१ कोरिन्थी 6:12-20
१ कोरिन्थी 6:12-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ। “भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो।” तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ। परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ। तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्टका अङ्गहरू लिएर तिनलाई वेश्याका अशुद्ध अङ्ग तुल्याऊँ? यो कदापि नहोस्! वेश्यासँग जोडिने मानिस शरीरमा त्यससँग एक हुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्।” तर जो प्रभुसँग एक हुन्छ, त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ। तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
१ कोरिन्थी 6:12-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरो लागि सबै कुरा उचित छन्” तिमी भन्दछौ—तर सबै कुरा लाभदायक छैनन्। “मेरो लागि सबै कुरा उचित छन्,” तर म कुनै कुराको पनि सेवक हुनेछैनँ। तिमी भन्दछौ, “पेटको निम्ति भोजन र भोजनको निम्ति पेट, तर परमेश्वरले यी दुवैलाई नष्ट गर्नुहुनेछ।” हाम्रो शरीर यौन अनैतिकताको निम्ति होइन, तर प्रभुको सेवाको निम्ति हो; अनि प्रभुले हाम्रो शरीरको वास्ता गर्नुहुन्छ। परमेश्वरले आफ्नो शक्तिद्वारा प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, र उहाँले आफ्नो शक्तिद्वारा हामीलाई पनि जीवित पार्नुहुनेछ। के तिमीहरूलाई थाहा छैन, तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्? त्यसो भए के म ख्रीष्टका अङ्गहरूलाई लिएर वेश्यासँग एक बनाउने त? कदापि हुँदैन! के तिमीहरूलाई थाहा छैन, जसले आफूलाई वेश्यासँग जोड्छ, ऊ त्यो वेश्यासँग शरीरमा पनि एक हुन्छ? किनकि यसरी लेखिएको छ, “ती दुई एउटै शरीर हुनेछन्।” तर जसले आफूलाई प्रभुसँग जोडेको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ। तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। के तिमीहरू जान्दैनौ, तिमीहरूका शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ र उहाँलाई तिमीहरूले परमेश्वरबाट प्राप्त गरेका छौ? तिमीहरू आफ्नै होइनौ; किनभने तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीरद्वारा परमेश्वरको आदर गर।
१ कोरिन्थी 6:12-20 पवित्र बाइबल (NERV)
“सबै कुरा मेरा निम्ति असल छन्,” तर सबै कुरा फाइदा का छैनन्। “म जे गर्न पनि स्वतन्त्र छु।” तर म कुनैलाई आफ्नो मालिक हुन दिने छुइन्। “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो।” यो ठिक हो। तर परमेश्वरले ती दुवैलाई नाश पार्नु हुनेछ। शरीर यौन अपराधको निम्ति होइन शरीर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनु हुन्छ। परमेश्वरले आफ्नो शक्तिले प्रभु येशूलाई मृत्युबाट बौराउनु भयो। परमेश्वरले हामीलाई पनि मृत्युबाट बौराउनु हुनेछ। तिमीहरूको शरीरहरू ख्रीष्टका अंगहरू हुन् यो कुरो तिमीहरूलाई थाहा छ। यसैले मैले ख्रीष्टका अंगहरूलाई कुनै वेश्याको अंगसित एक बनाउनु हुदैंन। शास्त्रमा लेखिएको छः “ती दुइजना मानिसहरू एक जीउ बन्नेछ।” यसैले तिमीहरूले बुझनु पर्छ वेश्यासित यौन सम्बन्ध राख्ने मानिस वेश्याकै शरीरसित एक बन्नेछ। तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ। यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ। तिमीले बुझ्नु पर्छ कि तिम्रो शरीर पवित्र आत्माको मंदिर हो। पवित्र आत्मा तिमी भित्र छ। परमेश्वरबाट तिमीले त्यो पवित्र आत्मा पाएकाछौ यसकारण तिमी आफ्नो मालिक होइनौ। परमेश्वरद्वारा मोल तिरेर तिमी किनिएकाछौ। यसैले आफ्नो शरीरद्वारा परमेश्वरको सम्मान गर।
१ कोरिन्थी 6:12-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैले भन्ला, “मैले जे गरे पनि हुन्छ।” तर सबै कुराले तिमीहरूको भलाइ गर्दैन। म पनि भन्न सक्थें, “मैले जे गर्दा पनि हुन्छ।” तर म कुनै कुराको कमारो बन्न चाहन्नँ। “खानेकुरो पेटको लागि हो, पेट खानेकुराको लागि हो,” कसैले भन्ला। ठीकै हो, तर परमेश्वरले यी दुवैलाई खारिज गर्नुहुनेछ। मानिसको शरीर व्यभिचारको लागि होइन, प्रभुको लागि हो अनि शरीरको लागि चाहिने कुरा प्रभुले नै बन्दोबस्त गर्नुहुन्छ। परमेश्वरले प्रभुलाई मरेकाबाट बिउँताउनुभयो अनि उहाँकै शक्तिले हामीलाई पनि बिउँताउनुहुनेछ। तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन् भनी के तिमीहरूलाई थाहा छैन। त्यसो भए के म ख्रीष्टको अङ्गलाई लगेर वेश्याको अङ्ग बनाऊँ? यो हुनै नसक्ने कुरो हो। वेश्याकहाँ जाने वेश्यासँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले सफासँग भन्छ,’ “दुई जना मिलेर एउटै शरीर हुनेछ,” तर ख्रीष्टसँग मिल्नेचाहिँ उहाँसँग आत्मामा एउटै हुनेछ। व्यभिचारलाई त्याग। अरू पाप मानिसले आफ्नो शरीरदेखि बाहिर गर्दछ, तर व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्ध पाप गर्दछ। के तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भनी तिमीहरूलाई थाहा छैन? परमेश्वरले दिनुभएको पवित्र आत्मा नै तिमीहरूको शरीरभित्र बस्नुहुन्छ। त्यसो हुँदा तिमीहरू आफैं पनि आफ्ना होइनौ। तिमीहरूलाई परमेश्वरले मोल तिरेर किन्नुभएको हो। यसकारण तिमीहरूले आफ्नो शरीरले परमेश्वरको आदर गर।