लूका 11:14-20
लूका 11:14-20 सरल नेपाली
एक जना मानिसलाई भूतले लाटो बनाएको थियो। अनि येशूले उसभित्र भएको भूत निकालेपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर मानिसहरू छक्कै परे। तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतको राजा बालजिबुलको शक्तिले भूत निकालेका हुन्।” कतिले चाहिँ उहाँको जाँच लिन खोज्दै भने, “यो काम परमेश्वरको शक्तिले गरेको हो भने हामीलाई स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्।” तिनीहरूको विचार बुझेर येशूले भन्नुभयो, “कुनै पनि देशमा फुट छ भने त्यो आफैं नाश हुन्छ। आफैंभित्र झगडा भएको घर पनि नाश हुन्छ। त्यसैगरी यदि शैतानले आफ्नो विरोध आफैं गर्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ र? तिमीहरू मलाई भूतको राजा बालजिबुलको शक्तिले भूत निकाल्छ भन्छौ। त्यसो भए तिमीहरूका चेलाहरूले चाहिँ कसको शक्तिले निकाल्छन् त? तिमीहरूका आफ्ना चेलाहरूले नै तिमीहरूले गरेको गलत कुरा देखाइदिन्छन्। मैले परमेश्वरको शक्तिले भूत निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूको बीचमा आइसकेको छ।

