प्रस्थान 32:1-5
प्रस्थान 32:1-5 NCV
जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलो गरेका देखे, तब तिनीहरू हारूनका वरिपरि भेला भएर भने, “उठ्नुहोस्, हाम्रा अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशालाई के भयो, हामी जान्दैनौँ।” हारूनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूका पत्नीहरू र तिमीहरूका छोराछोरीहरूले लगाइराखेका कानका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।” यसकारण सबै मानिसहरूले आफ्ना कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए। तिनीहरूले दिएका ती चीजहरू हारूनले लिए, र त्यसलाई ढालेर हतियारले खोपेर त्यसबाट एउटा बाछाको मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने देवता यिनै हुन्।” जब हारूनले यो देखे, तिनले त्यस बाछाको सामु एउटा वेदी बनाएर घोषणा गरे, “भोलि याहवेहका निम्ति एउटा चाड हुनेछ।”

