१ यूहन्ना 2:3-6
१ यूहन्ना 2:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं। जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।
१ यूहन्ना 2:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि हामीले उहाँका आज्ञाहरू पालन गर्यौँ भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौँ भनी थाहा पाउँछौँ। कसैले “म उहाँलाई चिन्छु” भन्छ, तर त्यसले उहाँको आज्ञापालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्यता छैन। तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौँ भनी हामीलाई थाहा हुन्छ: उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्ति येशूजस्तै जिउनुपर्छ।
१ यूहन्ना 2:3-6 पवित्र बाइबल (NERV)
यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं। एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन। तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुशरण गरिरहेछौ। यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचे झैं बाँच्नु पर्छ।
१ यूहन्ना 2:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले उहाँको आज्ञा मान्ने गर्यौं भने साँच्चै हामीले उहाँलाई चिनेका रहेछौं भनेर थाहा हुन्छ। कसैले उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञा मान्दैन भने त्यो झूटो हो अनि त्यसमा सत्य हुँदैन। तर जसले उहाँको वचन मान्ने गर्छ, उसले परमेश्वरलाई पूरा प्रेम गरेको हुन्छ। यसैबाट हामी उहाँमा छौं भनेर जान्नेछौं। परमेश्वरमा छु भन्ने मानिसले ख्रीष्टकै जस्तो चालचलनमा हिँड्नुपर्छ।