व्‍यवस्‍था 33

33
इस्राएली कुलहरूलाई मोशाको आशिष्‌
1मर्नुभन्दा अघि परमेश्‍वरका जन मोशाले इस्राएलका मानिसहरूलाई दिएका आशीर्वादका वचन यी हुन्:
2परमप्रभु सीनै पर्वतबाट आउनुभयो,
उहाँ सूर्य उदाएझैँ एदोममाथि उदाउनुभयो
र पारान पहाडबाट आफ्‍ना प्रजामाथि चम्‍कनुभयो।
दश हजार स्‍वर्गदूतहरू उहाँसित थिए,
उहाँका दाहिने हातमा आगोको ज्‍वाला थियो।
3परमप्रभुले आफ्‍ना प्रजालाई प्रेम गर्नुहुन्‍छ,
अनि जो आफ्‍ना हुन्, तिनको रक्षा गर्नुहुन्‍छ।
यसकारण हामी उहाँको चरणमा दण्‍डवत् गर्दछौं,
र उहाँका आज्ञाहरू पालन गर्दछौं।
4हाम्रा जातिको सबैभन्दा मूल्‍यवान् सम्‍पत्ति–
मोशाले हामीलाई दिएका नियमहरू पालन गर्दछौं।
5इस्राएलका कुलहरू र अगुवासहित एक ठाउँमा भेला भएका बेलामा
परमप्रभु आफ्‍ना इस्राएली जनहरूका राजा हुनुभयो।
6मोशाले रूबेनका कुलबारे भने:
“त्‍यसका मानिसहरू थोरै भए तापनि
रूबेन कहिल्‍यै नमरोस्!”
7उनले यहूदा कुलबारे भने:
“परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्‍नुहोस्,
अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्।
परमप्रभु! तिनीहरूको निम्‍ति लडिदिनुहोस्,
र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।”
8 # प्रस्‍थान 28:30; प्रस्‍थान 17:7; प्रस्‍थान 17:7; गन्ती 20:13 उनले लेवीका कुलबारे भने:
“परमप्रभु! ऊरीम र तुम्‍मीमद्वारा आफ्‍नो इच्‍छा प्रकट गर्नुहोस्,
आफ्‍नो विश्‍वासी सेवक लेवीहरूद्वारा त्‍यसो गर्नुहोस्।
तपाईंले तिनीहरूलाई मस्‍साहमा जाँच्‍नुभयो,
र मरीबाका पानीनिर तिनीहरू सच्‍चा छन् भनी प्रमाण गर्नुभयो।
9तिनीहरूले आफ्‍ना आमा-बुबा, दाजुभाइ र छोरा-छोरीहरूप्रति भन्दा
तपाईंप्रति झन् बढ्ता भक्ति देखाए,
तिनीहरूले तपाईंका आज्ञाहरू पालन गरे
र तपाईंका करारप्रति विश्‍वासयोग्‍य रहे।
10तिनीहरूले आफ्‍ना प्रजालाई तपाईंका नियम मान्‍न सिकाउनेछन्;
तिनीहरूले तपाईंको वेदीमा बलिहरू चढाउनेछन्।
11हे परमप्रभु! तिनका कुललाई बलियो बन्‍न मद्दत गर्नुहोस्,
तिनीहरूले जे गर्छन्, त्‍यसमा प्रसन्‍न हुनुहोस्।
तिनका शत्रुहरूलाई चुर-चुर पारिदिनुहोस्,
र तिनीहरू फेरि कहिल्‍यै उठ्‍न नसकून्।”
12उनले बेन्‍यामीनको कुलबारे भने:
“परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्‍छ,
उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्‍छ,
र उहाँ तिनका माझमा बास गर्नुहुन्‍छ।”
13उनले योसेफको कुलबारे भने:
“परमप्रभुले आकाश र पृथ्‍वीका पानीद्वारा तिनीहरूका देशलाई आशिष् देऊन्।
14तिनीहरूले घामले पाकेका फलफूलका आशिष् पाऊन्,
र हरऋतुमा सबैभन्दा असल फलफूलले भरिऊन्।
15तिनका प्राचीन डाँडाहरू मन पर्दा फलफूलले भरिऊन्।
16बल्‍दै गरेको पोथ्राबाट बोल्‍नुहुने परमप्रभुको भलाइद्वारा आशिषित भएर
तिनका देश सबै असल कुराहरूले भरिऊन्।
यी आशिष् योसेफको कुलले पाओस्
किनभने तिनी आफ्‍ना दाजुभाइका माझमा अगुवा थिए।
17योसेफमा एउटा साँढेको बल र जङ्गली गोरुका सिङ छन्,
मनश्‍शेका एक हजार र एफ्राइमका दश हजार पुरुषहरू नै
तिनका सिङ हुन्।
ती लिएर उनले जातिहरूलाई सिङले हान्‍नेछन्,
र पृथ्‍वीका पल्‍लो छेउसम्‍म ठेली पठाउनेछन्।”
18उनले जबूलून र इस्‍साखारका कुलबारे भने:
“समुद्रका व्‍यापार-धन्‍दामा जबूलूनको फलिफाप होस्,
र घरका व्‍यापार-धन्‍दामा इस्‍साखारको धन बढोस्।
19तिनीहरूले विदेशीहरूलाई निम्‍तो दिई आफ्‍नो पहाडमा बोलाउनेछन्,
र त्‍यहाँ उचित बलि चढाउनेछन्।
तिनीहरूले समुद्र र त्‍यसका किनारका बालुवाबाट धन पाउनेछन्।”
20उनले गादको कुलबारे भने:
“परमेश्‍वरको प्रशंसा गर, जसले तिनको देश ठूलो बनाउनुभयो।
कसैको पाखुरा वा तालु फार्न सिंहझैँ गादले पर्खन्‍छ।
21तिनीहरूले आफ्‍ना लागि सबैभन्दा असल जमिन लिए,
तिनीहरूलाई एउटा अगुवाको हिस्‍सा ठहराइदिए।
जब इस्राएलका अगुवाहरू एक ठाउँमा भेला भएका थिए,
तिनीहरूले परमप्रभुका आज्ञा र नियमहरू पालन गरे।”
22उनले दानको कुलबारे भने:
“दान एउटा जवान सिंह हो,
ऊ बाशानबाट उफ्री आउँदछ।”
23उनले नप्‍तालीको कुलबारे भने:
“परमप्रभुको उत्तम कृपाले नप्‍ताली औधी नै आशिषित भएको छ।
तिनको देश गालीलको तालको दक्षिणसम्‍म पुगेको छ।”
24उनले आशेरको कुलबारे भने:
“आशेरले अरू कुलहरूभन्दा धेरै आशिष् पाएको छ,
त्‍यो आफ्‍ना दाजुभाइको भन्दा प्‍यारो होओस्।
र त्‍यसका देशमा प्रशस्‍त जैतुनका रूख होऊन्।
25फलामका ढोकाले त्‍यसका सहरहरूको रक्षा गरोस्
र त्‍यो सदा सुरक्षामा बास गरोस्।”
26हे इस्राएलका जन हो! तिमीहरूका परमेश्‍वरजस्‍ता अरू कुनै देवता छैनन्।
उहाँ पराक्रमी शोभामा आकाशका बीचबाट भएर जानुहुन्‍छ,
उहाँ बादलमा सवार भई तिम्रो मद्दत गर्नलाई आउनुहुन्‍छ।
27परमेश्‍वरले सदा तिम्रो बचाउ गर्नुभएको छ,
उहाँका अनन्‍त बाहुली तिम्रा सहारा हुन्।
तिमीहरू अघि बढ्दा उहाँले तिम्रा शत्रुहरूलाई धपाउनुभयो,
र ती सबैलाई नाश गर्नू भनी तिमीलाई भन्‍नुभयो।
28यसकारण याकूबका सन्‍तानहरू शान्‍तिमा,
अन्‍न र मद्यले पूर्ण देशमा, आकाशका शीतले भिजेको जमिनमा सुरक्षासाथ बस्‍दछन्।
29हे इस्राएल! तँ कति खुसी छस्!
तँजस्‍तो अरू कुनै जाति छैन,
जुन जातिलाई परमप्रभुले बचाउनुभएको छ।
परमप्रभु आफैं तेरो रक्षा गर्न र तँलाई विजय दिनको लागि
तेरा ढाल र तरवार हुनुहुन्‍छ।
तेरा शत्रुहरू दयाको लागि भिक्षा माग्‍दै आउनेछन्
र तैँले तिनीहरूलाई कुल्‍चनेछस्।

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 33: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्