1 शमूएल 12:18-25

1 शमूएल 12:18-25 NCV

त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए। तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्‍वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।” शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्‍ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर। व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्। आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्‍न हुनुहुन्छ। मेरो विषयमा भन्‍नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु। तर निश्‍चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्‍वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर। तर यदि तिमीहरूले दुष्‍ट काम रहिरह्‍यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट हुनेछौ।”

1 शमूएल 12 पढ्नुहोस्