१ इतिहास 21:1-30
१ इतिहास 21:1-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्नो प्रजा गन्नलाई सुर्यायो। यसैले तिनले योआब र आफ्ना फौजका अधिकृतहरूलाई बेर्शेबादेखि दानसम्मका इस्राएलीहरूको जनसंख्या लिएर तिनलाई बताउनू भनी आदेश दिए। योआबले जवाफ दिए, “परमप्रभुले आफ्ना फौजलाई सय गुणा बढ़ाइदेऊन्! के हजूर अझै तिनीहरूका राजा र सबै मानिसहरू हजूरका दास हुनेछैनन् र? हजूरले किन त्यसो गर्नुपर्छ र? तपाईंले इस्राएलमाथि किन दोष ल्याउनुहुन्छ?” तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। तिनी हिँड़िगए, र इस्राएलभरि घुमे। तब तिनी यरूशलेममा आएर दाऊदलाई आफूले लिएको जनसंख्या यसरी बताइदिए: “हतियार चलाउन सक्नेहरू इस्राएलमा एघार लाख र यहूदामा चार लाख सत्तरी हजार रहेछन्।” तर योआबले लेवी र बेन्यामीनको गन्ती लिएनन्, किनभने राजाको हुकुमले तिनी साह्रै अप्रसन्न भएका थिए। यो हुकुमबाट परमेश्वर पनि अप्रसन्न हुनुभयो, र इस्राएलीहरूलाई उहाँले दण्ड दिनुभयो। तब दाऊदले परमेश्वरलाई भने, “मैले साह्रै दुष्ट काम गरें। बिन्ती छ, आफ्नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु।” परमप्रभुले दाऊदका दर्शी गादलाई भन्नुभयो, “गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: म तेरो सामु तीन वटा प्रस्ताव राख्दैछु। तीमध्ये एउटा छान्, र म त्यो तँमाथि ल्याउनेछु’।” यसैले गाद दाऊदकहाँ गएर यसो भने, “परमप्रभु यही भन्नुहुन्छ: ‘एउटा चुन्— तीन वर्षको अनिकाल, तीन महिनासम्म तेरा शत्रुहरूद्वारा सताइनु, र उनीहरूका तरवारले तँ खेदिइनु, अथवा सारा देशमा विपत्ति ल्याउने परमप्रभुको आफ्नो तरवार— परमप्रभुका दूतद्वारा इस्राएलका सबै इलाकाहरू विनाश ल्याउने काम’। अब विचार गर्नुहोस्, मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो।” तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्टमा परेको छु। मलाई परमप्रभुको हातमा नै पर्न देऊ। किनभने उहाँको करुणा अति महान् छ। तर मलाई मानिसको हातमा पर्नु नपरोस्।” यसकारण परमप्रभुले इस्राएलभरि नै एउटा विपत्ति पठाउनुभयो, र इस्राएलका सत्तरी हजार मानिसहरू मरे। र परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गदूत पठाउनुभयो। तर तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बद्लेर ती नाश गर्ने स्वर्गदूतलाई भन्नुभयो, “अब भयो! तिम्रो हात थाम!” त्यसै बेला ती स्वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए। मास्तिर हेर्दा दाऊदले परमप्रभुका स्वर्गदूतलाई स्वर्ग र पृथ्वीका बीचमा आफ्नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब दाऊद र धर्म-गुरुहरू भाङ्ग्रा लाएर भूइँमा घोप्टो परे। अनि दाऊदले परमेश्वरलाई भने, “लड़ाकू मानिसहरूको गन्ती लिनलाई मैले पो हुकुम दिएको थिएँ। मैले पो पाप गरेको थिएँ। मैले पो दोष गरेको थिएँ। तर ती बिचरा भेड़ाहरूले के गरेका थिए र? हे परमप्रभु, मेरा परमेश्वर, तपाईंको हातको प्रकोप म र मेरो घरानामाथि परोस्, तर यो विपत्ति तपाईंको प्रजामाथि नपरोस्।” दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउनू भनी हुकुम गर भनेर परमप्रभुका स्वर्गदूतले गादलाई भने। परमप्रभुको नाउँमा गादले हुकुम गरेझैँ दाऊद त्यहाँ उक्लेर गए। अरौना आफ्नो गहूँ दाइँ गरिरहेका थिए। तिनी यसो फर्के, र ती स्वर्गदूतलाई देखे। अरौनासँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके। दाऊद तिनको छेउमा आइपुग्दा अरौनाले माथितिर हेरे, र राजालाई देखेर खलाबाट आई तिनको सामु घोप्टो परे। दाऊदले अरौनालाई भने, “मलाई यस खलाको जग्गा परमप्रभुको निम्ति एउटा वेदी बनाउन देऊ, ताकि प्रजामाथि परेको यो विपत्ति थामिओस्। त्यसको पूरै दाममा मलाई बेच।” अरौनाले दाऊदलाई जवाफ दिए, “त्यो लिनुहोस्, र महाराजालाई जस्तो इच्छा लाग्छ, गर्नुहोस्। होमबलिको निम्ति यहाँ गोरुहरू छन्, दाइँका काठहरू दाउराको निम्ति र गहूँ अन्नबलिको निम्ति छन्। म सबै थोक तपाईंलाई दिँदैछु।” तर दाऊद राजाले ओनानलाई भने, “होइन, म पूरै दाम दिनेछु। तिम्रो सम्पत्ति लिएर सित्तैँमा पाएका थोकको होमबलि म परमप्रभुलाई चढ़ाउनेछैनँ।” यसैले त्यस जग्गाको निम्ति दाऊदले अरौनालाई छ सय सुनका सिक्का दिए, र तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। त्यसैमा तिनले होमबलि र मेलबलि चढ़ाए, र परमप्रभुका नाउँको पुकारा गरे। अनि परमप्रभुले स्वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो। तब परमप्रभुको आज्ञाअनुसार ती स्वर्गदूतले आफ्नो तरवार म्यानमा हाले। त्यसै बेला परमप्रभुले यबूसी अरौनाको खलामा जवाफ दिनुभयो भनी देखेर दाऊदले त्यहाँ बलिदानहरू चढ़ाए। मोशाले उजाड़-स्थानमा बनाएको परमप्रभुको पवित्र वासस्थान र होमबलिको वेदी त्यस बेलासम्म गिबोनमा पूजा गर्ने स्थानमा नै थिए। तर परमप्रभुको अगुवाइ माग्न दाऊद जान सकेका थिएनन्, किनभने ती स्वर्गदूतको तरवारले तिनी साह्रै भयभीत भएका थिए।
१ इतिहास 21:1-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्यायो। यसकारण दावीदले योआब र सैन्यदलका सेनापतिहरूलाई भने, “जाओ, गएर बेर्शेबादेखि दानसम्मै इस्राएलीहरूको गन्ती गर; अनि आएर मलाई बताऊनू; ताकि म तिनीहरूका संख्या कति रहेछन्, म त्यो थाहा पाउन सकूँ।” तर योआबले जवाफ दिए, “याहवेहले उहाँको फौजलाई सय गुणा बढाऊन्। मेरा मालिक महाराजा, के तिनीहरू सबै मेरा मालिककै सेवकहरू होइनन् र? मेरा मालिकले किन यसो गर्न चाहनुहुन्छ? किन हजुरले इस्राएलमाथि दोष ल्याउनुहुन्छ?” तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। यसकारण योआब त्यहाँबाट निस्केर गए; र पूरा इस्राएलभरि घुमे। त्यसपछि यरूशलेममा फर्केर आए। योआबले दावीदलाई लडाकु मानिसहरूको संख्या बताइदिए: अनि सारा इस्राएलमा तरवार चलाउन सक्ने एघार लाख र यहूदामा चार लाख सत्तरी हजार मानिसहरू थिए। तर योआबले लेवी र बेन्यामीनलाई त्यस गणनामा सामेल गराएनन्; किनकि तिनलाई राजाको आदेश घृणित लागेको थियो। यो आदेश परमेश्वरको दृष्टिमा पनि दुष्ट काम थियो; यसकारण उहाँले इस्राएललाई दण्ड दिनुभयो। तब दावीदले परमेश्वरलाई भने, “मैले यो काम गरेर ठूलो पाप गरेको छु। अब म तपाईंलाई बिन्ती गर्दछु, आफ्नो सेवकको दोष क्षमा गरिदिनुहोस्, किनकि मैले ठूलो मूर्ख काम गरेको छु।” याहवेहले दावीदका भविष्यवक्ता गादलाई भन्नुभयो, “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ” यसकारण गाद गएर दावीदलाई भने, “याहवेह यसो भन्नुहुन्छ, ‘तैँले यीमध्ये एउटा चुन्: तीन वर्षको अनिकाल, अथवा तीन महिनासम्म तेरा शत्रुहरूका तरवारद्वारा विनाश भइरहनु, अथवा तीन दिनसम्म देशमा याहवेहको आफ्नो तरवारद्वारा विपत्ति ल्याइनु, अथवा याहवेहको दूतद्वारा इस्राएलका हरेक ठाउँमा विनाश आइलाग्नु।’ अब मैले आफूलाई पठाउनुहुनेकहाँ के जवाफ दिने, त्यो निर्णय दिनुहोस्।” दावीदले गादलाई भने, “म ठूलो सङ्कष्टमा परेको छु। मलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।” यसकारण याहवेहले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र इस्राएलमा सत्तरी हजार मानिसहरू मरे। परमेश्वरले यरूशलेमलाई नाश गर्नलाई एक जना दूत पठाउनुभयो। तर त्यस दूतले नष्ट गरिरहेको बेला याहवेहले देख्नुभयो, र त्यस विपत्तिको कारण उहाँ दुःखी हुनुभयो; अनि मानिसहरूलाई नाश गरिरहेका दूतलाई भन्नुभयो, “भयो, अब आफ्नो हात रोक।” त्यस बेला याहवेहका दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए। दावीदले आफ्ना आँखा मास्तिर उठाउँदा याहवेहका ती दूतले हातमा थुतेको नाङ्गो तरवार यरूशलेममाथि पसारेर स्वर्ग र पृथ्वीको बीचमा उभिरहेका देखे। तब दावीद र प्रधानहरू भाङ्ग्रा लगाएर भुइँतिर घोप्टो परे। दावीदले परमेश्वरलाई भने, “के लडाकु मानिसहरूको गन्ती लिनु भनेर आदेश दिने म होइन र? म गोठालोले पाप गरेको हुँ, र मैले नै गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। यिनीहरूले के गरेका छन् र? हे याहवेह मेरा परमेश्वर, तपाईंका हातका विपत्ति म र मेरा परिवारमाथि परोस्, तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नपरोस्।” त्यसपछि याहवेहका दूतले गादलाई यसो भन्ने आज्ञा दिए, दावीद यबूसी अरौनाको खलामा जाओस् र याहवेहका निम्ति एउटा वेदी बनाओस्। यसकारण गादले याहवेहको नाममा भनेका कुरा पालन गरेर दावीद माथि उक्लेर गए। त्यस बेला अरौनाचाहिँ गहुँ कुटिरहेका थिए। तब तिनी फनक्क फर्के, र दूतलाई देखे; तिनीसँग भएका तिनका चार जना छोराहरूचाहिँ लुके। जब दावीद अरौनाकहाँ गए, तब अरौनाले तिनलाई आइरहेको देखे। तिनी खला छोडेर गए, र तिनको सामु भुइँतिर घोप्टो परेर दण्डवत् गरे। दावीदले तिनलाई भने, “मलाई तिम्रो खलामा ठाउँ देऊ, ताकि म याहवेहका निम्ति एउटा वेदी बनाउन सकूँ, र मेरा मानिसहरूमाथि आएको विपत्ति थामियोस्। मलाई पूरा दाममा खला बेच।” अरौनाले दावीदलाई भने, “हजुरले यो खला लिनुहोस्! अनि मेरा मालिक राजालाई जे असल लाग्छ, त्यही गर्नुहोस्। म होमबलिहरूका निम्ति गोरुहरू, दाउराका निम्ति दाइँ गर्ने काठहरू, र अन्नबलिको निम्ति गहुँ दिनेछु; म यी सबै चीजहरू दिनेछु।” तर राजा दावीदले अरौनालाई जवाफ दिए, “होइन, म पूरा मूल्य दिनेछु; म याहवेहका निम्ति तिम्रो कुनै पनि चीज, अर्थात् बलिदानका निम्ति होमबलिहरू सित्तैँमा लिनेछैनँ।” यसकारण दावीदले अरौनालाई त्यस खलाका निम्ति छ सय सेकेल सुन दिए। त्यहाँ दावीदले याहवेहका निम्ति एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए। तिनले याहवेहलाई पुकारे; तब याहवेहले होमबलिको वेदीमा स्वर्गबाट आगो बर्साएर दावीदलाई जवाफ दिनुभयो। त्यसपछि याहवेहले दूतसँग कुरा गर्नुभयो, र तिनले आफ्नो तरवार म्यानभित्र हाले। त्यसै बेला जब दावीदले यबूसी अरौनाको खलामा याहवेहले तिनलाई जवाफ दिनुभएको देखे, तब तिनले त्यहीँ बलिहरू चढाए। त्यस बेला मोशाले उजाडस्थानमा बनाएको याहवेहको समागम पाल र होमबलिको वेदी गिबोनको अग्लो ठाउँमा थिए। तर दावीद परमेश्वरसँग सल्लाह लिन त्यसको सामु जान सकेनन्; किनकि तिनी याहवेहका दूतको तरवारदेखि डराएका थिए।
१ इतिहास 21:1-30 पवित्र बाइबल (NERV)
शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो। यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जसद्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।” तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।” तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए। अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे। योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन। परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो। तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खतापूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।” गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो, “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।’” तब गाद दाऊद कहाँ गए र गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन चाँही दण्ड तिमी चाहन्छौ? अनिकालको तीन बर्ष, वा तीन महीनासम्म तेरो शत्रुहरू देखि भागी हिँड्नु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्नेछन् अथवा परमप्रभुबाट तीन दिनको दण्ड। या भयानक रूढ़ी देश भरि फैलिने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद, परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईंले निर्णय गर्नुहोस्, कुन उत्तर मैले उहाँलाई दिनु?” दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।” यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे। परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए। दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूईँ छुनेगरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए। दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईंका मानिसहरूलाई मारिरहेछ।” तब परमप्रभुका स्वर्गदूतले गादलाई भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।” गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खलातिर गए। ओर्नान गहुँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे। दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूईँ छुनेगरी शिर झुकाई प्रणाम गरे। दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।” ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाईं मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।” तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिँदिन। म त्यो भेट अर्पण गर्दिनँ जसको कुनै मूल्य दिनु पर्दैन।” यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए। दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो। तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो। दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए। (पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए। दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।)
१ इतिहास 21:1-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शैतानले इस्राएल जातिमाथि कष्ट ल्याउन चाहन्थ्यो र त्यसले दाऊदलाई जनसङ्ख्या लिने विचार गर्न लायो। दाऊदले योआब र अरू अधिकृतहरूलाई यसो भने, “सारा इस्राएल देशमा बेर्शेबादेखि दानसम्म जाओ र मानिसहरूका गन्ती लेओ। तिनीहरूको सङ्ख्या कति छ, म जान्न चाहन्छु।” योआबले जवाफ दिए, “परमप्रभुले इस्राएलका मानिसहरूलाई अहिलेको भन्दा सय गुणा बढ्ता बनाऊन्! राजन्! ती सबै हजुरका सेवक हुन्। के तपाईं गन्ती लिएर सारा जातिलाई दोषी तुल्याउन चाहनुहुन्छ?” तर राजाले योआबलाई आज्ञापालन गर्न लाए। योआब हिँडे र इस्राएल देशभरि यात्रा गरे र यरूशलेममा फर्के। उनले दाऊद राजालाई सैनिक सेवा गर्न लायक पुरुषहरूको सङ्ख्या यस प्रकार दिए– इस्राएलमा ११,००,००० र यहूदामा ४,७०,०००। योआबले राजाको सो आज्ञा रुचाएका थिएनन् र लेवी र बेन्यामीन कुलको गन्ती लिएनन्। त्यस कामले परमेश्वर अप्रसन्न हुनुभयो र इस्राएललाई दण्ड दिनुभयो। दाऊदले परमेश्वरलाई भने, “यी काम गरेर मैले डरलाग्दो पाप गरें! कृपा गरी मलाई क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरें।” तब परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, “जा र दाऊदलाई भन् कि म त्यसलाई तीन कुरामा एउटा कुरा रोज्न दिँदै छु। त्यसले जे रोज्छ, म त्यही गर्नेछु।” गाद दाऊदकहाँ गएर परमेश्वरले भन्नुभएको कुरा राजालाई सुनाए। उनले सोधे, “हजुर, कुनचाहिँ रोज्नुहुन्छ? देशमा तीन वर्षसम्म अनिकाल कि तीन महिनासम्म शत्रुहरूदेखि भागिहिँड्नु कि तीन दिनसम्म परमप्रभुको तरवारद्वारा प्रहार? त्यस प्रहारद्वारा महामारी पठाउनुभएर आफ्ना स्वर्गदूतद्वारा परमप्रभुले सारा इस्राएल देशमा मृत्यु ल्याउनुहुनेछ? परमप्रभुलाई म के उत्तर लैजाऊँ?” दाऊदले गादलाई उत्तर दिए, “म सङ्कटमा परें! तर म मानिसहरूबाट दण्ड पाउन चाहन्नँ। परमप्रभु आफैंले मलाई दण्ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्छ।” यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो र सत्तरी हजार मानिसहरू मरे। त्यसपछि यरूशलेम नाश गर्न उहाँले एउटा स्वर्गदूत पठाउनुभयो तर आफ्नो विचार बदल्नुभएर दूतलाई यसो भन्नुभयो, “बस, भयो! बन्द गर!” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलाछेउनिर उभिएका थिए। दाऊदले स्वर्गदूतलाई हातमा तरवार लिई यरूशलेम नाश गर्न तयार भई बीच आकाशमा उभिरहेका देखे। तब दाऊद र अगुवाहरूले भाङ्ग्रा लाएर भूइँमा घोप्टो परी ढोगे र मुखले भूइँ छोए। दाऊदले प्रार्थना गरे, “हे परमेश्वर! दोषी म हुँ। जनगणना होस् भनी आज्ञा गर्ने म हुँ। यी बिचराहरूले के गरे र? परमप्रभु, मेरा परमेश्वर, म र मेरा परिवारलाई दण्ड दिनुहोस्, आफ्ना प्रजालाई छोडिदिनुहोस्।” परमप्रभुको दूतले दाऊदले गएर अरौनाको खलामा परमप्रभुको निम्ति एउटा वेदी बनाओस् भनी तिनलाई आदेश दिन गादलाई भने। दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार उनी गए। अरौना र तिनका चार छोराहरू आफ्ना खलामा गहुँ दाइँ गरिरहेका थिए। जब तिनीहरूले स्वर्गदूतलाई देखे, ती चार छोरा भागेर लुक्न गए। अरौनाले दाऊद राजालाई देख्ने बित्तिकै खला छोडेर आए र राजाको अघि भूइँमा घोप्टो परेर ढोग गरे। दाऊदले उनलाई भने, “मलाई तिम्रो खला बेच र यो महामारी रोक्नलाई त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउनेछु। म तिमीलाई त्यसको पूरा दाम दिनेछु।” “राजा, लिनुहोस्, खला तपाईंकै हो,” अरौनाले भने, “र आफूले इच्छा गरेअनुसार गर्नुहोस्। यो वेदीमा होमबलि गर्न यी गोरुहरू छन्, आगो बाल्न यी खलाका फल्याकहरू छन् र भेटी चढाउन गहुँ छन्। यी सबै म तपाईंलाई टक्र्याउँदछु।” तर राजाले उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिनेछु। तिम्रा चीज सित्तैंमा लिएर म परमप्रभुलाई भेटी चढाउनेछैनँ।” अनि उनले अरौनालाई त्यो खलाको लागि छ सय सुनका मुद्राहरू दिए। त्यहाँ उनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होमबलि र मेलबलि चढाए। उनले प्रार्थना गरे र परमप्रभुले वेदीमा चढाइएका बलिहरू भस्म पार्न स्वर्गबाट आगो पठाउनुभयो र त्यसरी उत्तर दिनुभयो। परमप्रभुले स्वर्गदूतलाई आफ्नो हातको तरवार म्यानमा हाल्न आज्ञा गर्नुभयो र स्वर्गदूतले त्यसै गरे। त्यस बेला परमप्रभुले मेरो प्रार्थना सुन्नुभएछ भनी दाऊदले थाहा पाए। उनले अरौनाको खलामा बनाएको वेदीमा बलिहरू पठाए। उजाड-भूमिमा मोशाले बनाएको परमप्रभु बास गर्नुहुने पवित्र पाल र होमबलि चढाउने वेदी र त्यस बेलासम्म गिबोनको पूजा-स्थलमा थिए। तर दाऊद परमेश्वरलाई पुज्न त्यहाँ जान सकेनन् किनभने उनी परमप्रभुको स्वर्गदूतको तरवारसित डराउँथे।