हितोपदेश 30:10-33

हितोपदेश 30:10-33 सरल नेपाली

मालिकको अघि नोकरको निन्‍दा कहिल्‍यै नगर्‌, नत्रता त्‍यसले तँलाई धिकार्ला र तैँले कष्‍ट भोग्‍नुपर्ला। बुबालाई सराप्‍ने र आमालाई गुण नमान्‍ने एक थरीका मानिसहरू पनि हुन्‍छन्। अर्को थरीका मानिसहरू असाध्‍य अशुद्ध भए पनि आफूलाई शुद्ध छौं भनिठान्‍छन्। अर्को थरीका मानिसहरूले आफूलाई औधी असल छौं भनी सम्‍झन्‍छन्। अरू एक थरीका मानिसहरूले गरीब-दु:खीहरूबाट अनुचित र निष्‍ठुर लाभ उठाउँछन् र त्‍यसरी आफ्‍ना जीविका चलाउँछन्। जुकाका दुई छोरी छन्, दुवैले भन्‍छन्, “देऊ! देऊ!” तीन कुरा छन्‌ जो कहिल्यै सन्तुष्‍ट हुँदैनन्‌, जसले ‘पुग्यो’ कहिल्यै भन्दैनन्‌, चिहान, बाँझी स्‍त्री, पानीको निम्‍ति तिर्खाएको सुख्‍खा जमिन र आगो। आफ्‍ना बुबाको गिल्‍ला गर्ने र आफ्‍नी आमाको बुढेसकालमा हेला गर्ने मानिसलाई गिद्धले खाऊन् र त्‍यसका आँखा जङ्गली कागले ठुँगेर बाहिर निकालिदेऊन्। चार वटा थोक छन्, जसका भेद म बुझ्‍न सक्‍दिनँ; आकाशमा चिलको चाल, पहरामा सर्पको चाल, समुद्रमा जहाजको चाल र स्‍त्रीसँग पुरुषको चाल। अविश्‍वासयोग्‍य स्‍वास्‍नीको चाल यस्‍तो हुन्‍छ; त्‍यसले व्‍यभिचार गरेपछि नुहाउँछे र भन्‍छे, “मैले केही खराबी गरेकी छैनँ!” चार वटा थोक छन्, जसलाई संसारले सहन सक्‍दैन; कमारा राजा भएको, मूर्खले पेटभरि खान पाएको, प्रेम नपाउने स्‍त्रीले विवाह गरेकी र आफ्‍नी मालिकनीलाई पन्‍साएर आफू मालिकनी भई बसेकी कमारी। पृथ्‍वीमा चार वटा साना तर औधी बुद्धिमान् प्राणीहरू छन्: कमिला; शक्तिहीन प्राणी तर ग्रीष्‍मकालमा तिनीहरूले आफ्‍ना खानेकुरा भण्‍डारमा बटुल्‍छन्, पहराको न्‍याउरीमूसो; कमजोर जन्‍तु तर तिनीहरूले आफ्‍नो घर पहरामा बनाउँदछन्, सलहहरू; जसका राजा छैनन्, तापनि तिनीहरू दल-दल गरी उड्दछन्। छेपारो; त्‍यसलाई हातमा पक्रन सकिन्‍छ तर तिनीहरू राजमहलमा पनि पाइन्‍छन्। चार वटा प्राणी छन्, जुनहरू हिँड्दा मनमा प्रभाव पार्दछन्: सिंह, जो पशुहरूमा सबैभन्दा बलियो छ र कोहीसित डराउँदैन, बोको, रवाफसित हिँड्‍ने भाले र प्रजाका सामुन्‍नेमा राजा। यदि तँ हठी र मूर्ख भएको छस् र दुष्‍ट्याइँ गर्ने युक्ति गर्दै छस् भने चुप लागेर बस् र सोच्! दूध मथेर नौनी पाइन्‍छ, नाकमा हिर्काए रगत निस्‍कन्‍छ, रिस उठाए झगडा पर्दछ।

हितोपदेश 30 पढ्नुहोस्