१ कोरिन्थी 3:1-9
१ कोरिन्थी 3:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, तिमीहरूसँग बोल्दा आत्मिक जनहरूसँग बोलेजस्तै म बोल्न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकसँग बोलेजस्तै म बोल्न सकें। मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्यसको निम्ति तयार थिएनौ, अनि अझ पनि छैनौ। तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्ने साधारण मानिसजस्ता भएनौ र? किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र? अपोल्लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ। मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो। यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ। रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ। किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ।
१ कोरिन्थी 3:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्यो। मैले तिमीहरूलाई खँदिलो भोजन होइन, दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अझ पनि तिमीहरू तयार छैनौ। तिमीहरू अझै पनि सांसारिक नै छौ; किनकि तिमीहरूका बीचमा डाह र कलहहरू छन्। त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र? किनकि जब एउटाले “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्लोसको हुँ,” भन्छ भने के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र? त्यसो हो भने अपोल्लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्वास गर्यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्यौँ। मैले बिउ रोपेँ, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले नै त्यसलाई बढाउनुभएको हो। यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ।
१ कोरिन्थी 3:1-9 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो। मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएनौ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौ। तिमीहरू अझै पनि आत्मिक मानिस बनेका छैनौ। आपस्तमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ। यसले बुझाउँछ तिमीहरू आत्मिक होइनौ। संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ। तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्काले भन्छ, “म अपोल्लोसलाई मान्छु।” जब तिमीहरू माझमा त्यस्तै कुरा चल्छ भने के यसले तिमीहरूलाई संसारिक मानिस झैं देखाँउदैन र? अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं। मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो। यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं। अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो।
१ कोरिन्थी 3:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण भाइहरू, आत्मा हुनेहरूसँग जस्तै म तिमीहरूसँग बोल्न सकिनँ। म त तिमीहरूसँग शारीरिक स्वभावअनुसार चल्ने मानिसहरूसँग जस्तै गरी बोलें। ख्रीष्टमा साना बालकहरूजस्तै मैले तिमीहरूसँग बोल्नुपर्यो। यसैकारण मैले तिमीहरूलाई खँदिलो खाना होइन, दूधै खुवाउनुपर्यो किनभने खँदिलो खाना तिमीहरूले अघि पनि खान सकेनौ र अझै पनि सकेका छैनौ। अझै तिमीहरूले शारीरिक स्वभावअनुसार जीवन बिताउँछौ अनि तिमीहरूका बीचमा डाहा र झैझगडा छँदै छ। के त्यसो भए तिमीहरू शारीरिक स्वभावअनुसार चल्ने संसारका अरू मानिसजस्तै भएनौ र? कसैले म पावलको हुँ भन्नु र कसैले म अपोल्लोसको हुँ भन्नु सांसारिक मानिसहरूले भनेजस्तै भएन र? अपोल्लोस को हुन्? र पावल को हो? हामी दुवै तिमीहरूलाई विश्वासमा ल्याउने परमेश्वरका खेताला हौं। प्रभुले नै खटाउनुभएको काम हामी गर्छौं। मैले बिरुवा लगाएँ, अपोल्लोसले पानी हाले, तर बढाउने काम त परमेश्वरले नै गर्नुभयो। बिरुवा लाउने र पानी हाल्ने ठूलो होइन, तर बढाउने पो ठूलो हो। रोप्ने र पानी हाल्नेमा केही फरक छैन। परमेश्वरले सबैलाई आ-आफ्नो मेहनतअनुसार इनाम दिनुहुनेछ। हामीचाहिँ सबै काम गर्ने परमेश्वरका खेताला हौं अनि परमेश्वरको खेत तिमीहरू नै हौ। तिमीहरू परमेश्वरले बनाउनुहुने घर हौ।