१ यूहन्‍ना 2:1-29

१ यूहन्‍ना 2:1-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्‍यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्‍छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्‍ट। उहाँ हाम्रा पापका निम्‍ति प्रायश्‍चित हुनुहुन्‍छ, र हाम्रा निम्‍ति मात्र होइन, तर सारा संसारका पापका निम्‍ति पनि। यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौं भने यसैबाट हामी थाहा पाउन सक्‍छौं, कि हामी उहाँलाई चिन्‍दछौं। जसले “म उहाँलाई चिन्‍छु” भन्‍छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य छैन। तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं। उहाँमा रहन्‍छु भन्‍ने व्‍यक्ति आफै पनि उहाँको चालअनुसार चल्‍नुपर्छ। प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्‍यही पुरानो आज्ञा लेखिरहेछु, जो सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो। तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्‍दैछु, जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्‍धकार बितिरहेछ, र साँचो ज्‍योति अघिदेखि नै चम्‍किरहेछ। जसले आफू ज्‍योतिमा छु भनी भन्‍छ तर आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अझै पनि अन्‍धकारमा नै छ। जसले आफ्‍नो भाइलाई प्रेम गर्छ, त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसमा ठक्‍करको कारण हुँदैन। तर जसले आफ्‍नो भाइलाई घृणा गर्छ, त्‍यो अन्‍धकारमा हुन्‍छ, र अँध्‍यारोमा हिँड्‌छ, र त्‍यो कहाँ गइरहेछ, सो थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसलाई अन्‍धो पारेको हुन्‍छ। मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्‍दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ। संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्‌। संसार बितिजान्‍छ र त्‍यसको अभिलाषा पनि बितिजान्‍छ, तर परमेश्‍वरको इच्‍छा पूरा गर्नेचाहिँ सधैँको निम्‍ति रहन्‍छ। ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो। ख्रीष्‍ट विरोधी आइरहेछ भन्‍ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रीष्‍ट विरोधी आएका छन्‌। यसकारण हामी जान्‍दछौं, कि यो आखिरी घड़ी हो। तिनीहरू हामीबाट निस्‍केर गए, किनकि तिनीहरू हाम्रा थिएनन्‌। यदि ती हाम्रा हुँदा हुन्‌ त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन्‌ भन्‍ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्‍केर गएका हुन्‌। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ। तिमीहरू सत्‍यलाई जान्‍दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूट सत्‍यबाट आउँदैन भनी तिमीहरूले जानेका हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो। पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्‍यो तिमीहरूमा रहिरहोस्‌। यदि सुरुदेखि नै सुनेको त्‍यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो— अनन्‍त जीवन। तिमीहरूलाई छल गर्नेहरूका विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्‍तछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउन आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, अनि त्‍यो अभिषेक सत्‍य छ, त्‍यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टमा रहिरहो। साना बालकहरू, उहाँमा रहिरहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्‍मत होस्, र उहाँको आगमनमा उहाँको सामुन्‍ने हामीलाई शर्माउन नपरोस्‌। उहाँ धार्मिक हुनुहुन्‍छ भन्‍ने कुरा यदि तिमीहरूले जान्‍यौ भने यो कुरा तिमीहरूलाई निश्‍चय होस्, कि धार्मिकतामा चल्ने हरेक परमेश्‍वरबाट जन्‍मेको हुन्‍छ।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:1-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मेरा प्यारा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर यदि कसैले पाप गर्‍यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक अधिवक्ता हुनुहुन्छ अर्थात् धर्मी जन, येशू ख्रीष्‍ट; अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि हुनुहुन्छ। यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौँ भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौँ भनी थाहा पाउँछौँ। कसैले “म उहाँलाई चिन्छु” भन्छ, तर त्यसले उहाँको आज्ञापालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्यता छैन। तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्‍वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौँ भनी हामीलाई थाहा हुन्छ: उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्ति येशूजस्तै जिउनुपर्छ। हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो। तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ। कसैले आफू ज्योतिमा छु भनी दाबी गर्छ, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ भने त्यो अझै पनि अन्धकारमै छ। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छ, त्यो ज्योतिमा जिउँछ, र त्यसमा तिनीहरूलाई ठेस पुर्‍याउने कुनै कारण रहँदैन। तर जसले आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ र अन्धकारमै जिउँछ; अनि त्यो कहाँ जाँदैछ, त्यसलाई थाहा हुँदैन; किनकि अन्धकारले त्यसलाई दृष्‍टिविहीन तुल्याएको हुन्छ। हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि उहाँको नामको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्। हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ। हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले पितालाई चिनेका छौ। हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ। संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो। अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ। हे प्यारा बालकहरू हो, यो नै आखिरी घडी हो; अनि ख्रीष्‍ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैँ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौँ। तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्‍ने कुरा प्रकट गर्दछ। तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको हैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ। झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ। पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न; जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ। होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ। अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन। तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु। तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो। अब हे प्यारा साना नानीहरू हो, उहाँमा रहिरहो; अनि जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अगि हामीले शर्माउन नपरोस्। ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठिक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:1-29 पवित्र बाइबल (NERV)

मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ। येशू हाम्रो पाप क्षमा गर्ने माध्यम हुनुहुन्छ अनि सम्पूर्ण संसारका मानिसहरूको पापहरू पनि क्षमा गराउनुहुन्छ। यदि उहाँको आदेश पालन गर्यौं भने हामी निश्चित हुन्छौं कि हामीले परमेश्वरलाई चिन्यौं। एक व्यक्तिले भन्न सक्छ, “म परमेश्वरलाई चिन्छु।” तर यदि त्यस व्यक्तिले परमेश्वरका आदेशहरूको पालन गर्दैन भने त्यो मानिस झूटो हो, उसकोमा सत्य हुँदैन। तर एक व्यक्तिले परमेश्वरको शिक्षा पालन गर्छ तब त्यस व्यक्तिमा परमेश्वरको प्रेमको लक्ष्य रहेको हुन्छ। यसरी नै हामी जान्न सक्छौ कि हामी परमेश्वरको अनुशरण गरिरहेछौ। यदि कुनै व्यक्तिले ऊ परमेश्वरमा बाँच्न चाहन्छ भने ऊ येशू बाँचे झैं बाँच्नु पर्छ। मेरा प्रिय मित्रहरू, म तिमीहरूको तिम्ति नयाँ आदेश लेखिरहेको छैन। यो त्यही आदेश हो जो तिमीहरूले शुरुदेखि पाएका थियौ। यो आदेश तिमीहरूले अघि नै सुनिसकेको शिक्षा हो। तर पनि म तिमीहरूको निम्ति यो आदेशलाई नयाँ आदेशको रुपमा लेख्दैछु। यो आदेश सत्य छ; अनि यसको सत्यता येशू अनि तिमीहरू स्वयंमा देख्न सक्छौ। अन्धकार हट्दैछ अनि सत्य ज्योति अघि देखि चम्किरहेछ। एक व्यक्तिले भन्ला, “म प्रकाशमा छु।” तर यदि त्यो व्यक्तिले आफ्ना भाइहरूलाई घृणा गर्छ भने त्यो अझ अन्धकारमा छ। जसले आफ्ना भाइ अनि बहिनीहरूलाई प्रेम गर्छ, त्यो प्रकाशमा बसेको हुन्छ अनि जसले पाप गराँउछ त्यस्तो त्यस व्यक्तिमा केही पनि हुँदैन। तर मानिस जसले आफ्ना भाइहरूलाई घृणा गर्छ तब ऊ अन्धकारमा हुन्छ। त्यस मानिस अंन्धकारमा हुन्छ अनि त्यो व्यक्तिले आफ्नो गन्तव्य स्थान जान्दैन। किनभने अन्धकारले उसलाई अन्धा तुल्याएको हुन्छ। प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन्। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू उहाँलाई चिन्दछौ, जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौ। बालकहरू, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरू पितालाई चिन्दछौ। पिताहरू, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरू उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरू बलियो छौ, अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ, अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ। संसारलाई अथवा संसारमा भएका कुराहरूलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन। संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ। मेरा प्यारा बालकहरू, अन्त धेरै नजिक छ। तिमीहरूले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरू यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ। ख्रीष्टका शत्रुहरू हाम्रा समूहमा थिए। तर तिनीहरूले हामीलाई त्याग गरे। तिनीहरू वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरू हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरूले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरू कोही पनि वास्तवमा हामिसित थिएनन्। तिमीहरूसित पवित्र “एक” ले प्रदान गर्नु भएको बरदान छ। यसर्थ तिमीहरू सबैले सत्य जान्दछौ। मैले तिमीहरूलाई किन लेख्नु? के, मैले तिमीहरूलाई सत्य जान्दैनौं भनेर लेख्नु? अँहँ! म यो पत्र तिमीहरूले सत्य जान्दछौ भनेर लेख्छु। अनि तिमीहरू जान्दछौ कि कुनै पनि असत्य सत्यबाट आउँदैन। यसर्थ, झूटो को हो? यो त्यो मानिस हो जसले येशू ख्रीष्ट छैनन् भन्छ अनि ऊ ख्रीष्टको शत्रु हो। उसले पिता र पुत्रलाई अस्वीकार गर्छ। त्यो मानिस जसले पुत्रलाई अस्वीकार गर्छ, उसको पिता पनि छैन। तर त्यो मानिस जसले पुत्रलाई स्वीकार गर्छ उसका पिता पनि हुनुहुन्छ। जुन तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा छ त्यसलाई दरिलोसित राख। यदि तिमीहरूले शुरुदेखि सुन्दै आएको शिक्षा तिमीहरूमा रहन्छ भने तिमीहरू पुत्र र पितामा रहनेछौ। अनि यही नै हो जो पुत्रले हामीसित प्रतिज्ञा गरेको अनन्त जीवन। म ती मानिसहरूको बारेमा यो पत्र लेखिरहेको छु, जो तिमीहरूलाई धोका दिने कोशिश गरिरहेका छन्। ख्रीष्टले तिमीहरूलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरूसित अझ छ। यसर्थ तिमीहरूलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरूलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरूलाई सिकाएको छ त्यसैमा अडी बस। हे, मेरा प्यारा बालकहरू, उहाँमा बाँची रहौं। यदि हामीले यसो गर्यौ भने त्यसदिन जब ख्रीष्ट आउँनु हुन्छ हामी निर्भय रहन सक्छौं। अनि हामी उहाँको अघि लज्जित हुनु पर्दैन। तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्

१ यूहन्‍ना 2:1-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्‍यारा बालकहरू हो, तिमीहरूले पाप नगर भनेर तिमीहरूलाई यो लेख्‍दै छु। तर कसैले पाप गरिहाल्‍यो भने पनि हाम्रो पक्षमा परमेश्‍वरसँग बिन्‍ती गरिदिनुहुने एक जना धार्मिक येशू ख्रीष्‍ट हामीसँग हुनुहुन्‍छ। उहाँ हाम्रो पाप मेट्‍न नै बलिदान हुनुभएको हो। हाम्रो लागि मात्र होइन, तर सबै मानिसका लागि हो। हामीले उहाँको आज्ञा मान्‍ने गर्‍यौं भने साँच्‍चै हामीले उहाँलाई चिनेका रहेछौं भनेर थाहा हुन्‍छ। कसैले उहाँलाई चिन्‍छु भन्‍छ तर उहाँको आज्ञा मान्‍दैन भने त्‍यो झूटो हो अनि त्‍यसमा सत्‍य हुँदैन। तर जसले उहाँको वचन मान्‍ने गर्छ, उसले परमेश्‍वरलाई पूरा प्रेम गरेको हुन्‍छ। यसैबाट हामी उहाँमा छौं भनेर जान्‍नेछौं। परमेश्‍वरमा छु भन्‍ने मानिसले ख्रीष्‍टकै जस्‍तो चालचलनमा हिँड्‍नुपर्छ। प्रिय भाइहरू, तिमीहरूलाई लेखेको यो आज्ञा नयाँ होइन। तर सुरुदेखि नै चलिआएको पुरानो आज्ञा हो अनि तिमीहरूले सुनेका शिक्षा नै पुरानो आज्ञा हो। तैपनि मैले लेख्‍न लागेका आज्ञाचाहिँ नयाँ हो। यसको सत्‍य ख्रीष्‍टमा देखा परेको छ र तिमीहरूमा पनि देखिन्‍छ किनभने अँध्‍यारो हराउँदै जाँदै छ र उज्‍यालो आउन थालिसकेको छ। कसैले उज्‍यालोमा छु भन्‍छ तर आफ्‍नो भाइलाई नै हेला गर्छ भने त्‍यो अझै अन्‍धकारमा नै छ। आफ्‍नो भाइलाई माया गर्नेचाहिँ उज्‍यालोमा हुन्‍छ र अरूलाई बाधा हुने कुनै कुरा उसमा हुँदैन। भाइलाई हेला गर्नेचाहिँ अँध्‍यारोमा हुन्‍छ। अँध्‍यारोमा हिँड्दा कहाँ जाँदै छ, उसलाई पत्तो हुँदैन किनभने अँध्‍यारोको कारणले आँखा देख्‍दैन। प्‍यारा बालकहरू, ख्रीष्‍टको नाउँका खातिर तिमीहरूका पाप मेटिएका हुनाले तिमीहरूलाई म यो लेख्‍दै छु। बुबाहरू हो, सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिन्‍छौ। यसकारण म तिमीहरूलाई लेख्‍दै छु। तन्‍नेरीहरू हो, तिमीहरूले दुष्‍ट शैतानलाई जितेका छौ। त्‍यसैकारण म तिमीहरूलाई लेख्‍दै छु। बालकहरू हो, तिमीहरूले परमेश्‍वर पितालाई चिनेका छौ। त्‍यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। बुबाहरू हो, जो सुरुदेखि नै हुनुहुन्‍छ, उहाँलाई तिमीहरू चिन्‍दछौ। त्‍यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। तन्‍नेरीहरू हो, तिमीहरू बलिया छौ अनि परमेश्‍वरको वचन तिमीहरूभित्र रहेको छ। तिमीहरूले दुष्‍ट शैतानलाई जितेका छौ। त्‍यसैकारण तिमीहरूलाई लेखेको हुँ। संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्‍वरलाई प्रेम गर्दैन। संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्‍छा र जीवनको घमण्‍ड– यी कुराहरू परमेश्‍वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्। संसार र संसारका कुइच्‍छाहरू नाश भएर जान्‍छन्, तर परमेश्‍वरको इच्‍छामा लागिरहने मान्‍छेचाहिँ सधैँभरि रहिरहन्‍छ। मेरा बालकहरू, यो आखिरी समय हो। ख्रीष्‍टविरोधी आउँदै छ भनेर तिमीहरूलाई भनिएको थियो। ख्रीष्‍टका धेरै शत्रुहरू त अघि नै आइसके। यसैबाट हामीले यो आखिरी समय हो भनेर थाहा पाउनेछौं। तिनीहरू हाम्रा थिएनन् र त्‍यसैले हामीलाई छोडेर गए। यदि हाम्रा भए हामीसँगै रहने थिए। तिनीहरू हाम्रा होइनन् भन्‍ने कुरा छर्लङ्ग हुन तिनीहरूले हामीलाई छोडेका हुन्। तर तिमीहरूलाई चाहिँ ख्रीष्‍टले पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ र सत्‍य तिमीहरू सबैले जान्‍दछौ। तिमीहरू सत्‍यलाई चिन्‍दैनौ भनेर लेखेको होइन, तर तिमीहरूले सत्‍यलाई चिन्‍दछौ भनेरै लेखेको हुँ। सत्‍यबाट झूटो निक्लिँदैन भन्‍ने कुरा पनि तिमीहरूलाई थाहै छ। अनि झूटो को हो त? येशू ख्रीष्‍ट मुक्तिदिने राजा हुनुहुन्‍न भन्‍ने नै झूटो हो। त्‍यस्‍तो व्‍यक्ति नै ख्रीष्‍टविरोधी हो। यसले परमेश्‍वर पिता र पुत्र कसैलाई मान्‍दैन। पुत्रलाई नमान्‍नेले पितालाई नै मान्‍दैन अनि पुत्रलाई मान्‍नेले पितालाई पनि मान्‍दछ। त्‍यसो हुँदा तिमीहरूले सुरुदेखि नै सुनेका शिक्षालाई मनमा लिइराख। तिमीहरूले सुनेका शिक्षा तिमीहरूको मनमा छ भने परमेश्‍वर पिता र पुत्रमा तिमीहरू पनि रहनेछौ। उहाँले प्रतिज्ञा गर्नुभएको अनन्त जीवन यही नै हो। यी सबै कुरा तिमीहरूलाई भर्माउनेहरूको बारेमा लेखेको हुँ। तर तिमीहरूमाथि चाहिँ ख्रीष्‍टले आफ्‍नो पवित्र आत्‍मा खन्‍याइदिनुभएको छ। तिमीहरूमा पवित्र आत्‍मा रहनुभएसम्‍म कसैले पनि तिमीहरूलाई सिकाउनुपर्दैन किनभने पवित्र आत्‍माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुन्‍छ। उहाँले सिकाउनुभएको कुरा सत्‍य हुन्‍छ, झूटो हुँदैन। पवित्र आत्‍माले दिनुभएको शिक्षा मानेर ख्रीष्‍टमा रहने गर। मेरा बालकहरू, उहाँमा रहो र उहाँ देखा पर्नुहुँदा हामीले साहस पाउनेछौं अनि उहाँ आउनुहुने त्‍यो दिन उहाँको अघि हामीले लाज मान्‍नुपर्नेछैन। ख्रीष्‍ट धर्मी हुनुहुन्‍छ भनी तिमीहरूलाई थाहै छ। त्‍यसो हुँदा तिमीहरूले जान्‍नुपर्दछ कि परमेश्‍वरको अघि ठीक हुने काम गर्नेचाहिँ परमेश्‍वरकै सन्‍तान हुन्।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 2 पढ्नुहोस्