मत्ती 16:13-23

मत्ती 16:13-23 NCV

जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?” सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।” येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। म तिमीलाई भन्दछु, तिमी पत्रुस हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।” तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो। त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले। येशूले फर्केर पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”

मत्ती 16 पढ्नुहोस्