रोमी 8:8-14
रोमी 8:8-14 NCV
शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्। तर यदि तिमीहरूसँग ख्रीष्ट हुनुहुन्छ भने तिमीहरूको शरीर पापले गर्दा मरेको भए तापनि धार्मिकताले गर्दा आत्माले तिमीहरूलाई जीवन दिनुहुन्छ। अनि यदि येशूलाई मरेकाबाट पुनर्जीवित पार्नुहुने परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रीष्टलाई मरेकाबाट पुनर्जीवित पार्नुहुनेले नै तिमीहरूका नाशवान् शरीरलाई पनि उहाँकै आत्माद्वारा जीवन दिनुहुनेछ, जुन आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ। यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ। किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ। किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्।


