नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्। यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए; अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।” तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।” राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्। तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!” तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।” तब राजाले भने, “म निश्चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ। यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्नेछु।” ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्। राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।” यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए। यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए। जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे। तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए। त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्। तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए।
दानिएल 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 2:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू