मर्कूस 1:16-34
मर्कूस 1:16-34 सरल नेपाली
गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो। अनि येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे। अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्दियाका दुई छोराहरू याकूब र यूहन्नालाई देख्नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्दै थिए। येशूले तिनीहरूलाई पनि तुरुन्तै बोलाउनुभयो। अनि तिनीहरूले आफ्ना बुबालाई काम गर्नेहरूसँग नाउमा छोडेर येशूको पछि लागे। येशू ती चेलाहरूसँग कफर्नहूम सहरमा जानुभयो अनि विश्रामको दिनमा सभाघरमा गएर शिक्षा दिन लाग्नुभयो। उहाँको शिक्षा सुनेर मानिसहरू छक्कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन तर ठूलो अधिकारसँग शिक्षा दिनुभयो। त्यति नै बेला सभाघरभित्र एउटा भूत लागेको मानिसले चिच्च्याउँदै भन्यो, “हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्वरले पठाउनुभएको पवित्र जन हुनुहुन्छ भनेर म चिन्दछु।” येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “होइन, चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!” त्यत्तिकैमा भूतले त्यस मानिसलाई मुर्च्छा पार्यो र ठूलो सोरले चिच्च्याउँदै निस्केर गयो। यो देख्ने जति सबै मानिसहरू छक्क परे र भन्न लागे, “होइन, यो के हो? यो त नयाँ प्रकारको शिक्षा पो रहेछ। यो मान्छेले अधिकारसँग भूतहरूलाई हुकुम दिन्छ अनि तिनीहरूले मान्दा रहेछन्।” अनि तुरुन्तै येशूको चर्चा गालीलको चारैतिर फैलियो। सभाघरबाट तुरुन्तै निस्केर येशू सरासर सिमोन र अन्द्रियासका घरतिर जानुभयो। उहाँहरूसँगै याकूब र यूहन्ना पनि गए। त्यो दिन सिमोनकी सासू ज्वरोले गर्दा ओछ्यानमा थला परिरहेकी थिइन् र येशू आइपुग्नेबित्तिकै घरका मानिसहरूले यो कुरा उहाँलाई सुनाए। येशूले नजिकै गएर बिरामीको हात समात्दै उठाउनुभयो र ज्वरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा-सत्कार गर्न लागिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगी, बिरामी र भूत लागेकाहरूलाई येशूकहाँ ल्याए र सहरभरिका मानिसहरू घरको आँगनमा जम्मा भए। येशूले धेरै किसिमका रोगले सताएका धेरै मानिसहरूलाई निको पार्नुभयो अनि धेरै मानिसहरूबाट भूतहरूलाई निकाल्नुभयो। येशू को हुनुहुन्छ भनी ती भूतहरूलाई थाहा थियो। त्यसैले उहाँले तिनीहरूलाई बोल्नै दिनुभएन।


