमा फर्किन्। हरेक साल सोलोमन राजाले प्राय: तेईस हजार किलोग्राम सुन पाउँथे। त्योबाहेक उनले व्यापारीहरूबाट महसुल, व्यापारबाट लाभ र अरबी राजाहरू र इस्राएली प्रादेशिक बडा-हाकिमहरूले तिर्ने कर पाउँथे। सोलोमन राजाले दुई सय ठूल्ठूला ढालहरू बनाए र ती प्रत्येकमाथि सात-सात किलोग्राम जति सुनले मोहोरे। उनले तीन सय स-साना ढालहरू पनि बनाए र ती प्रत्येकमाथि प्राय: दुई-दुई किलोग्राम सुन लाएर मोहोरे। यी सबै ढालहरू उनले लेबनानको बन-महल भनिने ठूलो कोठामा राखे। उनले एउटा ठूलो सिंहासन पनि बनाउन लाए, त्यसको केही भाग हात्तीका दाँतले र बाँकी कञ्चन सुनले बनेको थियो। सिंहासनमा छ वटा उक्लने खुट्किला थिए र प्रत्येक खुट्किलाको छेउ-छेउमा एकएक वटा गरी जम्मा बाह्र वटा सिंहका मूर्तिहरू थिए। सिंहासनको पछिल्तिर सिंहका टाउकोमा मूर्ति बनेको थियो र आसनका दायाँ-बायाँतर्फ बाहु राख्नलाई एक-एक वटा सिंहको मूर्ति थियो। यस प्रकारको सिंहासन कुनै देशमा कहिल्यै पनि बनिएको थिएन। सोलोमनका पिउने कचौराहरू जम्मै सुनले बनेका थिए र लेबनानको वन-महल भनिने ठूलो कोठामा भएका सारा भाँडाकुँडा कञ्चन सुनका थिए। कुनै चाँदी काममा लगाइएको थिएन किनभने सोलोमनको समयमा चाँदीको केही मोल थिएन। हीरामका जहाजहरूसित समुद्रमा यात्रा गर्ने उनका व्यापारी जहाजहरू थिए। तीन वर्षमा एक पटक सुन, चाँदी, हस्ती दाँत, पुच्छरबिनाका ठूला बाँदर र अन्य स-साना बाँदरहरू लिएर उनका जहाजहरू फर्कन्थे। सोलोमन राजा अरू सबै राजाहरूभन्दा धेरै धनी र ज्ञानी थिए र सारा संसारले उनीकहाँ आएर परमेश्वरले उनलाई दिनुभएको बुद्धिका कुरा सुन्न चाहन्थ्यो।