हितोपदेश 3:21-35

हितोपदेश 3:21-35 सरल नेपाली

ए मेरो छोरो, तैँले बुद्धि र अन्‍तर्दृष्‍टिलाई समाती राख्, यी कुरालाई तँबाट कहिल्‍यै फुत्‍केर जान नदे। यी कुराले तँलाई जीवन दिनेछन्– एउटा सुखी र आनन्‍दमय जीवन। तँ तेरो बाटोमा कुशलसाथ जान सक्‍नेछस् र कहिल्‍यै ठेस खानेछैनस्। सुत्‍न जाँदा तँलाई केही डर हुनेछैन र रातभरि तँलाई मस्‍त निद्रा लाग्‍नेछ। दुष्‍टहरूमाथि आँधी आएझैँ अचानक आइलाग्‍ने विपत्तिहरूको डर तँलाई हुनेछैन। परमप्रभुले तँलाई कुशल राख्‍नुहुनेछ। उहाँले तँलाई पासोमा पर्न दिनुहुन्‍न। तैँले सकेअनुसार जसलाई खाँचो छ, त्‍यसलाई भलाइ गर्‌। तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्‍छस् भने भोलिसम्‍म पर्खन नलगा। आफ्‍नो छिमेकीको हानि हुने कुनै युक्ति नबना। त्‍यो तेरो छेउमा तँमाथि विश्‍वास गरी बास गर्दछ। जसले तेरो कहिल्‍यै हानि गरेको छैन, त्‍योसित बिनाकारण तर्कवितर्क नगर्‌। हिँसालु मानिसको डाह नगर्‌ अथवा तिनीहरूले गरेजस्‍तो गर्ने विचार नले किनभने दुष्‍कर्म गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर धर्मीहरूचाहिँ उहाँका विश्‍वास-पात्र हुन्‍छन्। दुष्‍कर्म गर्नेहरूका घरमा परमप्रभुको सराप पर्दछ तर धर्मीहरूका घरमा उहाँले आशीर्वाद दिनुहुन्‍छ। उहाँले अहङ्कारी मानिसहरूको वास्‍ता गर्नुहुन्‍न तर नम्रहरूमाथि आफ्‍नो निगाह राख्‍नुहुन्‍छ। बुद्धिमान् मानिसहरूले इज्‍जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्‍नो अपमानमाथि अपमान थप्‍छन्।

हितोपदेश 3 पढ्नुहोस्