1 शमूएल 18:1-13

1 शमूएल 18:1-13 NCV

जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे। त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्। जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे। जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए। शाऊलले दावीदलाई जे-जे काम गर्न दिए, तिनले ती सबै काममा सफलता पाए। त्यसैले शाऊलले तिनलाई सेनाको उच्‍च पदमा नियुक्त गरे। यस विषयमा सबै मानिसहरू र शाऊलका अधिकृतहरू पनि खुशी भए। दावीदले पलिश्तीहरूलाई मारिसकेपछि, जब मानिसहरू घर फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सहरहरूबाट आनन्दका गीतहरू गाउँदै, नाच्दै, खैँजडी र सारङ्गी बजाउँदै राजा शाऊललाई भेट गर्न निस्केर आए। तिनीहरूले नाच्दै यसरी गीत गाए: “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले त लाखौँ-लाखलाई मारे।” त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्‍त गर्नु बाँकी रह्‍यो र।” अनि त्यस बेलादेखि उसो शाऊलले दावीदलाई डाहको दृष्‍टिले हेर्न थाले। भोलिपल्ट परमेश्‍वरतर्फको एउटा हानिकारक आत्मा शक्तिशाली रूपमा शाऊलमाथि आयो। तिनी आफ्नो घरमा अगमवाणी बोलिरहेका थिए। दावीदले सधैँझैँ वीणा बजाइरहेका थिए। शाऊलको हातमा एउटा भाला थियो। “दावीदलाई भित्तामा उनिने गरी प्रहार गर्नेछु,” भनी मनमनै तिनले सोचेर भाला हाने, तर दावीद दुई पटक तिनीबाट तर्के। शाऊल दावीददेखि डराउन थाले; किनकि याहवेह तिनको साथमा हुनुहुन्थ्यो। तर शाऊललाई चाहिँ छोडिसक्नुभएको थियो। यसकारण तिनले दावीदलाई आफूदेखि टाढा पठाइदिए। अनि तिनलाई एक हजार सेनाहरूमाथिका सेनापति बनाइदिए; अनि दावीदले सेनाहरूलाई युद्धहरूमा नेतृत्व गरे।

1 शमूएल 18 पढ्नुहोस्