मर्कूस 8:22-37

मर्कूस 8:22-37 NCV

उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्‍टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे। येशूले त्यस दृष्‍टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, “के तिमीले केही देख्यौ?” त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।” येशूले आफ्ना हात फेरि एक पल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्‍टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्‍टसँग देख्यो। येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।” येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?” तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ।” येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्‍नू भनी कडा आज्ञा दिनुभयो। तब उहाँले तिनीहरूलाई मानिसको पुत्रले धेरै दुःखहरू सहनुपर्छ; अनि प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ; मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो। उहाँले यस विषयमा स्पष्‍ट रूपले भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे। तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा होइजा,” उहाँले भन्‍नुभयो, “तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।” तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्‍नुभयो: “यदि कोही मेरो चेला बन्‍न चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र?

मर्कूस 8 पढ्नुहोस्